प्रदेश नम्बर ३ को प्रदेश सभामा राजधानीको विषयले चर्काचर्की

डिसी नेपाल
२४ पुष २०७६ १८:२७

काठमाडौं।र प्रदेश नं. ३ को प्रदेश सभामा बिहीबार पनि प्रदेशको राजधानी तोक्ने विषयमा छलफल भएको छ।

छलफलमा सांसदहरुले काभ्रे र हेटौंडालाई राजधानी बनाउने विषयमा आ–आफ्नो धारणा राखेका छन्। सांसद रवीन प्रसाद पाण्डेले संविधानले दिएको विशेष अधिकारअनुसार प्रदेशले राजधानी र नाम तोकोस भन्ने आग्रह गरे।

उनले भौगोलिक सुगमता, औचित्य सामर्थ, सबै दृष्ठिकोणले १३ जिल्लामध्ये ३२ लाख जनखंख्या बसोबास गर्ने क्षेत्रले काभ्रे र १३ लाख जनसंख्याले हेटौडालाई नजिक ठान्ने बताउँदै भौगोलिक सुगमता र सिंहदरबारको शासन जनताको विचमा ल्याउन काभ्रे उपयुक्त भएको बताए। उनले १० जिल्लाले हामी छुट्टै राजधानी घोषणा गर्छौँ भन्ने दिन आउन नदिन पनि काभ्रेमा प्रदेश राजधानी तोकिनुपर्ने बताए।

सांसद प्रेमबहादुर पुलामीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा हेटौंडा राजधानी तोकेकाले त्यसलाई नचलाउन माग गरे।

सांसद केशवराज पाण्डेले भने नुवाकोट प्रदेशको राजधानी बनाउनुपर्ने धारणा राखे। उनले नुवाकोटामा आफ्नो घर भएर मात्र नभई काठमाडौंको जनघनत्व कम गर्न उपयुक्त ठाउँ नुवाकोट भएकाले प्रदेश राजधानी नुवाकोट हुनुपर्ने बताए।

सांसद ओमबहादुर घलानले राजधानीका लागि बीचभाग खोज्ने कि महत्वपूर्ण भाग खोज्ने? भन्दै प्रश्न गरे। मकवानपुर भनेको सबै भन्दा बढी जातिको बसोबास भएको जिल्ला रहेको र सबैले हेटौंडालाई नै मन पराएकाले हेटौंडा नै राजधानी हुनुपर्ने बताए। उनले हिजो रणनीतिक सामरिक महत्वको आधारमा अस्थायी राजधानी तोकिएकाले त्यसालाई नविगार्न आग्रह गरे।

सांसद राजेन्द्र गुरुङले प्रदेश सरकार हुँदै गर्दा नागरिकलाई प्रत्यक्ष अनुभूति हुनेगरी केही दिन नसकेको बताउँदै अव काभ्रेलाई प्रदेश राजधानी तोकेर जानुपर्ने बताए।

सांसद मुनु सिग्देलले भने, ‘संविधान अनुसार नै राजधानी तोकिन्छ । कसैको अधिकार कसैले हनन गरेको छैन्।’ त्यसैले दुई तिहाइ मतले मकवानपुरमा राजधानी तोक्न उनले आग्रह गरे।

सांसद रमेश पौडेलले काभ्रेको धुलिखेल राजधानी राख्न २ वटा आधारहरु प्रस्तुत गरे। उनले संघीयताले सामाजिक न्यानको सुनिश्चिता र हातैले भेट्ने ठाउँमा सरकार भनेकाले काभ्रे उपयुक्त हुने बताए। उनले ६० लाख जनसंख्या मध्ये ४८ लाखले एक दिन यात्रा गर्दा मुस्किलले हेटौंडा पुग्ने र १३ मध्ये १० जिल्लाले राजधानी नभेटाउने भएकाले काभ्रे उपयुक्त हुने बताए। उनले प्रदेशको नाम बागमती राख्नुपर्ने समेत बताए।

सांसद विजुला बर्मा रानाले काभ्रेमा धेरै जनसंख्याको पायक पर्ने बताइन्। ‘नेकपा भित्र ५० यता ५० उता हुनुहुन्छ । त्यस्तै कांग्रेसको अन्तिम निर्णय सचिवालयको हुन्छ।’ केन्द्रीय सरकारले गरेको हस्तक्षेप सबैले शिर निउर्याएर स्वीकार गरेको आरोप लगाउँदै उनले भावी सन्ततिका लागि पनि काभ्रे प्रदेश राजधानी उपयुक्त हुने बताइन्।

सांसद केशव प्रसाद पोखरेलले भने, ‘कार्यदलले विवरण मात्रै तोक्यो। एक दुई तीन भनेर तोक्न सकेन। तीन नम्बर प्रदेशको जनसंख्यार्लाइ कसरी सम्बोधन गर्न सक्छौं।’ त्यो विषयमा छलफल हुनुपर्ने बताउँदै सेवाग्राहीको प्रभावकारीता हेरेर निर्णय गर्नुपर्ने बताए। बैठक शुक्रबार दिउसो ३ बजे पुनः बोलाइएको छ ।

नोटः यस सम्बन्धी फुटेज सर्भरमा उपलब्ध छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *