अब काँग्रेसमा के हुन्छ?

डिसी नेपाल
१३ पुष २०७६ १०:५२

खेमराज थापा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा आन्तरिक विवाद उत्कर्षमा पुग्दा मुलुकको सबैभन्दा पुरानो पार्टी अब कसरी अगाडि बढ्छ भन्ने चासो बढेको छ। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाबीच पार्टीको भागबण्डाका विषयमा भएको विवादका बीच संस्थापन पक्षले बहुमतका आधारमा आगामी महाधिवेशनको कार्यतालिका पारित गरेपछि विवाद झनै बढेको छ।

गएको शुक्रबार पार्टी केन्द्रीय कार्य समितिले १४ औं महाधिवेशनको कार्यतालिका पारित गर्दै गर्दा पौडेल समूह र सिटौला समूहले बैठक नै बहिस्कार गर्यो। शनिबार सिटौला समूहका नेताहरुसहित पौडेल पक्षको भेला महामन्त्री सशांक कोइराला निवास महाराजगञ्जमा भयो र निश्कर्ष निकालियो – शुक्रबारका निर्णय खारेज हुनुपर्छ।
तर, संस्थापन पक्ष भने पौडेल समूहको मागकै आधारमा पार्टीको महाधिवेशन कार्यतालिका बनाइएको बताउँछ।

डिसी नेपालसँग कुरा गर्दै देउवा पक्षीय मानिएका पार्टीका सहमहामन्त्री डा. प्रकाशसरण महतले भने, ‘उहाँहरुकै मागअनुसार निर्णय गरिएको हो। महाधिवेशनको कार्यतालिका भन्नु भएको थियो। त्यो गरिएको छ। अब त्यो पनि स्वीकार नगर्ने भएपछि के भन्ने?’

पौडेल समूहले शुक्रबारका निर्णय खारेज नभए वार्ता पनि नगर्ने बताएको सन्दर्भमा समहामन्त्री महत भन्छन्, ‘सभापतिजी घर घरमा पुगेर कुरा गर्नु भएकै हो। वार्ताका लागि हामी जति बेला पनि तयार छौं। उहाँहरुबाट सकरात्मक जवाफ चाहियो।’

एउटै पार्टी भित्र वार्ता नहुने भन्ने त हुँदैन। तर, पार्टीमा एकलौटी रुपमा अगाडि बढ्ने परिपाटी कसरी रोक्ने भन्नेबारे त केही मापदण्ड बनाउनु पर्यो नी।

उता पौडेल पक्ष भने शुक्रबारको निर्णय सच्याउने वातावरण नबनेसम्म वार्ता नहुने बताउँछ। पौडेल समूहले संस्थापन पक्षसँग वार्ता गर्न गठन गरेको वार्ता टोलीका सदस्य तथा पार्टी केन्द्रीय सदस्य हृदयराम थानीले डिसी नेपालसँग भने, ‘त्यो एकलौटी निर्णय सच्चिनुपर्छ। उहाँहरुले सच्याउँनु हुँदैन भने हामी देशभर काँग्रेस कार्यकर्ता तथा नेताहरु, पार्टीप्रति चिन्ता राख्ने बुद्धिजिवीहरुसँग सुझाव लिन्छौं र प्राप्त सुझाव अनुसार अगाडि बढ्छौं।’

अहिलेको अवस्थामा वार्ता हुन सक्दै न त भन्ने प्रश्नमा नेता थानीले भने, ‘एउटै पार्टी भित्र वार्ता नहुने भन्ने त हुँदैन। तर, पार्टीमा एकलौटी रुपमा अगाडि बढ्ने परिपाटी कसरी रोक्ने भन्नेबारे त केही मापदण्ड बनाउनु पर्यो नी।’

शुक्रबार केन्द्रीय कार्य समितिको बैठक बसेपछि देउवा र पौडेलबीच कुनै सम्पर्क भएको छैन। स्रोतले भन्यो, ‘शुक्रबारपछि दुबैतर्फबाट कुनै सम्पर्क भएको छैन, तत्काल दुई शीर्ष नेताहरुबीच छलफल हुने देखिएको छैन।’

पार्टीमा विवादले उत्कर्ष रुप लिएको समयमा दुई शीर्ष नेताहरुबीच वार्ताको शुरुआत नभएकाले अझै केही दिन गतिरोध हुने देखिएको छ। तर, सहमहमामन्त्री महत भने दुई पक्षबीच छलफलको विकल्प नभएको बताउँ छन्।

उनले भने, ‘उहाँहरुले माग जस्तै निर्णयहरु भएका छन्। यो पनि नमान्ने त्यो पनि नमान्ने कुराले त हुँदैन। मैले त उहाँहरुले ४० त के ४९ प्रतिशत नै दिउँ भन्छु। तर, सिटौलाजीलाई पनि त व्यवस्थापन गर्नुपर्यो।’ महतको भनाईमा यो विवाद मुलतः भागबण्डाको हो।

पौडेल समूहले पार्टीको महाभिवेशन आगामी मंसिरमा हुनुपर्ने, विभागको संख्या बढाउन नहुने, भातृ संस्थाको विवाद समधान गर्नुपर्ने माग राखेको छ। संस्थापन पक्षले पौडेल पक्षको महाधिवेशनको मागअनुसार निर्णय त गर्यो तर, आफ्नो शैलीमा।

काँग्रेसको विधानअनुसार केन्द्रीय महाधिवेशन हुनुभन्दा एक वर्ष अगाडि स्थानीय तहको अधिवेशन हुनुपर्ने व्यवस्थालाई निलम्बन गर्दै मंसिरमा स्थानीय र फागुनमा केन्द्रीय महाधिवेशनको मिति तोकिएको छ। यसलाई पनि पौडेल समूहले मुद्दा बनाएको छ। नेता थानी भन्छन्, ‘पार्टीको महाधिवेशन तोक्ने जस्तो कुरा, विधानका धारा निलम्बन गर्ने जस्ता कुरा एकलौटी गरेर जाने?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *