पाँच हिमालको पहिलोपटक सफल आरोहण

डिसी नेपाल
११ मंसिर २०७६ १५:१९

काठमाडाैं। यस शरद ऋतुमा साना र नयाँ हिमालतर्फ आरोही आकर्षित भएका छन्। सात हजार मिटरभन्दा कम उचाइका पाँच हिमालको पहिलोपटक सफल आरोहण गरिएको छ।

पर्यटन विभागका अनुसार खुम्बु क्षेत्रको महालङ्गुर हिमशृङखलामा पर्ने छ हजार ७६४ मिटर उचाइको हांगु (सुरा पिक), छ हजार ८३३ मिटर उचाइको हुङ्कु चुली, दोलखाको रोल वालिङ क्षेत्रमा पर्ने छ हजार ६५९ मिटर उचाइको लिङ्कु चुली हिमाल आरोहण गरिएको छ।

गोरखाको मानसिरी हिमशृङ्खलामा पर्ने छ हजार ६२० मिटर उचाइको पान्पोचे (प्रथम) र छ हजार ५०४ मिटर उचाइमा रहेको पान्पोचे (दोस्रो) हिमालको पहिलो पटक आरोहण भएको छ। पाँच वटै हिमालको विदेशी आरोहीले आरोहण गरेको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए।

मनास्लुमा १८८ आरोही

गोरखाको आठ हजार १६३ मिटर उचाइको मनास्लु हिमालको १८८ आरोहीले गत महिना आरोहण सफल गरेका छन्। मनास्लुमा पर्यटन विभागवाट २६४ आरोहीले आरोहण अनुमति लिएका थिए। अनुमति लिएकामध्येमा १४२ पुरुष र ४६ महिला गरी १८८ आरोहीले आरोहण सफल गरेका हुन्।

घिमिरेका अनुसार आरोहीका साथ एक सय ६५ नेपाली गाइडले समेत आरोहण गरेका छन् । आरोही र गाइड गरी यो मौसममा मनास्लुमा ३५३ आरोहीले आरोहण सफल गरेका हुन्। मनास्लु आरोहणका लागि ४४ देशका आरोहीले अनुमति लिएकोमा ४० देशका आरोहीले आरोहण सफल गरेका हुन भने आरोहण सम्पन्न गर्नेमध्येमा चिनियाँ आरोहीको सङ्ख्या उच्च रहेको विभागले जनाएको छ।

सोमबारको तथ्याङ्कअनुसार यस यामका लागि मात्रै विभागवाट ५३ हिमाल आरोहणका लागि ६२ देशका एक हजार २१० आरोहीले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति लिएको हिमालमध्येमा सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण हुन सकेन भने अन्य हिमालको आरोहण भइरहेको विभागले जनाएको छ।

मनास्लु आरोहणका क्रममा पोल्यान्डकी ५० वर्षीया रीता डोनेटा ब्लाङ्य र हिमलुङ हिमाल आरोहणका क्रममा स्पेनका ४८ वर्षीय फर्नान्डो सान्चेज घासाको मृत्यु भएको विभागले जनाएको छ। विभागको होमस्टे तथा पर्वतारोहण विभागका निर्देशक मीरा आचार्यका अनुसार नेपाल सरकारले खुल्ला गरेको ४१४ हिमालमध्येमा ७६ हिमालको मात्रै आरोहण हुन बाँकी छ। यो यामका लागि अनुमति दिइएको हिमालबाट छ करोड ५१ लाख भन्दा बढी राजश्व सङ्कलन भएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *