एनआरएनए मलेसिया अध्यक्षको स्पष्टोक्तिः ‘मैले दिएको चेक सक्कली हो, पैसा श्रमिक हितमै खर्च हुन्छ’

डिसी नेपाल
२९ पुष २०७६ १३:१६

क्वालालम्पुर । गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष हरि भट्टराईले आफूले व्यक्तिगत रुपमा श्रमिक कल्याणकारी कोषलाई सहयोग गरेको रकम श्रमिकको हितमै खर्च गरिने बताएका छन् ।

भट्टराईले आफू अध्यक्षमा निर्वाचित भएपछि मलेसियामा समस्यामा परेका नेपालीलाई सहयोग गर्ने उद्देश्यले श्रमिक कल्याणकारी कोषको स्थापना गरी व्यक्तिगत रुपमा ५० हजार रिंगेट (करिव १३ लाख नेपाली रुपैयाँ) सहयोग गरेका थिए । तर, भट्टराईले कोषमा दिएको सहयोग रकमबारे प्रश्न उठाउँदै केही संचार माध्यमले कोषलाई नक्कली चेक दिएको दावी गर्दै समाचार छापेका थिए ।

अध्यक्ष भट्टराईले डिसी नेपालसँग कुरा गर्दै भने– ‘कोषलाई नक्कली चेक दिएको भन्ने कुरा झुटो हो । मैले सहयोग गरेको रकम संघमा सुरक्षित छ। दूतावासको सिफारिस र संघको समितिले आवश्यक छानबिन गरि सिफारिस गरेमा समस्यामा परेका नेपालीलाई सहयोग गर्न संघ तयार छ ।’ उनले तथ्यहीन समाचारले समग्र एनआरएनए मलेसिया र अध्यक्षको मान मर्यादामा आच पुर्याएको भन्दै आपत्ती जनाए । गतल प्रचारबाजी गरेर आफ्नो बद्नाम गर्न खोजिएको भन्दै त्यस बिरुद्द कानुनी उपचार खोज्ने समेत बताए। मलेसियामा एनआरएनको बैंक खाता नभएकाले आफुले दिएको रकम कोषाध्यक्षसँग भएको भट्टराईको भनाइ छ।

‘श्रमिक कल्याणकारी कोषमा पचास हजार दिने घोषणा गरे अनुरुप छैठौं अधिवेशनमा अध्यक्ष ज्यूले सबैको उपस्थिता मलाई चेक हस्तान्तरण गर्नु भएको हो । श्रमिकहरुको कल्याण र उद्धारको लागि सो रकम अध्यक्षले ब्यक्तिगत रुपमा दिएकोले सक्कली नक्कली भन्न जरुरी छैन ।’ एनआरएनए कोषाध्यक्ष कृष्णप्रसाद नेपालले डिसी नेपालसँगको कुराकानीमा भने, ‘यो रकम श्रमिकहरुको बृहत हितको लागि नै खर्च गरिने छ ।’

उनले संघको आफ्नै खाता नभएकोले उक्त चेकको रकम साथै अन्य लेभी तथा शुल्क पनि आफूसँग नै रहने जानकारी दिए । ‘जबसम्म मलेसियामा संघको आधिकारीक बैक खाता खुल्दैन तबसम्म पैसा जम्मा हुँदैन किनकि यो रकमको सही सदुपयोग होस भन्ने चाहान्छु । आवश्यक पर्दा कार्य समितिको निर्णय अनुसार राहत रकम वितरण गरिनेछ’ उनले भने ।

यो विषयमा एनआरएनए मलेसियाका वरिष्ठ उपाध्यक्ष सुन्दर आले भने चेक सक्कली भएको तर पैसा कोषमा जम्मा नभएको सत्य भएको बताउँछन । ‘डिसेम्बर २८ को बैठकमा भएको निर्णय अनुसार पुरानै बैंक खाता अनलाईन कारोबार र चेकजाच गर्न मिल्ने भएपछि कोषको रकम खातामा हाल्ने सहमति भएको हो । अहिले खाता अनलाईन भइसकेको छ उक्त रकम खातामा हाल्नुपर्ने हो। तर हालिएको छैन ’ उनले भने ।

महासचिव हेमराज साप्कोटाले भने यथाशिघ्र उक्त रकम खातामा जम्मा हुनुपर्ने माग राखेका छन । ‘एनआरएनए मलेसियाको स्थापना कालदेखि नै कानुनी अड्चनको कारण एनआरएनए मलेसियाकै नाममा खाता खोल्न सकिएको छैन । त्यसैले ‘पेर्सातुवन केतुर’ नामक संस्था दर्ता गराई उक्त संस्थाको खातालाई एनआरएनए मलेसियाको प्रयोजनमा प्रयोग गर्ने सहमति भई बिगत देखिनै यस खाताको प्रयोग भई आएको छ’ उनले भने ‘यसै खातामा उक्त कोषको रकम पहिला नै जम्मा हुनु पर्ने हो । तर, हाल सम्म पनि जम्म भएको छैन । ’

उनले रकम किन जम्मा नभएको बारे आफू अनविज्ञ रहेको बताए । उनले भने–‘रकम किन जम्मा भएन त्यसको कारण मलाई थाहा छैन। कोषका लागि दिएको रकम यथाशिघ्र खातामा जम्मा गरिनुपर्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *