बेमौसमी तरकारी खेती तर्फ आकर्षित जुम्लाका किसान

डिसी नेपाल
१५ मंसिर २०७६ १६:३२

जुम्ला । बेमौसमी तरकारी खेती गर्ने क्रम बढेपछि जुम्ला र आसपासका क्षेत्रमा घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन् । हिउँदे मौसममा जिल्लामा ताजा तरकारीको अभाव हुने गरेकाले किसानले प्लाष्टिक टनेल निर्माण गरी बेमौसमी तरकारीको उत्पादन थालेका हुन् ।

जुुम्लामा हिउँदको समयमा तरकारी अभाव हुन्छ । अहिले जिल्लामा नेपालगञ्ज र सुर्खेतबाट गाडीबाट तरकारी ढुवानी भइरहेको छ । तराईबाट आएको तरकारी महङ्गो हुने भएपछि किसान तरकारी खेतीमा आकर्षित भएका हुन् ।

अधिकांश किसानको आकर्षण बेमौसमी तरकारी खेतीमा देखिएको छ । प्लाष्टिक टनेलमा तरकारी खेती गर्न थालेपछि जिल्लामा उत्पादन पनि बढ्दै गएको छ । कनकासुन्दरी गाउपालिका–५ लुड्कुका गगन बुढाले प्लाष्टिक टनेलमार्फत गाउँमा बेमौसमी तरकारी उत्पादन हुन थालेको बताए। उनले भने, ‘तरकारी खेती गर्न थालेपछि किसानको आम्दानी बढिरहेकै छ । बजारका बासिन्दाले समेत ताजा तरकारी उपभोग गर्न थालेका छन्’,

बाहिरी हावापानीको प्रभाव नपर्ने भएकाले टनेलमा तरकारी उत्पादन पनि राम्रो हुने गरेको उमा बुढाले बताइन् । प्लाष्टिक टनेलमा उत्पादन भएको साग प्रतिमुठा १५ देखि २० मा बिक्री हुने गरेको छ ।

स्थानीयवासीले धनियाँ, टमाटर, प्याज, काउली, लसुन, गाँजरलगायत तरकारी उत्पादन गरिरहेका छन् । सदरमुकाममा अधिकांश तरकारीको भाउ १ सय देखि १ सय ५० छ ।

बुढाले गत वर्ष तरकारी खेतीबाट १ लाख बचत गरेको जानकारी दिए । उनले खुर्सानी उत्पादनलाई प्राथमिकता दिएको बताए । सदरमुकाममा बेमौसमी तरकारीको माग बढेकाले व्यावसायिक खेतीमा आकर्षण बढेको उनले बताए ।

यता सिञ्जा गाउँपालिका–६ कै मुन्कौरा बुढाले बजारमा तरकारी खेती गरीरहेकी छन्। उनको बारीमा साग, धनियाँ, टमाटर र गाँजरको उत्पादन हुने गरेको छ ।

मङ्सिरदेखि फागुनसम्म तरकारीका बिरुवा चिसोबाट जोगाउन टनेल निर्माण गरिएको उनले बताइन्। कतिपय बारीमा आएर साग, धनियाँ, टमाटर र गाजर लिने गरेको बुढाले बताइन्। बुढाले तरकारीबाट ५० हजारभन्दा बढी आम्दानी गरेको बताइन् । नियमितरूपमा घरमा खाने गरेका छौं उनले भनिन् । केही वर्षयताबाट तरकारी खेतीको लहर चलिरहेको छ ।

नेपालगञ्ज र सुर्खेतबाट आउने तरकारीको मूल्य २ सय ५० भन्दा माथि रहेको उनले बताइन् । उनका अनुसार गाउँ–गाउँमा तरकारी उत्पादन बढ्दै गएपछि बाहिरको तरकारी कम भित्रन थालेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *