पशुपतिनाथको मुख्य शिवलिङ्गको तस्बिर सार्वजनिक भएपछि मोबाइल फोन निषेध

काठमाडौँ । पशुपतिनाथ मन्दिरभित्रको गर्भगृहस्थित मुख्य शिवलिङ्गको तस्बिर गत साता सामाजिक सञ्जालमार्फत् केही व्यक्तिहरूलाई पठाइएपछि विवाद उत्पन्न भएको छ। नियमानुसार पशुपतिनाथ मन्दिर परिसरभित्र तस्बिर खिच्न पाइँदैन।

उक्त तस्बिर पशुपति क्षेत्र विकास कोषका एक नवनियुक्त पदाधिकारी पनि सदस्य रहेको एउटा ह्वाट्सएप समूहमा प्रसार गरिएपछि कतिपयले उनलाई पशुपतिनाथको गरिमा घटाएको आरोप लगाएका छन्। कोषका सदस्य अर्जुनप्रसाद बास्तोलाले आफूमाथि लागेको आरोपको खण्डन गर्दै “आफूलाई बदनाम गर्न केही व्यक्तिहरूले चरित्रहत्या गर्न खोजेको” दाबी गरेका छन्।

विवाद के हो ?

गत साता “पशुपति सन्त सम्मेलन” नामक एउटा ह्वाट्सएप समूहमा पशुपतिनाथको मुख्य शिवलिङ्गको तस्बिर पठाइपछि विवाद सुरु भएको जानकारहरू बताउँछन्। उनीहरूका अनुसार उक्त समूहमा पशुपतिनाथ मन्दिर र धार्मिक सङ्घसंस्थामा आबद्ध व्यक्तिहरू रहेका छन्।

त्यो तस्बिर उक्त समूहमा रहेका व्यक्तिहरूले देखेपछि कतिपयले निषेधित क्षेत्रभित्र तस्बिर खिचेर गुह्य साधना गरिने स्थलको अनादर गरेको भन्दै आपत्ति जनाएका थिए। अझ उक्त समूहको “एड्मिन”का रूपमा कोषमा सदस्यमा हालै नियुक्त भएका अर्जुनप्रसाद बास्तोला रहेको देखिएपछि धेरैले उनैले तस्बिर खिचेर सार्वजनिक गरेको ठाने।

गत शनिवार देशसञ्चार डट कमले “पशुपतिका मूलीहरूद्वारा नै पशुपतिको अपमान” शीर्षकमा बास्तोलालाई जोडेर समाचार प्रकाशित गरेपछि यो विषयमा पशुपतिनाथसँग सम्बन्धित व्यक्तिहरूबीच थप चर्चा हुन थालेको थियो।

बास्तोला भने एक व्यक्तिले उक्त तस्बिर समूहमा पठाएर आफू समूहबाट बाहिरिएको र आफूलाई ‘एड्मिन’ बनाइदिएको दाबी गरेका छन्। तर उनको दाबी बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। बास्तोलाले यो घटनामा आफू पीडित भएको भन्दै साइबर अपराधअनुसार प्रहरीमा उजुरी गर्ने बताए।

विरोध

पशुपतिनाथको मुख्य शिवलिङ्गकै तस्बिर खिचिएपछि कतिपयले त्यसको विरोध गरेका थिए। विरोध गर्नेमध्ये पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्य पनि छन्। उनले भने, “संसारमा जहाँ पनि निधिहरूमा यस्तो व्यवस्था गरिएको हुन्छ। फोटो खिच्न र नक्कल निकाल्न पाइँदैन।”

उनले नेपालमा पनि पशुपतिनाथ आस्थाको केन्द्र भएकाले सुरक्षा व्यवस्था गर्नका लागि त्यस्तो गरेको बताउँदै त्यसलाई सबैले पालन गर्नुपर्ने बताए।”कि त यसलाई बहसको विषय बनाएर सबैलाई फोटो खिच्न पाउने व्यवस्था हुनुपर्‍यो,” उनले भने।

तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयका उपकुलपति तथा पूर्वी संस्कृतिका ज्ञाता विदुर पौडेल कानुनमा व्यवस्था नभए पनि पूर्वीय दर्शनमा कतिपय कुराहरू गोप्य राखिनुपर्छ भन्ने मान्यतामा पशुपतिनाथको मूल शिवलिङ्गको तस्बिर खिच्न नदिइएको बताउँछन्।

उनका अनुसार भोजन, शौच, मैथुन र योगलाई गोप्य ढङ्गबाट गर्नुपर्छ भन्ने विभिन्न धर्मशास्त्रहरूमा लेखिएकाले पशुपतिनाथमा पनि त्यस्तो व्यवस्था गरिएको हो।

“कतिपय अवस्थामा तन्त्र र पूजाआजाका कुराहरू अरूले थाहा नपाऊन् भनेर पनि गोप्य राख्ने गरिएको थियो,” उनले भने, “तर कतिपय कुराहरू अहिले खुला पनि भएका छन्। तर त्यसो भन्दैमा पशुपतिको गरिमा नै घटाउने गतिविधि गर्नु उचित होइन।”

मूर्ति प्रतिस्थापन विवाद

उक्त तस्बिरबारे विवाद आएकै बेला पशुपतिक्षेत्रस्थित बहिरा महादेवनजिकै भारतबाट ल्याइएका जगन्नाथका मूर्ति प्रतिस्थापन गर्नेबारे पनि विवाद सार्वजनिक भएको छ। भारतको गोवर्धनमठ पुरीपीठबाट ल्याइएका ती मूर्ति त्यहाँ प्रतिस्थापन गर्न लागिएको र त्यसको नेतृत्व पनि सदस्य बास्तोलाले नै गरेको आरोप लागेको थियो।

तर बास्तोलाले मूर्ति प्रतिस्थापनका लागि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवले नै अनुमति दिएको आरोप लगाएका छन्। उनले भने, “त्यो मूर्ति चाहिँ पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव नै गएर ल्याउनु भएको हो। एक महिनाअगाडि नै आएको हो त्यो। त्यसमा मेरो संलग्नता होइन। मैले त्यहाँका मूल भट्टलाई नेपाल आउन चार दिनको बिदा मिलाइदिने काम मात्र गरेको हो, मैले।”

उनले एक महिनाअघि जगन्नाथ-पशुपतिनाथ मैत्रीयात्राका क्रममा ल्याइएको बताए। उनको आरोपलाई कोषका सदस्यसचिव प्रदीप ढकालले खण्डन गर्दै त्यसलाई अस्वीकार गरेका छन्।

ढकालले भने, “हामीलाई कसैले आधिकारिक रूपमा प्रस्ताव पेस गरेको छैन। स्वीकृति दिने भन्ने त दोस्रो कुरा भयो। हामीले अनुमति दिने कुरामा पुरातत्त्व विभागको पहिले अनुमति लिनुपर्ने भएकाले हामीले ल्याएको भन्ने सवाल नै भएन नि।” तर आइतवार प्रतिस्थापन गर्ने भनिएका मूर्तिहरू विवादकै कारण त्यहाँ प्रतिस्थापन हुन नसकेको बास्तोला र ढकालले पुष्टि गरे।

उक्त विवाद सतहमा आएपछि गोवर्धनमठ पुरीपीठसँग पनि यसबारे जानकारी मागिएको र पीठले पशुपति क्षेत्रमा मूर्ति स्थापना गर्ने कुरामा आफ्नो संलग्नता अस्वीकार गरेको बताइएको छ। विश्व हिन्दू महासङ्घकी महासचिव अस्मिता भण्डारीले उक्त विवादपश्चात् आफूले गोवर्धनमठका शङ्कराचार्यलाई पत्राचार गरेको र उनका निजी सचिवले पठाएको पत्रमा त्यहाँबाट पशुपतिमा मूर्ति स्थापना गर्नेबारे अनुमति नदिइएको उल्लेख भएको उनले जानकारी दिइन्।

उनले भनिन्, “नेपालमा जगन्नाथको मूर्ति नेपालमा प्रतिस्थापना गर्नु राम्रो हो, तर पशुपतिक्षेत्रमा त्यसरी स्थापना गर्न पाइँदैन। त्यसो गर्दा पशुपतिनाथ र जगन्नाथ दुवैको मर्यादामा आँच आउने भएकाले मैले शङ्कराचार्यको सचिवालयमा सम्पर्क गरेकी थिएँ।”

“उताबाट हामीले कसैलाई पनि त्यस्तो अनुमति दिएको छैन भन्ने खालेको कुरा आएकाले हामीलाई यो षड्यन्त्र हो भन्ने हामीलाई लागेको छ।” विज्ञहरूका अनुसार भने प्राचीन स्मारक ऐनअनुसार पनि पशुपति क्षेत्रमा अन्यत्रबाट ल्याएर मूर्ति स्थापना गर्न पाइँदैन।

पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव गोविन्द टण्डनले विश्व सम्पदा सूचीमा रहेकाले पनि पशुपति क्षेत्रमा त्यस्तो गर्न नमिल्ने बताए।

मोबाइलमा प्रतिबन्ध लगाइने

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव ढकालले भने शिवलिङ्गको तस्बिर सार्वजनिक भएको र मूर्ति स्थापना गर्न खोजेको कुराबारे छानबिन अघि बढाइएको बताए। उनले भने, “हामीले अहिले प्रशासनिक छानबिन अघि बढाएका छौँ। जो सुकै संलग्न भएको पाइए पनि कारबाही गर्छौँ।”

ढकालले मुख्य शिवलिङ्गको तस्बिर खिचेर सामाजिक सञ्जालमा फैलाएको सार्वजनिक भएपछि आफूहरू सतर्क भएको बताए। यस्ता घटनाबारे पहिले पनि सूचना आएकाले अब चाँडै पशुपति मन्दिरमा प्रवेश गर्नेहरूलाई भित्र मोबाइललगायत विद्युतीय उपकरण लान नदिने व्यवस्था गर्न लागिएको उनले जानकारी दिए।

उनले भने, “हामीले अहिले जुत्ताचप्पलका साथै अन्य सामग्री राख्नका लागि झन्डै एक हजारजति लकर चलाइसकेका छौँ। अब हामी थप बढाउँदैछौँ। त्यसका साथै हामीले अन्य सुरक्षा उपकरणहरू पनि जडान गर्दैछौँ।” “सबै पूर्वाधार तयार गरेर हामी आगामी तीन महिनाभित्र विद्युतीय उपकरण लान नपाउने व्यवस्था गरिसक्छौँ।”

बीबीसी नेपालीबाट

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो