नेपाली भूमि राष्ट्रको हितविरुद्ध प्रयोग हुन दिन्नौं : मन्त्री साेनल

डिसी नेपाल
१० पुष २०७६ २०:३९

जनकपुरधाम । प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले नेपाली भूमि राष्ट्रको हितविरुद्ध प्रयोग हुन नदिने बताएका छन् । नेपाल भारत खुला सीमा संवाद समूहद्वारा आयोजित सीमाञ्चल सम्बन्धको स्वरूप र नागरिक दायित्व विषयको छलफलमा मन्त्री सोनलले खुला सीमालाई दुवै देशबीच रहेको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्धलाई दरिलो बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका थिए ।

उनले खुला भूमि राष्ट्रको हितविपरीत प्रयोग हुन सक्ने आशङ्कालाई त्यागी विद्यमान समस्यालाई साझा रूपमा समाधान कसरी गर्न सकिन्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने खाँचो औँल्याए । सामाजिक विकासमन्त्री नवलकिशोर साहले मिथिला राष्ट्र हुँदादेखि नै भारतसँग सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको चर्चा गर्दै सो सम्बन्ध कहिल्यै टुट्न नसक्ने धारणा राखे ।

नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले नेपाल भारतको सम्बन्ध प्राकृतिक, नैसर्गिक र मानवीय रहेको चर्चा गर्दै सार्वभौमिकता रक्षाका लागि सबैपक्ष सजग हुनुपर्दछ भने। प्रदेशसभा सदस्य परमेश्वर साहले दुवै देशका नागरिकबीच आत्मीय सम्बन्ध रहेको प्रसङ्ग उल्लेख गरे ।

राजनीतिक विश्लेषक चन्द्रकिशोरले सीमाञ्चल सम्बन्ध दुवै राष्ट्रका जनताबीचको सम्बन्ध साझा विम्बझैँ भएकाले सामाजिक विकृतिलाई साझा रूपमा अन्त्य गर्न पहल गर्र्नुपर्दछ भने । भारतीय सीमाविज्ञहरू प्राध्यापक नवलकिशोर चौधरी, अशोक प्रियदर्शी, नागेन्द्रप्रसाद सिंह र अरुण दासले सीमाञ्चल सम्बन्धमा शासकले असमझदारी उत्पन्न गर्ने गरेकाले सीमाञ्चलका नागरिक असमझदारी प्रति सजग हुनु जरुरी छ भने ।

समूहका अध्यक्ष राजीव झाले सीमा क्षेत्रमा सडकको दूरावस्था, लागू ओषधको ओसारपसार र आपराधिक क्रियाकलापको समाधान गर्न नागरिकको अग्रसरता आवश्यक रहेको बताए। कार्यक्रममा साहित्यकार अयोध्यानाथ चौधरीद्वारा हिन्दी भाषामा लिखित ‘ढलते आंशुऔंके बीच’ नामक कविता सङ्ग्रहको पनि विमोचन गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *