आधारभूत विद्यालयमा संयुक्त कक्षामा कोचिएर पढ्छन् विद्यार्थी, शौच गर्न खेतबारीतिर दौडिनुपर्ने बाध्यता

डिसी नेपाल
१४ असार २०८३ १४:००

मुगु। मुगुको सोरु गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा कोठाको चरम अभाव भएपछि विद्यार्थीहरू दैनिक रूपमा संयुक्त कक्षामा बसेर पठनपाठन गर्न बाध्य भएका छन्।

विद्यालयमा पर्याप्त कोठाहरू नहुँदा फरक-फरक कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ, जसका कारण शिक्षकहरूले पढाएको कुरा बुझ्न निकै समस्या हुने गरेको गुनासो विद्यार्थीहरूले गरेका छन्।

वि.सं. २०३७ सालमा स्थापना भएको यस विद्यालयले ४६ वर्ष पूरा गरिसक्दा पनि उस्तै नियति र समस्या झेलिरहनु परेको छ।

यस विद्यालयबाट शिक्षा आर्जन गरेर धेरैले व्यक्तिगत जीवनमा राम्रो सफलता पाए पनि स्थानीय अभिभावक, सरोकारवाला निकाय र सरकारी क्षेत्रको निरन्तरको बेवास्ताका कारण विद्यालयले अझैसम्म आवश्यक पूर्वाधारको अभाव व्यहोरिरहेको देखिन्छ।

हाल विद्यालयमा कक्षा ४ र ५ का विद्यार्थीहरूलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ, जहाँ शिक्षकहरूको आवाज आपसमा ठोक्किँदा विद्यार्थीहरूले पढाएको भेउ पाउनै सक्दैनन्। कतिपय अवस्थामा त कोठा नपुगेर विद्यार्थीहरू खुला चौरमै बसेर पढ्न समेत बाध्य हुने गरेका छन्।

विद्यालयमा रहेका जम्मा चारवटा कोठाहरू मध्ये तीनवटा कोठामा संयुक्त कक्षाहरू सञ्चालन भइरहेका छन् भने बाँकी एउटा कोठालाई विद्यालयको प्रशासनिक कार्यालयका रूपमा प्रयोग गरिएको छ।

कोठा अभावकै कारण कक्षा ४ र ५, कक्षा २ र ३ तथा कक्षा १ र इसिडीका विद्यार्थीहरूलाई एकै ठाउँमा संयुक्त रूपमा बसालेर पठनपाठन गराउनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ।

हाल यस विद्यालयमा कुल एक सय ६० जना विद्यार्थी अध्ययनरत छन् भने उनीहरूलाई पढाउन तीन जना दरबन्दीका शिक्षक, एक जना इसिडी शिक्षक र एक जना कार्यालय सहयोगी कार्यरत रहेका छन्।

भौतिक संरचनाको अभाव कक्षा कोठामा मात्र सीमित नरहेर विद्यालयमा शौचालय र खानेपानीको समेत उस्तै सास्ती छ. विद्यालयमा उपयुक्त शौचालय नहुँदा प्राकृतिक आकस्मिकताका बेला विद्यार्थीहरू शौच गर्नका लागि नजिकैका खेतबारीतिर दौडिनुपर्ने अवस्था छ।

त्यसैगरी, शुद्ध खानेपानीको व्यवस्था नहुँदा विद्यालयका कर्मचारीले दैनिक रूपमा आधा घण्टा टाढा रहेको मुहानबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको छ। विद्यालय प्रशासनले भोग्दै आएका यी तमाम गम्भीर समस्याहरू स्थानीय सरकार समक्ष पटक-पटक राखेको भए पनि हालसम्म त्यसको ठोस समाधान हुन सकेको छैन।

बीचमा एक परियोजनामार्फत विद्यालयको खेल मैदान निर्माण गरिए पनि कक्षा कोठाको अभाव भने जस्ताको तस्तै रहेको छ। यसै विषयमा सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले भने आगामी वर्षदेखि पुराना जीर्ण कक्षा कोठाहरूलाई भत्काएर नयाँ कक्षा कोठा निर्माण गर्ने तयारीमा पालिका लागिपरेको दाबी गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *