छोरा जोगाउँदा आमा गम्भीर, रातभरिकाे कुटाइबाट बेहाेस

डिसी नेपाल
२९ मंसिर २०७६ २१:०१

सप्तरी । जीउभरि कुटेको निलडाम, लाठीको चोटले बसेको सुम्लो, कुटाइले सुन्निएको अनुहार र शरीर, संवेदनशील अङ्ग (योनी)बाट रगत बगिरहेको देखिन्छ । बोल्न सक्दिनन् । पीडाले बेलाबेलामा बेहोस बनाउँछ ।

गम्भीर घाइते अवस्थामा अस्पताल भर्ना भएकी तिलाठी कोइलाडी गाउँपालिका– ८ तोपाकी ३० वर्षीया मञ्जुदेवी खङ्ग यतिबेला जीवनसँग सङ्घर्ष गर्दै छन्। छिमेकीको सहयोगमा ११ वर्षीय जेठा छोरा अर्जुनले शनिबार उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराए । स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै चिकित्सकले उनलाई सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्ने भनेका छन् ।

मञ्जुको घरमा ११ र सात वर्षीय छोरा तथा पक्षघात बिरामी सासू छन् । आर्थिक अवस्थासमेत अत्यन्त कमजोर रहेकाले मञ्जुको सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गराउन सक्ने अवस्था छैन । छोराहरूलाई कुटपिटबाट जोगाउँदा आफ्नो यो हालत भएको मञ्जुले बताइन्। गत शुक्रबार राति सधैँ झैँ मातिएर आउने उनका श्रीमान् राजकुमार खङ्गले मुखमुखै लागेको भनी छोराहरूलाई कुटपिट गर्न थाले ।

“बुबा घर प्रवेश गरेपछि खुशी भएका कान्छा छोराले बिस्कुट मागे, जेठा छोराले आज माछा ल्याउने भन्नुभएको थियो, खोइ त ल्याएको भने”, मञ्जुले भनिन्, “कुरा यति थियो, मादक पदार्थ र गाँजा सेवन गरी घर आएका श्रीमान्ले छोराहरूलाई नराम्रोसँग कुटन थालेपछि जोगाउन आफू अघि सर्दा रातभरि कुटाइ खाए ।” मागबमोजिम बिस्कुट र माछा ल्याउन नसकेका राजकुमारले छोराहरूलाई कुटपिट गर्न थालेपछि मञ्जु जोगाउन अघि सरिन्। “कमाएको जति सबै बाहिरै रक्सी खाएर उडाउने, छोराहरूले खानेकुरा माग्दा चाहिँ कुट्ने,” मञ्जुले प्रतिवाद गरिन् ।

बुबा आउलान् अनि माछा भात पकाएर खाउँला भनी नाबालक छोरा राति अबेलासम्म आशा गरेर बसेका थिए । मञ्जुले पनि छोरालाई बुबा आएपछि पकाएर खानुपर्छ भनी आश्वासन दिएर पर्खाइन् तर रक्सी र गाँजाको नशामा मातिएर खाली हात आएका श्रीमान्ले अनाहकमा छोरालाई कुटेको देखेर रिस थाम्न नसकेकी मञ्जुले घरमा तरकारी ल्याउनुहुन्छ र पकाउँला भनेर हामी पर्खी बसेका छौँ, तपाईं भने कमाएको सबै रक्सी खाएर उडाउने भनेर कराइन् ।

रक्सी खाएर बाहिरै पैसा उडाउने भए, घर किन आएको भनेपछि राजकुमारले छोेरालाई छाडी मञ्जुलाई कुटन थाले । लात, मुक्काले मात्र नभई लाठीले रातभरि कुटपिट गरेको मञ्जुले बताइन् । कुटपिटबाट मञ्जु बेहोस भइन्। सम्पूर्ण शरीरमा निलडाम र चोटपटक लागेको छ । मञ्जुलाई रातभरि बेहोस हुनेगरी कुटेका राजकुमार बिहानै फरार भएपछि जेठा छोरा अर्जुनले छिमेकीसँग हारगुहार गरी आमालाई राजविराजस्थित अस्पताल भर्ना गराए । राजकुमारलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ ।

सुनसरी शिवगञ्ज भोक्रहाका बद्री शर्मा खत्वेकी छोरी मञ्जुको १६ वर्षको उमेरमा राजकुमारसँग बिहे भएको थियो । ससानो कुरामा धेरैपटक कुटाइ खाएको बताएकी मञ्जुले गहभरि आँसु पार्दै भनिन्, “यसपटक बस्नसम्म नसक्ने गरी कुटपिट गर्नुभयो ।” ज्यानभरि नै चोटपटकको निलडाम रहेका र रगत बगिरहेको छ । “अवस्था नाजुक भए पनि अन्यत्र जान नसक्ने भएपछि यहीँ अस्पतालमा उपचार गराइरहेका छौँ, सुधारोन्मुख हुने आशा छ”, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। चुमनलाल दासले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *