जस्तोसुकै शक्तिले चाहे पनि हाम्रो नागरिकताकाे अधिकार खोस्न सक्दैन: एनआरएनए 

डिसी नेपाल
२१ पुष २०७६ २१:१८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले  जस्तोसुकै शक्तिले चाहे पनि  गैरआवासीय नेपालीको नागरिकता अधिकार खोस्न नसक्ने दावी गरेको छ । एनआरएनएनए इंल्याण्ड राज्य परिषदको आयोजनामा आइतबार अल्डरशटस्थित एम्पायर हलमा भएको अन्तरक्रियामा बोल्ने वक्ताहरूले संविधानले ग्यारेन्टी गरेको गैरआवासीय नेपाली नागरिकताको अधिकारलाई कसैले खोसेर नखोसिने बताएका हुन्।

उनीहरुले  गैरआवासीय नेपालीहरुसँग सम्बन्धी नागरिकता, मुलुकी संहिता, राहादानी, राष्ट्रिय परिचयपत्र लगायतका ऐनहरु संसोधन गर्न सुझावसमेत दिएका छन् । समयनाकुल विदेशमा बस्ने नेपालीहरुसँग सम्वन्धित ऐन कानुन संसोधन गर्न सुझाव दिँदै संघिय संसदको ध्यानार्कषण गराएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले संविधानले ग्यारेन्टी गरेको गैरआवासीय नेपाली नागरिकताको अधिकारलाई कसैले खोसेर नखोसिने दावी गरे । ‘नेपालको संविधानले विदेशमा बस्ने नेपालीहरूको अधिकारको लागि गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिसकेको छ त्यसलाई कुनै एक दलले चाहेर मात्र खोस्न सक्दैन । ’ उनले भने ।

संविधानको प्रावधानले गैरआवासीय नेपालीहरूलाई आंशिक अधिकार दिने परिकल्पना गरेपछि थप अधिकारको लागि लड्न पर्ने उनको भनाई थियो ।

एनआरएनएले लामो समय देखी उठाउँदै आएको नागरिकताको निरन्तरता र सम्पतिको अधिकारका सम्बन्धमा सहभागीहरूका प्राप्त सुझावका आधारमा गैरआवासीय नेपाली कानुन र गैरआवासीय नेपाली नागरिकतामा हुनुपर्ने व्यवस्था सम्बन्धमा सहभागीहरूले सुझाव दिए।

कार्यक्रममा  कानुनविद्हरू सुरेन्द्र श्रेष्ठ, गोविन्द बेल्बासे, देवेन्द्र श्रेष्ठ, र थर्क राना लगायतका वक्ताहरूले गैरआवासीय नेपालीहरूको नागरिकता दिने संविधानले ग्यारेन्टी गरेपछि पूर्ण रुपमा कार्यन्वयन नहुने वेला सम्म सजक हुनु पर्ने धारणा राखेका थिए ।

उनीहरूले यो विषय एनआरएन अभियानले निरन्तर प्रवासी नेपालीहरूको अधिकारका पक्षमा पहलकदमी गरिरहनुपर्ने जोड दिए ।

एनआरएनको नारा अनुरूप एकपटकका नेपाली सधैँको नेपाली भन्ने मूलभावलाई मार्गनिर्देशन धारणा मानेर सुझाव संकलनको प्रतिवेदन कानून मस्यौदा गर्ने निकायमा पठाउनुपर्ने सहभागीहरूको माग थियो ।

गैरआवासीय नागरिकता सम्बन्धी कानून निर्माणको प्रक्रियामा नागरिकता सम्बन्धी ऐन संशोधन, नागरिकताका लागि भाषा सम्बन्धी व्यवस्थाको संशोधन, पुस्ताको सीमा सम्बन्धी प्रावधान हटाउने, नागरिकता दिने निकायको सहजता सम्बन्धी विषय मुख्य हुन्।

कार्यक्रमा गैरआवासीय नेपाली संघका सल्लाहकार विश्वआर्दश पण्डित, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ्ग, आइसीसी सदस्यहरु, मानार्थ सदस्यहरु, पूर्वअध्यक्षहरु, भूपुगोर्खाहरु, पत्रकार लगायत बेलायतस्थित विभिन्न संघसँस्थाका प्रतिनिधिहरुको विशेष उपस्थिति थियो । कार्यक्रममा बोल्ने बक्ताहरुको सुझावको आधारमा नेपालमा गैरआवासीय नेपालीहरूको सम्पतिको अधिकार र नागरिकताको निरन्तता विषयमा  गैरआवासीय नेपाली संघ युकेले ८ बुँदे सुझाव संकलन गरेको छ ।

गैरआवासीय नेपाली संघ इंल्याण्ड राज्य परिषदका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन फडिन्द्र भट्टराई र गोविन्द खरेलले गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *