काठमाडौँको दानापानी बन्द गरिदिन्छु भन्ने राजेन्द्र महतो काठमाडौंकै सम्धी बन्दै

डिसी नेपाल
१५ मंसिर २०७६ ८:५८

काठमाडौँ । नाकाबन्दीका बेला ‘काठमाडौंको दानापानी बन्द गरिदिन्छु’ भन्ने राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो अहिले भने काठमाडौंकै रैथाने नेवार समुदायको सम्धी बन्ने भएका छन् । उनले आफ्ना छोराको विवाह काठमाडौंकी नेवार समुदायकी छोरीसँग तय गरेका छन् । विवाह यही मंसिर १९ गते हुँदैछ ।

संविधान जारी भएपछि त्यसको विरोधमा काठमाडौंलाई चाहिने अत्यावश्यक वस्तु रोक्न सीमा क्षेत्रमा धर्नामा बसेका मधेशी नेताहरुमध्ये सबैभन्दा उग्र र सक्रिय राजेन्द्र महतो नै मानिन्थे । ती महतो नै थिए जसले संविधानको विरोधमा आन्दोलन सुरु गरेपछि काठमाडौंमा रहेको पार्टीको कार्यालय समेत बन्द गराइ कार्यालय नै तराइ सारेका थिए । उनले पार्टी कार्यालय तराइ सार्दै गर्दा आन्दोलन सफल नभएसम्म काठमाडौंनफर्कने उद्घोष गरेका थिए । काठमाडौं र पहाडी समुदायको विरोधमा सबैभन्दा उग्र रुपमा प्रस्तुत हुने महतो अहिले भने पहाडीकै आफन्त बन्दैछन् ।

यद्यपि महतो पहिलेदेखि नै काठमाडौं बस्दै आएका हुन् र उनको राजधानीको सिनामंगलमा घर छ । तर, संविधानविरोधी आन्दोलनका बेला भने उनले पहाडी समुदायविरोधी छवि बनाएका थिए । उनै राजेन्द्र महतो अहिले भने पहाडी समुदायसँगै सम्बन्ध गाँस्ने तयारीमा लागेका हुन् । आफ्ना छोरा राघवेन्द्र महतोको विवाह डिल्लीबजारमा प्रकाशकाजी तुलाधरकी छोरी पलिशा तुलाधारसँग गर्न लागेका हुन् । काठमाडौंको एक होटलमा हुने विवाह भने मैथिली परम्पराअनुसार हुने बताइएको छ ।

पलिशा र राघवेन्द्रको विवाह प्रेमलाई पारिवारिक सहमतिमा परिणत गरिएको विवाह हो । खुमलटारस्थित एआइटी कलेजमा सहपाठी रहेका उनीहरुबीच प्रेम भएको थियो । पहाडी समुदायसँग सम्बन्ध गाँस्ने महतो पहिलो मधेशी नेता भने होइनन् । मधेश राजनीतिमा ठूला मानिने नेताहरु हृदयेश त्रिपाठी, विजयकुमार गच्छदार, सर्वेन्द्रनाथ शुक्ला, जितेन्द्र देव, बृजेशचन्द्र लाल, जेपी गुप्ता, रामकुमार शर्मा, रामरिझन यादव, वंशीधर मिश्र, विश्वनाथ साह, गणेश साह लगायतले पहाडी समुदायमा सम्बन्ध गाँसेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *