भड्किलो विलासीजीवन भ्रष्टाचार नियन्त्रणमा चुनौती : प्रदेश प्रमुख परियार

डिसी नेपाल
२३ मंसिर २०७६ २०:३५

महोत्तरी । प्रदेश नं २ का प्रमुख तिलक परियारले समाजमा देखिने भड्किलो र विलासी जीवन भ्रष्टाचार निर्मूल अभियानका लागि चुनौती भएको बताएका छन्।

महोत्तरीको बर्दिवासमा सोमबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित ‘भ्रष्टाचारविरुद्धको ऐक्यबद्धता’ कार्यक्रममा उनले भ्रष्टाचार बढ्नुमा भड्किलो आडम्बर र रवाफको देखासिकी बढ्दै जानु मुख्य कारण बनेको बताएका हुन् ।

विलासिता र रवाफिलो जीवनका लागि जसरी पनि पैसा चाहिन्छ भन्ने प्रवृति बढ्दै जाँदा मुलुकमा भ्रष्टाचारले भयावह रुप लिएको परियारको भनाइ छ । “भ्रष्टाचार सुन्दर भविष्य निर्माणको बाधक हो”, उनले भने, “नैतिक मूल्यमान्यतामा हस बढेसँगै भ्रष्टाचारले मौलिने अवसर पाएको छ ।” भ्रष्टाचारविरुद्ध अब सैद्धान्तिक सामाजिक, राजनीतिक र प्रशासनिकसहितका सबैक्षेत्रबाट घृणा गरिनसँगै निर्मम कानूनी कारवाही गरिनुपर्ने परियारले बताए ।

कार्यक्रममा मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले भ्रष्टाचार समाज र मुलुककै क्यान्सर भएको उल्लेख गर्नुभयो । भ्रष्टाचार नियन्त्रणका लागि कानून अपुग भएको नभइ कानून तोडेर हिँड्ने प्रवृति झ्याङिएको उनको ठहर छ । सरसर्ति हेर्दा सम्पतीको धाक, रवाफ देखाउनेले सामाजिक मर्यादा पाएको स्थितिले भ्रष्टाचारले सामाजिक मान्यता नै पाएको देखिने गरेको उनले बताए। आपूm नेतृत्वको प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध आम जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सुशासन विधेयक नै ल्याउन लागेको उनले जानकारी दिए ।

भौतिकपूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनल र प्रदेश सरकारका मुख्य सचिव रामकृष्ण सुवेदीले भ्रष्टाचारविरुद्ध बोली र भाषण भन्दा व्यवहार महत्वको विषय भएको बताए। कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायसहित राज्यमन्त्रीको उपस्थिति थियो ।

प्रदेशका पर्साबाहेक सात जिल्ला र उदयपुर एवं सिन्धुली कार्यक्षेत्र रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले आयोजना गरेको कार्यक्रममा कार्यक्षेत्रका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र सेवाप्रदायक सरकारी कार्यालयका प्रमुख एवं भ्रष्टाचारविरुद्ध निगरानी समितिका पदाधिकारीले संयुक्तरुपमा भ्रष्टाचार नगर्ने र गर्न नदिने सङ्कल्प गरेका छन् ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाले कार्यालयको कार्यक्षेत्रका जिल्लाबाट चालु आर्थिक वर्षको गतसाउनदेखि कात्तिक मसान्तसम्म १ हजार ३ सय उजूरी परेको जानकारी दिए। तीमध्ये सबैभन्दा बढी धनुषाबाट ४ सय १९ रहेका सापकोटाको भनाइ छ । आयोगले गत आर्थिक वर्ष २०७५÷७६ का २ हजार ७० उजूरीमा छानबिन गरिरहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *