गैरआवासीय नागरिकताले तात्दैछ एनआरएनए क्यानडा

डिसी नेपाल
११ मंसिर २०७६ २२:५१

क्याल्गरी। गैरआवासीय नेपाली संघ एनआरएनए क्यानडाले नेपाल सरकारले ड्राफ्ट गरिरहेको गैरआवासीय नेपाली नागरिकतामा निहित अधिकार र गैरआवासीय नेपाली ऐनमा के कस्तो व्यवस्था हुनुपर्छ भन्ने विषयमा सरोकारवालाहरूसँग छलफल र सुझाव संकलन गरिरहेको छ।

सुझाव संकलन गर्न पश्चिम क्यानडाको क्याल्गरीको एनआरएनए एनसीसी सदस्य अनन्त आचार्यको संयोजकत्वमा आज पूर्वी–क्याल्गरीको नेपाली समुदाय एनसीएससीको कार्यालयमा आयोजित कार्यक्रममा झण्डै ४ दर्जन नेपाली समाज सेवीहरूले आ–आफ्ना सुझाव राखे। उक्त कार्यक्रमको सहजीकरण गर्दै राजेन्द्र गौतमले छलफललाई अगाडि बढाएका थिए।

गैरआवासीय नागरिकता सम्बन्धी कानून निर्माणको प्रक्रियामा नागरिकता सम्बन्धी ऐन संशोधन, नागरिकताका लागि भाषा सम्बन्धी व्यवस्थाको संशोधन, पुस्ताको सीमा सम्बन्धी प्रावधानको हटाउने, नागरिकता दिने निकायको सहजता सम्बन्धी विषय मुख्य हुन्।

अनन्त आचार्यले कार्यक्रमको बारेमा बिषय प्रवेश गराउँदै अपुताली सम्बन्धी व्यवस्था, पैत्रिक सम्पत्ति सम्बन्धी हकका विषयमा पनि प्रस्ट र सहज कानुन निर्माण गर्न नेपाल सरकारलाई सुझाव दिइने जानकारी गराए।

अनौपचारिक छलफलको रूपमा चलेको यस कार्यक्रममा मन्तव्य राख्दै बद्रि कार्की, कुसुम ज्ञवाली, जगदीश चापागाइले पैत्रिक सम्पत्तिको हक के कसरी हस्तान्तरण हुने, सम्पत्तिको भोगचलनमा के कस्ता प्रावधान रहने भन्ने कुरा प्रवासीहरूको आवश्यकता मैत्री हुनुपर्नेमा जोड दिए।

भरत रेग्मीले नेपाल सरकारका पूर्व कर्मचारीहरूलेगैरआवासीय नागरिकता पाएपछि उनीहरूले नेपाल सरकारबाट खाइपार्इ आएको पेन्सन निरन्तर हुने व्यवस्था हुनुपर्ने सुझाव दिए। यसैगरी नविन सुब्बा, श्रीकान्त अर्याल, प्रकाश क्षेत्री, माधव दुलाल, प्रसन्न श्रेष्ठले हाल गैरआवासीय नागरिकता सम्बन्धी अधिकारलाई संस्थागत गर्ने विषयमा एनआरएन अभियानको पहिलो एजेन्डा हुनुपर्नेमा जोड दिए।

अर्का वक्ता डा. राजु तुलाधरले इच्छापत्रको आधारमा सम्पत्तिको हक हस्तान्तरण सम्बन्धी अहिलेको कानूनमा परिवर्तन गरी त्यो दफाले गैरआवासीय नागरिकता धारीलाई पनि समेट्ने गरी संशोधन हुनुपर्ने बताए।

पुल्चोक इन्जिनिएरिंग क्याम्पसका पूर्व प्राध्यापक डा. तुलाधरले नेपाल फर्केर विदेशी नागरिकता त्याग्दा पुरानो नागरिकता पुनः प्राप्त हुने व्यवस्था पनि हुनुपर्ने बताए। डा तुलाधरका विचारमा सहमति जनाउँदै देश सुब्बा, समीर पाण्डे, राम मरहट्ठाले पनि आफ्ना सुझावहरू राखे।

उनीहरुले गैरआवासीय नागरिकता र यसका प्रावधानहरूको माग गर्दा विचार पुर्याएर गर्नुपर्ने भन्दै मागेका सबै माग भोलि पुरा हुन नसक्ने चिन्ता व्यक्त गरे। उनीहरुले यो विषय एनआरएन अभियानले निरन्तर प्रवासी नेपालीहरूको अधिकारका पक्षमा पहलकदमी गरिरहनुपर्ने जोड दिए। उनीहरुले भने, ‘नेगोसिएसनमा केही प्राप्त हुन्छ केही हुँदैन त्यसैले सबै अभियन्ताहरू सचेत रहनुपर्छ ।’

घनेन्द्र न्यौपानेले एनआरएन क्यानडाले आफ्ना अधिकारका लागी गैरआवासीय नेपालीलाई सचेत गराउनु पर्ने आवश्यकता औँल्याए। विकास ढकालले एनआरएनको नारा अनुरूप एकपटकका नेपाली सधैँको नेपाली भन्ने मूलभावलाई मार्गनिर्देशन धारणा मानेर यो सुझाव संकलनको प्रतिवेदन कानून मस्यौदा गर्ने निकायमा पठाउनुपर्नेमा जोड दिए।

यस्तै धारणा राख्ने प्रकास बस्याल, विष्णु सुब्बा र ध्रुवराइले समेत नेपालका कानुनमा रहेको गैरआवासीय नेपालीलाई आर्थिक अधिकारमा प्रष्टताको माग गरे।


(नेपाली रेडियो क्याल्गरीकी कार्यक्रम प्रस्तोता लक्ष्मी लम्साल खनालको सहयोगमा)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *