नेशनल मेडिकल कलेजका सञ्चालक अन्सारीलाई पक्राउ गर्न माग

डिसी नेपाल
८ मंसिर २०७६ १६:०९

काठमाडौं। अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले आन्दोलन गरेपछि विद्यार्थीलाई कुटपिट गर्ने विरगञ्जस्थित नेशनल मेडिकल कलेजका सञ्चालक बसुरिद्दिन अन्सारीलाई पक्राउ गर्न माग गर्दै अनेरास्ववियुले आइतबार विरोध प्रदर्शन गरेको छ।

सत्तारुढ दल निकट अनेरास्ववियुले आइतबार विरगञ्जामा विरोध र्यालीसमेत गरेको छ। अन्सारी सत्तारुढ दल नेकपाकै संरक्षणमा रहेका बेला सत्तारुढ दलकै विद्यार्थी संगठनले उनलाई पक्राउ गर्न माग गरेको हो।

सरकारले तोकेको भन्दा निजी मेडिकल कलेजहरुले १० लाखसम्म धेरै रुपैयाँ अशुलेका छन्। विद्यार्थीहरुले यसरी अशुल गरिएको रकम फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन्। तर, मेडिकल सञ्चालकहरुले दादागिरी गर्दै उल्टै विद्यार्थीलाई कुटपिट गर्ने, बन्धक बनाउने जस्ता अपराध गरिरहेका छन्।

शुक्रबार बेलुक नेशनल मेडिकल कलेजमा धर्ना बसेका विद्यार्थीमाथि अन्सारीले ‘गुण्डा’ प्रयोग गरेर कुटपिट गराएका थिए। त्यसपछि विद्यार्थीहरु सुरक्षा माग्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए।

यता चितवनको सीएमसी मेडिकल कलेजमा पनि विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन्। यहीबीच शनिबार विद्यार्थीको होस्टलमा हतियार भेटिएको भन्दै प्रहरीले केही विद्यार्थीलाई पक्राउ गरेको छ।

यसअघि सीएमसी र विद्यार्थीबीच शुल्क समायोजन गर्ने सहमति भएको थियो। तर, कलेज सञ्चालकहरुले सहमति कार्यान्वयन नगरी उल्टै विद्यार्थीलाई फसाउने षडयन्त्र गरेका छन्।

सरकारले विभिन्न समयमा अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेजहरुलाई आव्हान गर्दै आएको छ। सरकारले पछिल्लो पटक शुल्क फिर्ता गर्न दिएको समयसीमा आइतबार सकिएको छ। तर, कुनै पनि मेडिकल कलेजहरुले यस्तो शुल्क फिर्ता भनेका गरेका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *