पञ्चको बाटोमा कांग्रेस, कांग्रेसको बाटोमा नेकपा

डिसी नेपाल
२८ पुष २०७६ ०:३५

नेपालमा झण्डै दुइ तिहाइको दम्भको नेकपाको ‘खुर्माने’ सरकार छ, इतिहास भएको तर कान्ती गुमाएको निम्छरो नेपाली कांग्रेस प्रमुख बिपक्षी छ । नेपालमा पछिल्लो उपनिर्वाचनले समेत पुष्टी गरेको तथ्य के हो भने कम्युनिष्ट र लोकतन्त्र पक्षधरबीच नेपाली जनमत बिभाजित छ, भोलि पनि त्यस्तै हुनेछ र नेकपा र नेपाली कांग्रेसले तिनको प्रतिनिधित्व गरी राखेका छन्। तीस वर्ष पहिला तीस वर्षीय सकृय राजतन्त्रात्मक एकदलीय निरंकुस शासन फ्याक्न पनि कांग्रेस र कम्युनिष्टले नै संघर्ष र दुख गरेका हुन ।

लेखक : तरुण पौडेल

नेपालमा राजनितिक स्थिरता हुन नपाएको पच्चिस वर्षमा छब्बिस पटक सरकार फेरबदल भएका , बनेका सरकारहरु पनि कमजोर भएकोले बिकास र आर्थिक उन्नति नभएको भन्ने सनातनी तर्क अब असान्दर्भिक हुन पुगेको अहिले नेपालमा मुख्य दलहरुमा देखिएको कचमच र अन्यमनष्क स्थितिले देखाउंछ । राणाको बाटोमा पन्चहरु गए,पन्चको बाटोमा कांग्रेसीहरु हिडे र अहिले कांग्रेसको पदमार्गमा नेकपा बेतोडले बिना जिपीएस कुदेको देखिन्छ ।

झण्डै दुइ तिहाइको बहुमत भएर के भो ? महिला काण्डमा परी रिक्त भएको सभामुख टुंगो लगाउन दुई-दुई अध्यक्ष भएको दल असफल भइरहेको छ । सत्तारुढ दलले जसलाई उम्मेदवार बनाउछ त्यो नै निर्विरोध सभामुख हुने निश्चित हुँदा पनि चार महिनादेखि मुलुक सभामुखविहीन छ र संसदको हिउंदे अधिवेसन सुरु भएको एक महिना हुन लाग्दा पनि संसदको एउटा पनि नियमित काम कार्यवाहीको बैठक हुन नसकी सूचना टास्दै स्थगित गरिएको छ । सत्तारुढ दलकै उप सभामुख आँफू आफ्नै पार्टी कै दुइवटै अध्यक्षको ‘राजनितिक हिंसा’ को सिकार हुनु परेको भनेर सार्वजनिक गुहार मागिरहेकी छिन्।

उदेक लाग्दो त के छ भने गुटबाजीले थिल्थिलिएको प्रमुख बिपक्षी दल नेपाली कांग्रेस न संसदमा न जनस्तरमा सुनिने गरी आत्मबलका साथ बोलेको सुनिन्छ। विपक्षले सभामुख छिट्टो चाहियो,संसद सुचारु हुनु पर्‍यो, बन्नु पर्ने कानूनहरु अलपत्र परे, संसदलाई काम दिने सरकारले हो बिजिनेस देऊ , बिना काम जनताले तिरेको करबाट तलब भत्ता सुबिधा खान लाज भो भन्न सकिरहेका छैनन्। सत्तारुढ दलका सांसदहरु गुट बिभाजन र लाचारीमा छन्। सत्तापक्ष र प्रमुख विपक्ष दुबै देश र जनता प्रति बेइमानी गरिरहेका छन्। नागरिक समाज भनिनेहरुका स्वर पनि सुनिदैन।

त्योभन्दा पनि देशको संबृद्धि र बिकासको नाममा बनेको दावी गरिएको बलियो सरकारका प्रधानमन्त्री हप्तै पिच्छे मृगौलाको डायलासिस गराउन अस्पताल जान्छन्। आफ्नै सरकारी निवास बालुवाटार मै भएको आफ्नो पार्टीको सचिवालयको महत्वपूर्ण बैठकमा उपस्थित हुन सक्दैनन् भने प्रधानमन्त्रीको शरीर र स्वास्थ्यका लागि शुभेक्षाका साथ अव आराम गर्नुहोस भनेर उनको राजीनामा माग्नु पर्ने हुन्छ।

देशको नेता भनेको जननिर्वाचित प्रतिनिधिले चुनेको कार्यकारी प्रमुख प्रधानमन्त्री हो । त्यो नेता इमान्दार , सक्षम र दैनिक खट्न सक्ने हुनु पर्छ । तर अहिले मुलुक सत्तारुढ नेकपाभित्रको कचमचले सरकार र संसद नेतृत्वबिहिन जस्तै छ । ओलीजीले राजिनामा दिएपनि अर्को चुनाव नहुंदासम्म नेकपा कै कुनै सांसद नेता प्रधानमन्त्री हुने हो, कुनै कांग्रेसी हुने त होइन ।

बलियो सरकारका प्रधानमन्त्री हप्तै पिच्छे मृगौलाको डायलासिस गराउन अस्पताल जान्छन्। आफ्नै सरकारी निवास बालुवाटार मै भएको आफ्नो पार्टीको सचिवालयको महत्वपूर्ण बैठकमा उपस्थित हुन सक्दैनन् भने प्रधानमन्त्रीको शरीर र स्वास्थ्यका लागि शुभेक्षाका साथ अव आराम गर्नुहोस भनेर उनको राजीनामा माग्नु पर्ने हुन्छ।

हरेक ठांउमा असन्तुष्टि र बिरोधका स्वर थपिइरहेको चालू अवस्थाले अहिलेको संबिधान बिरोधी तत्वले खुच्चिङ्ग भनिरहेको अवस्था छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीप्रति कुनै दुराग्रह नराख्दै स्वयं नेकपाबाटै, बिपक्षी दलहरु र नागरिक समाजबाट देशलाई बन्धक र ‘हल न चल’ को अवस्थाबाट मुक्त गर्न समय नघर्किदै नेकपालाई यथोचित निर्णय लिन दवाव दिनु पर्ने समय भएको छ।

चार महिनादेखि सभामुख बिहिनाता र छ महिनादेखि प्रधानमन्त्री कडा बिमारले ग्रस्त भएको स्थितिले देश हारिरहेको छ । सीमा अतिक्रमणको मुद्धा ओझेलमा पारिदैछ्,एमसीसीको ५५ अरबको अनुदान सहयोग सभामुखको रिक्तता र नेकपाभित्रको खिचातानीले अनिश्चिततातर्फ जादै छ, निर्यातमा समस्याले उध्योग कलकारखानामा समस्या, समय मै कानून नबनेर धेरैतिर बेथितिजस्ता टड्कारा समस्याले तत्काल पहल र उत्तर खोजिरहेका छन्। मुलुकमा बलियो र स्थिर सरकार कहाँ छ ? अथवा देशमा सरकार त छ ? नेकपामा पार्टी र देश हाक्ने गतिशिल नेतृत्व कहाँ छ ? जस्ता प्रश्नहरुको उत्तर तत्काल समिचिन भएको छ ।

नेपालले अहिले अंगालेको संघीय गणतन्त्रात्मक संसदीय पद्दतिको मूलमर्म भनेको जननिर्वाचित संसदले सक्षम र काम गर्न सक्ने सभामुख र प्रधानमन्त्री बनाउने हो । त्यस्को लागि संसदमा र संबिधानत कुनै समस्या छैन । यो पद्दतिको सुस्वास्थ्य सबलीकरण र दीर्घजिवनका लागि नेकपाका नेता र संसदहरुले बिलम्ब नगरी पहलकदमी लिने बेला भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *