इजरायलप्रति आक्रोशित ट्रम्पले भने ‘म नभएको भए इजरायल पनि हुँदैनथ्यो’
काठमाडौं । जी–७ शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेनजामिन नेतन्याहूको तीखो आलोचना गरेका छन् ।
लेबनानमा इजराइलले गरेका सैन्य आक्रमणहरू अनावश्यक रहेको उल्लेख गर्दै राष्ट्रपति ट्रम्पले यसअघि अमेरिका र इरानबीचको शान्ति सम्झौता (पिस डिल) प्रति नेतन्याहूले देखाएको उदासिनता र इरान विरुद्धको कडा नीति जारी राख्ने सङ्केतप्रति असन्तुष्टि व्यक्त गरे।
इजराइलले हिज्बुल्लाहसँग लामो समयदेखि युद्ध लडिरहेका कारण ठूलो सङ्ख्यामा सर्वसाधारणको ज्यान गइरहेको भन्दै ट्रम्पले कसैको खोजी गर्ने बहानामा सर्वसाधारण बसोबास गर्ने पूरा क्षेत्र नै ध्वस्त पार्नु बुद्धिमानी नभएको टिप्पणी गरे।
वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले लेबनान मामिलामा इजराइलभन्दा सिरिया बढी सक्षम हुनसक्ने भन्दै हिज्बुल्लाहसँगको टकराव सुल्झाउने जिम्मा सिरियालाई नै छोडिदिन इसराइललाई सुझाव दिए। इरानसँग शान्ति सम्झौतामा हस्ताक्षर भइरहेकै समयमा बेरूतमा आक्रमण भएकोमा आपत्ति जनाउँदै उनले सो कुरा आफूलाई मन नपरेको र यसबारे इजराइललाई स्पष्ट जानकारी गराइसकेको बताए।
सिरियाका राष्ट्रपति अहमद अल शराको प्रसङ्ग जोड्दै ट्रम्पले यदि इजराइलले सर्वसाधारणको ज्यान नजोगाई आफ्नो अभियान सञ्चालन गर्न सक्दैन भने सिरियाली राष्ट्रपतिले अमेरिकाका लागि यो काम गरिदिने दाबी गरे। साथै, अमेरिकी सहयोग विना इजराइलको अस्तित्व नै संकटमा पर्ने भन्दै आफ्नो कार्यकालमा इजराइलका लागि जति काम अन्य कुनै पनि अमेरिकी राष्ट्रपतिले नगरेको स्मरण समेत गराए।
प्रधानमन्त्री नेतन्याहूसँग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रो रहेको भए तापनि अबका दिनमा उनी लेबनानको मामिलामा थप जिम्मेवार बन्नुपर्ने ट्रम्पको भनाइ थियो। लेबनानको ऐतिहासिक र प्राज्ञिक गरिमाको चर्चा गर्दै उनले विगतमा बुद्धिजीवी, चिकित्सक र कानुन व्यवसायीहरूको उत्कृष्ट देश रहेको लेबनानको वर्तमान अवस्था भयानक र दुखद बनेको उल्लेख गरे।
हिज्बुल्लाहका कारण लेबनानले ठूलो सुरक्षा चुनौती भोग्नुपरेको स्वीकार गर्दै ट्रम्पले इजराइलले समयमै र सही ढङ्गले कदम चाल्न नसक्दा ऐतिहासिक शान्ति सम्झौताहरूमा गम्भीर असर पुग्ने गरेको बताए। हालका दिनमा नेतन्याहू र ट्रम्पबीचको सम्बन्धमा चिसोपन आएको स्पष्ट देखिन्छ।
यता, अमेरिका र इरानबीचको शान्ति वार्तालाई लिएर इजराइलभित्र तीव्र राजनीतिक दबाब सिर्जना भएको छ। प्रधानमन्त्री नेतन्याहूले सम्झौता भए पनि वा नभए पनि आफू पदमा रहुञ्जेल इरानलाई आणविक हतियार बनाउन नदिने अडान दोहोर्याएका छन् ।
अमेरिका–इरान वार्ता चलिरहेकै समयमा इजराइलले लेबनानमाथि गरेको शृङ्खलाबद्ध आक्रमणप्रति इरानले कडा आपत्ति जनाएको छ। लेबनानमा युद्धविराम हुनु पनि यस शान्ति सम्झौताको एक हिस्सा रहेको इरानको दाबी छ।
अमेरिका वा ट्रम्पले इरानको यस दाबीलाई आधिकारिक पुष्टि नगरे तापनि वार्ताका क्रममा भएका आक्रमणहरूको ट्रम्पले कडा शब्दमा निन्दा गर्नुका साथै टेलिफोन संवादमार्फत नेतन्याहूलाई कडा चेतावनी समेत दिएका थिए ।
बीबीसी संवाददाता टोम बेटमेनका अनुसार राष्ट्रपति ट्रम्पको यो अभिव्यक्तिले प्रधानमन्त्री नेतन्याहू प्रति उनको तीव्र आक्रोशलाई उजागर गर्दछ। इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा पुगेका बेला बेरूतमा भएको आक्रमणलाई ट्रम्पले अत्यधिक र अनावश्यक सैन्य बलको प्रयोगका रूपमा व्याख्या गरेका छन् ।
इजराइलले हिज्बुल्लाहको खतराविरुद्ध आफ्नो सुरक्षाका लागि आक्रमण गरेको तर्क अघि सारे तापनि ट्रम्पले भने इसराइलले सीमाभन्दा बढी बल प्रयोग गरिरहेको ठहर गरेका छन् । मध्यपूर्वी सङ्कट समाधानका लागि लेबनानमा शान्ति स्थापना अनिवार्य सर्त रहेकाले अमेरिकी प्रयासहरूलाई निष्कर्षमा पुर्याउन राष्ट्रपति ट्रम्पले अब इजराइलप्रति आफ्नो संयम गुमाउँदै गएको विश्लेषण गरिएको छ।







डिसी नेपाल







Facebook Comment