‘फ्री भिसा फ्री टिकट’ को अवधारणा नै गलत छ: श्रममन्त्री यादव

डिसी नेपाल
३ असार २०८३ १३:३५

काठमाडौं। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘फ्री भिसा फ्री टिकट’ को अवधारणा नै गलत भएको दाबी गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले तत्कालीन समयमा लागू गरिएको यो व्यवस्था र शब्द दुवै त्रुटिपूर्ण रहेको औँल्याए।

विगतको यो अवधारणालाई परिवर्तन गरी समयसापेक्ष र वैज्ञानिक बनाउनका लागि गत जेठ २२ गते एक कार्यदल गठन गरिएको जानकारी दिँदै मन्त्री यादवले उक्त कार्यदललाई ३५ दिनको समयावधि दिइएको स्पष्ट पारे।

वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै मन्त्री यादवले हाल देशभर झन्डै १८ सय म्यानपावर कम्पनीहरू सक्रिय रहेको र ३० लाखभन्दा बढी नेपाली श्रमिकहरू विदेशमा कार्यरत रहेको तथ्यांक प्रस्तुत गरे। उनले आगामी दिनमा नेपाली श्रमिकको हकहित र सुरक्षाका मामिलामा सरकारले कुनै सम्झौता नगर्ने नीति लिएको समेत बताए।

श्रममन्त्री यादवले नेपाली श्रमिकहरूलाई मर्यादित श्रम, उचित पारिश्रमिक, कार्यस्थलमा पूर्ण सुरक्षा, सामाजिक सुरक्षा, आत्मसम्मान र आधारभूत जीवनस्तरको ग्यारेन्टी गर्न नसक्ने देशहरूमा श्रमिक नपठाउने दृढता व्यक्त गरे। जुनसुकै मुलुक भए पनि नेपाली नागरिकको सुरक्षा र न्यायोचित सेवा सुविधा पहिलो सर्त हुनुपर्नेमा उनको जोड थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *