भोलिबाट पूनः आन्दोलन सुरु गर्छौं : अध्यक्ष सिंह

डिसी नेपाल
७ मंसिर २०७६ १५:४४

काठमाडौं, निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भोलिबाट पूनः आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका छन्। आफूहरुको माग पूरा गर्नतर्फ सरकार जिम्मेवारी नभएको भन्दै उनले भोलिबाट पूनः आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका हुन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष सिंहले निर्माण व्यवसायीहरुले गरेका काम समयमै सम्पन्न नहुनु र गुणस्तर नहुनुमा आफूहरुको मात्रै दोष नभएको स्पष्ट पारेका छन्। उनले भने,‘निर्माण कार्य टेण्डर गर्नुभन्दा अगाडि गर्नुपर्ने कार्यमा त्रुटि भएको हुँदा धेरैजसो निर्माण कार्य समयमै सम्पन्न हुन सकेका छैनन्। सबैभन्दा पहिलो कारण त सरकारले कुनैपनि निर्माण कार्य टेण्डर आह्वान गरेपछि त्यसको स्रोतको सुनिश्चितता नभईकन आह्वान गर्ने, त्यसपछि आफ्नो जिम्मेवारी त्यतिकैमा सिमित राखेको कारणले गर्दा धेरैजसो कामहरु समयमै सम्पन्न हुँदैनन्।’

बजेटअनुसारको निर्माण कार्यको एस्टिमिट कार्य हुँदाखेरि समयमै काम सम्पन्न भएको उनको भनाई छ। उनले भने,‘सरकारले यसतर्फपनि ध्यान दिनुपर्छ। सार्वजनिक खरिद नियामावली छैटौं संशोधनले धेरै कुरा समेटेको छ। तर, संशोधनका कतिपय बुँदाहरु जस्तो कुनैपनि निर्माण कार्यको समयावधि त्यसको मूल समायवधिको ५० प्रतिशत भन्दा वृद्धि गर्न पाईँदैन् भनेर उल्लेख गरिएको छ। त्यही कारणले गर्दा अहिले सुचारु भैरहेका अधिकांश निर्माण कार्यहरु बन्द भैरहेका छन्।’

अध्यक्ष सिंहले सार्वजनिक खरिद नियमावालीको छैटौं संशोधन ल्याउने बेलामा निर्माणसँग सम्बन्धित कुनैपनि निकाय र सरोकारवालाहरुसँग छलफल तथा सहमति नगरिएको गुनासो पोखे। उनले भने,‘सरकारले आफैंले ल्याएको छैटौं संशोधनका कारण मुलुकभरिका निर्माण कार्य ठप्प भएका छन्।’
उनले सार्वजनिक खरिद नियमावली पटक–पटक संशोधन हुँदै आएपनि व्यवसायीको माग सम्बोधन नभएको कारण महासंघले पूनः आन्दोलन गर्ने भएको स्पष्ट पारे। सिंहले सरोकार भएका निकायबाट व्यवसायीको माग सम्बोधन नभएकाले आन्दोलनमा जान बाध्य हुनुपरेको बताए।

उनले भने,‘गत साउन १६ गते नेपाल राजपत्रमा तेस्रो पटक संशोधन गरी प्रकाशित सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली २०७६ मा केही सकारात्मक प्रावधान रहेतापनि तिनको कार्यान्वयन नभएको महासंघको ठहर छ। विशेषगरी म्याद थप तथा बैंक क्रेडिट लाइनमा देखिएको समस्याका कारण समग्र निर्माण क्षेत्र प्रभावित हुँदा देशको अर्थतन्त्रमा नै समस्या देखिएको छ।’

उनले निर्माण कार्य समयमै सम्पन्न नहुनुमा निर्माण व्यवसायीहरुमात्रै दोषी नभएको बताउँदै यसमा काम लगाउने निकायपनि दोषी हुने बताए। उनले भने,‘दुवै पक्षले कार्यान्वयनको लागि गम्भिर बन्नुपर्छ। तर, बाहिर निर्माण व्यवसायीलाई मात्रै दोष देखाउने गरिन्छ।’ उनले २२ मिटरको सडक बनाउने सम्झौतामा सोहीअनुसारको कार्यान्वयन गर्न कठिन रहेको जटिल अवस्था सुनाए। उनले भने,‘सरकारसँग २२ मिटरको सडक बनाउने सम्झौता हुन्छ, तर त्यतिनै मिटरमा सडक बनाउन कठिन छ । अधिकांश काम अन्तरमन्त्रालय र अन्तरनिकायबीच समन्वय भएको छैन्। त्यही भएर समयमै निर्माण कार्य सम्पन्न नभएको हो ।’

२०७१ सालमा भएको सम्झौताअनुसार २४ मिटरको सडक बनाउने कुरामा कतिपय सडक निर्माण भैनसक्नुमा सडक खाली गराउन नसक्नुपनि एउटा कारण भएको उनले उल्लेख गरे। तर, अहिले २०७६ मा बल्ल आफूहरुलाई काम गर्ने बाटो खुलेको उनको भनाई छ। उनले भने,‘अहिले आएर १६ मिटर भएको ठाउँमा १६ मिटर, १८ मिटर भएको ठाउँमा १८ मिटर, २० मिटर भएको ठाउँमा २० मिटर र २१ मिटर भएको ठाउँमा २१ मिटरमै सडक बनाउन भनिएको छ।’ राईट–वे खाली नभईकन र बजेट पास नभईकन काम नथाल्नु भन्ने कुरा अत्यन्तै सकारात्मक रहेको उनको भनाई छ।

नेपालमा सुशासनको कमीले पनि कतिपय निर्माणसम्बन्धी काममा अवरोधको सामना गर्नुपरेको पनि उनले गुनासो पोखे। समयमै काम नगर्ने निर्माण व्यवसयाीहरुको फोटो टाँसेर विरोध गर्दा व्यवसायीहरुको मानमर्दन भएको भन्दै उनले आपत्ति जनाए। उनले सरकारले ल्याएका ऐन, कानूनहरुको पूर्ण कार्यान्वयन गर्न आफूहरु सकारात्मक रहेको बताउँदै कर्मचारीहरुबाट हुने ढिलासुस्तीले काममा अवरोध सिर्जना गरेको टिप्पणी गरे।

उनले २० करोडको ठेक्का परियोजना लिँदा सरकारबाट ५०–६० लाखमात्रै भुक्तानी गरिने हुँदा निर्माण कार्य सम्पन्न हुन धेरै समय लाग्ने गरेको सुनाए। उनले भने, ‘भुक्तानीकै कारणले गर्दा एक वर्षमा हुनुपर्ने काम पाँच वर्षसम्म सम्पन्न भएका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *