साधुसन्तलाई कम्बल र कमाण्डलु

डिसी नेपाल
१ पुष २०७६ ७:३१

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–६ का अशोक यादव र सीतादेवी यादवले सोमबार १८५ साधुसन्तलाई कम्बल र कमण्डलु वितरण गरेका छन् ।

छोराको मृत्यु भोजमा हुने खर्चको साटो सो रकमबाट कम्बल र कमण्डलु खरीद गरी उनीहरूले वितरण गरेका हुन् ।

सप्तरीको विभिन्न गाउँबाट तथा भारत बिहारको मधुवनी र सुपौल जिल्लाबाट आएका साधुसन्तलाई कम्बल र कमण्डलु वितरण गरिएको स्थानीय जयराम यादवले बताए।

उनले भने, “गाउँभरिकालाई भोज खुवाउनुको साटो न्यानो कपडाको अभावमा चिसो खेप्दै आएका ज्येष्ठ नागरिक साधुसन्तलाई प्राथमिकतामा राखेर कम्बल वितरण गर्नु श्रेयष्कर हो।”

कम्बल, कमण्डलु र दक्षिणा पाएपछि सप्तरीको राजगढ नर्घोका ६५ वर्षीय भसोनाइ दासले खुशी व्यक्त गरे । “ओढ्ने कपडा र पानी पिउने भाँडो पुरानो हुँदा निकै गाह्रो भएको थियो”, दासले भने, “कम्बल र कमण्डलु दिएर गुन लगाए।”

भोजभतेरमा खर्च हुने फजुल रकम परोपकारमा लगाएर समाजलाई अघि बढाउन यादव दम्पतीले प्रेरित गर्नुभएको राजविराज नगरपालिका–१६ का सूर्यनारायण यादवले बताए ।

उनले थपे, “देखासिकी, तडकभडक र फजुल खर्च गर्ने प्रवृत्ति त्याग्नुपर्छ, परोपकारजन्य कार्यको चेतना विस्तार गर्नुपर्छ।”

अनुत्पादक खर्च गर्नुको साटो त्यसलाई रचनात्मक काममा उपयोग गरूँ भन्ने चाहना पूरा गर्न साधुसन्तलाई बोलाएर भोजन र सामग्री वितरण गर्ने निर्णय गरेको यादवले बताए ।

“भोजभतेरमा खर्च गरेर रवाफ देखाउने संस्कार रोक्न र गलत संस्कारले अझ बढावा नपाओस् भन्ने आफ्नो चाहना हो”, उनले भने।

जेठा छोरा २१ वर्षीय रितेशकुमार यादवको मृत्यु भएको १३औँ दिनको तिथिमा यादवले साधुसन्तलाई भोजन गराएपछि उपहारस्वरुप कम्बल र कमण्डलु वितरण गर्नुका साथै दक्षिणा दिएर बिदा गरे ।

यादवले मृतक छोराको सम्झनामा ६ नं वडा कार्यालय अगाडि चोकमा चौतारा निर्माणसमेत शुरु गरेका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *