धनुषाको घटनाको निष्पक्ष अनुसन्धान गर्न आग्रह

डिसी नेपाल
२७ पुष २०७६ २०:०४

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले धनुषामा मानवाधिकार रक्षक दिलीप भनिने ओमप्रकाश महतोलाई टिपरले टाउकामा कुल्चाएर हत्या गरेको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ । धनुषाकोे मिथिला नगरपालिका–५ का वातावरण संरक्षण अभियानकर्मी महतोको यही पुस २५ गते औरहीखोलामा टिपरले टाउकामा कुल्चाएर हत्या गर्ने दोषीमाथि छानबिन गरी कारवाही गर्न माग गरिएको हो ।

“निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत घटनाको सत्यतथ्य उजागर गरी दोषीलाई कानूनबमोजिम कारवाही गर्न र पीडितलाई क्षतिपूर्तिका लागि आयोग सरकारको ध्यानाकर्षण गराउँदछ”, विज्ञप्तिमा भनिएको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले उक्त घटना दुःखद् भएकाले त्यसको कानूनी प्रक्रियाबारे नजीकबाट अनुगमन गरिरहेको बताए । घटनाको अनुगमन तथा अनुसन्धानका लागि आयोगको प्रदेश नं २ कार्यालयको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।

घटनाबाट वातावरण संरक्षणमा लागिरहेका व्यक्तिको जीवनको अधिकार तथा नेपालले हस्ताक्षर गरेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रतिज्ञापत्र, १९६६ को उल्लङ्घन भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसै सन्दर्भमा वातावरण संरक्षण अभियानकर्मीको टोलीले आयोगमा आज ज्ञापनपत्र बुझाएको थियो । घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कानूनी कारवाहीको माग गर्दै उनीहरुले आयोगका अध्यक्ष शर्मालाई ज्ञापनपत्र बुझाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *