वस्तु आयात घट्यो, निर्यात १४ प्रतिशतले वृद्धि, विप्रेषण आप्रवाहमा कमी

डिसी नेपाल
६ मंसिर २०७६ १८:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ ।

गत वर्षको यो अवधिको अवस्था तुलना गर्दा चालू आर्थिक वर्ष २०७६/०७७ पहिलो तीन महिनाको वैदेशिक व्यापारमा निकै फेरबदल भएको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । तथ्यांकअनुसार आयात १० दशमलव ३ प्रतिशतले घटेको छ भने निर्यात १४ दशमलव ४ प्रतिशतले बढेको छ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै निर्यात प्रतिशत बढेर २७ अर्ब १७ करोड पुगेको छ। आर्थिक वर्ष २०७५ को पहिलो त्रैमासिकमा हेर्दा यो वर्षको भन्दा पनि बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधीमा वस्तु निर्यात १६ दशमलव १ प्रतिशतले बढेको थियो।

नेपालको उत्पादन सबैभन्दा बढी भारतमा निर्यात भएको हुने गरेको छ । यो वर्षको पहिलो त्रैैमासिकमा भारत निर्यात वस्तु ३५ दशमलव ८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ भने चीन तथा अन्य मुलुकमा निर्यातको अवस्था घटेको छ ।

चीनतर्फ नेपालको निर्यात अवस्थालाई हेर्ने हो भने १९ दशमलव ९ प्रतिशत कमी आएको छ । त्यस्तै अन्य मुलुकमा पनि नेपालको उत्पादन ११ दशमलव ७ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ ।

नेपालको उत्पादन निकै लोकप्रिय मानिएको पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जुटका सामान, धागोलगायतका वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । तर यो निर्यात हुने वस्तुको तुलनामा अन्य देशबाट आयात हटरोल सिट, मेसिनरी पार्टपुर्जा, विद्युतीय उपकरण, सोलार प्यानललगायतका वस्तु निकै बढी हो ।

आर्थिक वर्षको पहिलो तीन महिनामा कुल वस्तु आयात १० दशमलव ३ प्रतिशतले घटेर ३ खर्ब ३४ अर्ब ९५ करोड पुगेको छ । निर्यातको तथ्यांक हेर्दा गत वर्ष २०७५/०७६ को पहिलो ३ महिनामा भने ह्वात्तै बढेको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा आयातको तथ्या‌ंक हेर्दा ४३ दशमलव ६ प्रतिशत बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट १२ दशमलव २ प्रतिशत घटेको छ भने अन्य मुलकबाट १९ दशमलव १ प्रतिशतले आयात घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

विप्रेषण आप्रवाह कमी

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक तथ्यांकमा विप्रेषण आप्रवाह भने केही कमी आएको छ । समिक्षा अवधिमा विप्रेषण आप्रवाह ४ दशमलव ९ प्रतिशतले कमी आइ २ खर्ब ३० अर्ब २४ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७५÷०७६ को पहिलो त्रैमासिकमा विप्रेषण आप्रवाह ३७ दशमलव ३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४ दशमलव ६ प्रतिशतले कमी आएको छ । गत वर्ष यस्तो आप्रवाह २४ दशमलव ५ प्रतिशतले बढेको थियो ।

समिक्षा अवधीमा खुद ट्रान्सफर प्राप्ति ३ दशमलव ७ प्रतिशतले कमी आइ २ खर्ब ६० अर्ब ७७ करोड कायम भएको छ । यो तथ्यांक अघिल्लो वर्षमा ३३ दशमलव ४ प्रतिशतले बढेको थियो ।

घट्यो चालु खाता एवं शोधनान्तर स्थिति

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा चालु खाता घाटा २७ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधीमा यस्तो घाटा ८१ अर्ब ७४ करोड रहेको थियो । अमेरिकी डलरमा हेर्ने हो भने अघिल्लो वर्षको तीन महिनासम्म ७१ करोड ५० लाख रहेको चालु खाताको घाटा समिक्षा अवधिमा २३ करोड ९९ लाख रहेको छ ।

बचतमा भने शोधानान्तर स्थिति १४ अर्ब १३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधानान्तर स्थिति ३५ अर्ब ४२ करोडले घाटामा थियो । अमेरिकी डलरमा शोधानान्तर स्थिति अघिल्लो वर्षको तीन महिनासम्ममा ३१ करोड ४२ लाखले घाटामा रहेको समिक्षा अवधिमा १२ करोड ७८ लाखले बचतमा नोपल राष्ट्र बैंकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *