साउदीमा २०० नेपालीको बिचल्ली, पशु झैँ व्यवहार, करार सकिए पनि घर फर्किन पाएनन्

डिसी नेपाल
१८ मंसिर २०७६ २२:०९

काठमाडौं। साउदी अरवमा वैदेशिक रोजगारीमा गएका करिब २ सयजना नेपाली बिचल्लीमा परेको खुलासा भएको छ। साउदीको अर्काद इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कम्पनीमा कार्यरत २ सयभन्दा बढी नेपाली बिचल्लीमा परेको त्यहाँ काम गर्ने एक नेपालीले सामाजिक सञ्जालमाफर्त जानकारी दिएका छन्।

कम्पनीले उनीहरुलाई तलब तथा सेवासुविधा पनि नदिएको उनीहरुको दावी छ। बिरामी हुँदासमेत औशधी उपचार नपाएको र काममा जोतिएको एक नेपालीले सामाजिक सञ्जालमाफर्त भएको सम्पर्कमा बताए।

यसरी बिचल्लीमा पर्ने मध्येका एक सिन्धुपाल्चोकको जुगल गाउॅपालिका २ नाम्फाका विवेक विश्वकर्मा पनि हुन्। उनले विगत ६ महिना यता तलब नपाएको बताएका छन्। उनले करार अवधि सकिए पनि कामदारहरुलाई कम्पनीले घर फर्किनसमेत नदिएको जानकारी दिए। उनले नेपाली कामदारलाई पशु जस्तै व्यवहार गरिएको समेत बताए।

विवेक केएसए म्यानपावरमार्फत रोजगारीका लागि साउदी पुगेका थिए । उनलाई आकर्षक काम र कमाईको प्रलोभन देखाएर म्यानपावरले साउदी पठाएको थियो ।

अहिले म्यानपावरमा पीडितहरुले सम्पर्क गर्दा कम्पनीसँगै कुरा गर भनेर वेवास्ता गर्ने उल्टै धम्की दिने गरेको पीडितहरुले गुनासो गरेका छन् ।

केएसए म्यानपावरका प्रतिनिधि (एजेन्ट) प्रेम गिरीमार्फत साउदी पुगेका विवेक विश्वकर्माले आफू समस्यामा परेकाले साउदीबाट नेपाल फर्काउन अनुरोध गर्दा कम्पनीमै कुरा गर्नु मलाई थाहा छैन भनेर ठाडो प्रतिक्रिया दिने, धम्की दिने गरेको बताए।

तर एजेन्ट प्रेम गिरीले भने धम्की नदिएको दावी गरेका छन्। उनले पहिला राम्रो काम भएको र अहिले केही समस्या भएको हुन सक्ने बताए। उनले आफ्नो कम्पनीमार्फत गएकाहरुको उद्धारको पहल भइरहेको समेत दावी गरे । उनले साउदीबाट कामदारको उद्धार गर्न पनि कठिन हुनेसमेत बताए।

समस्यामा पर्ने अन्य विभिन्न म्यानपावर कम्पनी तथा एजेन्टमार्फत गएका सल्यानका प्रेमबहादुर सार्कि, बाराका पूर्णबहादुर स्याङ्तान, नेपालगञ्जका निरज चौधरी, धरानका हरिबहादुर राई, रामेछापका सुविन थापा, धादिङका जीतबहादुर मगर, धनुषाका नथुनि ठाकुर लगायत २ सयभन्दा बढी नेपाली श्रमिकहरु छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *