वैदेशिक रोजगारको पीडाः दलालले करोडौँ ठग्यो, प्रमाण नपुगेको भन्दै उजुरी लिँदैन प्रहरी

डिसी नेपाल
८ मंसिर २०७६ १८:२२

काठमाडौँ । देशमा रोजगारीको अवसर नपाएपछि विदेशिनु नेपाली युवाहरुको बाध्यता छ। त्यही बाध्यतामा विदेशीने युवाहरु दिनानुदिन ठगिदै आएका छन्। केही समय अघिमात्रै दक्षिण पूर्वी एशियाली मुलुक कम्बोडियामा रोजगारी लगाउने भन्दै एक मानव तस्करको समूहले नेपाली युवाहरुबाट करोडौं रकम ठगी गरेको छ। करोडौँ रकम ठगिएपछि उनीहरु प्रहरीको धाइरहेका छन्। तर, प्रहरीले भने प्रमाण नभएको भन्दै उजुरी लिन नमानेको एक पीडितले डिसी नेपाललाई बताए।

धादिङ धार्के ठेगाना बताउने कमल गुरुङको समूहले काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर र बाराका करिब ६२ जना युवाहरूबाट करिब साढे पाँच करोड रुपैयाँ ठगेको एकजना पीडितका बुवा राजु लामा भन्ने कामीसिंह घिसिङले जानकारी दिए।

काभ्रेका चक्र तामाङकी श्रीमतीले आफन्तहरूलाई कम्बोडियामा राम्रो रोजगारीको अवसर रहेको बताएपछि सोही गाउँका विशाल तामाङ लगायतको समूह कम्बोडिया जान तयार भयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्ड हुँदै गत वर्ष माघमा ३ जना कम्बोडिया पुगे। ति तीनजना मध्ये कमल गुरुङ, विशाल तामाङ र एक जना अर्का थिए। गुरुङले आफू पनि रोजगारीका लागि कम्बोडिया आएको बताएका थिए। तर, कुरा खुल्दै जाँदा उनी नै मुख्य मानव तस्कर रहेको खुल्यो।

कम्बोडिया पुग्ने पहिलो समूहका विशालले आफूसँगै गएको कमल गुरुङ तस्कर रहेको खुलेको बताए। विशाल तामाङलाई कमल गुरुङले विभिन्न बाहाना बनाएर २ महिनासम्म काममा नलगाई कम्बोडियाका विभिन्न होटलहरूमा राखिरहे। र दुई महिनाको तलब २१ सय अमेरिकी डलरका दरले दिए पनि।

यसरी कामै नै नदिई तलब दिनुका पछाडि कमल गुरुङको ठग्ने ठूलै षडयन्त्र थियो। कम्बोडिया पुगेका साथीले तलब पाएको थाहा पाएपछि नेपालबाट थप अरुजना पनि कम्बोडिया पुगे। २७ जना युवाहरु कम्बोडिया पुगे। तर, कसैले पनि काम पाएनन्। अनि खुल्यो ठगिएको ।

आफुहरु ठगिएको थाहा पाएपछि अलपत्र परेका युवाहरु घरबाट पैसा मगाएर गएको वैशाखमा थाइल्याण्ड र चीन हुँदै नेपाल फर्किए। २७ जना कम्बोडिया पुगेर ठगिए भने अन्य ३५ जना कम्बोडिया नपुगेरै ठगिए। राम्रो तलब पाउने आशामा एकजनाले थोरैमा साढे ८ लाख र धेरैमा १५ लाख रुपैयाँसम्म दलाललाई विना कागज बुझाएका थिए।

प्रहरीले मुद्दा दर्ता नगरेपछि आइतबार उनीहरु मानव वेचविखन अनुसन्धान ब्युरोको सहयोग माग्न बबरमलस्थित ब्युरोमा पुगे । ब्युरोले उनीहरुलाई यो ठगिसँग सम्बन्धित मुद्दा भएकोले प्रहरी परिसरमै जान सुझाएको छ। यसैबीच काठमाडौँ प्रहरी परिसका डीएसपी होबिन्द्र बोगटीले पीडितहरुलाई छलफलका लागि बोलाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *