संक्रान्ति जात्रा, गङ्गा स्नान र कन्दमुल

डिसी नेपाल
१ माघ २०७६ ८:४६

नेपालमा माघे सङ्क्रान्तिका दिन तिन ओटा नदी मिसिने ठाउँ त्रिवेणीमा पुगेर मकर स्नान अथवा पवित्र स्नान गर्ने गरिन्छ। माघको एक गते चिसा नदीहरूको झन्डै ५ डिग्रीको फ़्रिजिङ्ग तापक्रम पुगेको पानीमा डुबुल्की मारेर स्नान गर्ने र भगवानको आराधना गर्ने नेपालको परम्परागत चलन हो।

कौरव र पाण्डव बिचको महाभारतको प्रसिद्ध युद्धमा गङ्गा (गङ्गा नदी) र राजा सन्तनुको छोरा, कौरव र पाण्डवका हजुरबुवा भीष्म पितामह आफ्नै नाति अर्जुनले हानेको बाणको खाटमा जीवन र मृत्युको दोसाँधमा पुग्छन।

जीवन र मृत्यु बारेको यथार्थ बोध गरी आफ्नै नाति अर्जुनले हानेको बाण बाट परमधाम हुने अवसर उनलाई मिल्छ। उक्त दिन माघको पहिलो दिन रहेकाले भीष्म पितामहले जीवन र मृत्युबारे ज्ञान प्राप्त गरेको दिनको रूपमा समेत यो दिनको आफ्नै धार्मिक महत्त्व रहेको ठानिन्छ।

उक्त दिन तनहुँको देवघाट, गुल्मीको रिडी, काभ्रेको पनौती र दोलालबाट, सुनसरीको बराह क्षेत्र, झापाको कनकाई, ताप्लेजुङ र पाँचथरको काबेली, इलामको माइबेनी र भारतमा प्रयाग, गङ्गा सागर आदि नदीको घाट सम्म पुगी नेपालीहरू स्नान गर्ने, श्राद्ध गर्ने र पूजा-दान गर्ने गरेको देखिन्छ।

माघे सङ्क्रान्ति जात्रा वयस्क युवायुवतीहरुले लागि भिडभाडमा टहलिएर छुटै मनोरञ्जन लिने अवसरको रूपमा समेत परम्परागत रुपमै उपयोग गर्दै आइरहेको पनि भेटिन्छ। घर भित्र र बाहिर सबैतिर चिसो हुने नेपालमा जाडो याम पुस बाटै सुरु हुने भएता पनि पुसको अन्तिम दिनको रातमा पाकेको कन्दमूल र गुलिया मिठा परिकारहरू माघको पहिलो दिन खाइन्छ।

लेखक : नारायण घिमिरे

माघे सक्रान्तिमा खाने कन्दमूलहरू तरुल, सख्खर खण्ड, पिँडालु आदि हुन। मिठा परिकारमा सेल रोटी, फुरौला,  तिलको लड्डु, घिउ, चाकु, खिचडी लगायत हुने गर्छ।हाल नेपालका अत्यन्त गरिब परिवारमा उसिनेर तथा अत्यन्त धनी र सौखिन परिवारमा उसिनेर तथा विभिन्न कन्दमूलका परिकार बनाएर गिठ्ठा, भ्याकुर र बन तरुल जस्ता कन्दमूल माघे सक्रन्तिमा खाने चलन समेत चलेको देखिन थालेको छ।

विभिन्न अनुसन्धान हरूबाट प्रमाणित भएअनुसार चिसो मौसममा शरीरलाई १७ डिग्री भन्दा चिसो पानीले २-३ मिनेट सम्म  नुहाउँदा अथवा  हिउँको आस-पासको तापक्रमको पानीमा ३० देखि ६० सेकेन्ड सम्म डुबुल्की मारी शरीर लाई चकित पार्ने कामले तपाईको स्नायु प्रणालीबाट रगतमा एपि-नेफ्रिन रिलिज गर्न उत्प्रेरित गर्न सकिन्छ।

रगतमा पुगेको एपि-नेफ्रिन शरीरका विभिन्न अङ्गमा पुग्ने बित्तिकै मुटु सामान्य भन्दा छिटो धड्किने, मांसपेशीहरू, मुटु र अन्य महत्त्वपूर्ण अङ्गहरूमा ह्वात्तै रगतको प्रवाह बढ्ने गर्छ। मुटुको धुकधुकी र रक्तचाप उकासिन्छ।

उक्त परिवर्तनहरूका कारण तपाई छिटो छिटो सास फेर्न थाल्नु हुन्छ। फोक्सोका स-साना वायु मार्गहरू फराकिलो र खुला बन्छन। फोक्सोले प्रत्येक सासमा सकेसम्म धेरै अक्सिजन लिन थाल्छ। दिमागमा नियमित भन्दा धेरै अक्सिजन पुग्दा दिमागको सतर्कता ह्वात्तै बढ्छ। तपाइको दृष्टि, श्रवण शक्ति र अन्य इन्द्रियहरू समेत नियमितभन्दा धेरै तीक्ष्ण बन्छन।

एपि-नेफ्रिनको रगतमा हुने प्रवाहका कारण शरीरमा अस्थायी भण्डारणमा रहेका  चिनी (ग्लुकोज) र बोसो रगतमा छिटो छिटो घुलिन थाल्छ। रगतको प्रवाहमा घुलेका पोषक तत्त्वहरू को प्रयोग गरी शरीरमा अधिक ऊर्जा उत्पादन हुन्छ।

शरीरले जाडोको महसुस गरिरहेको बेला प्राप्त उक्त अतिरिक्त ऊर्जाहरू का कारण तपाईँको अङ्गहरू चलायमान हुने, रगतमा डिटोक्सिफिकेशन बढाउने, रगतमा हुने ल्याक्टेटको मात्रा घटन पुगी मांसपेशी लाई आराम दिलाउँछ। साथ साथै मांसपेशीको तन्दुरुस्ती राख्न समेत सहयोग हुने हुँदा तपाईँको स्फूर्ति, मुड, सतर्कता, फोकस र ध्यानमा सबलता ल्याउन सफल थेरापीको काम गर्छ।

एक आपसमा माया प्रेम जस्ता आकर्षणमा रहेका तर वैवाहिक नाता स्थापित गर्ने हद सम्मको सम्बन्धमा पुगी नसकेका युवा-युवतीहरू बीच जात्रा र भिडभाडमा उपस्थित भएर आपसी सहमतिका साथ हुने छिटपुट शारीरिक स्पर्श र छिल्लने वा फ्लटिंगले स्त्री तथा पुरुष दुवैमा आफ्नो कदर भएको, प्रभावशाली, शक्तिशाली र महत्त्वपूर्ण बनेको सकारात्मक ऊर्जा उत्पन्न हुनगई आनन्दको महसुस गर्ने मौका यो चाडले उपलब्ध गराऊदछ।

हाम्रा कन्दमूलहरू भिटामिन, खनिज, फाइटोकेमिकल्स र फाइबरको लागि उत्तम खानाको रूपमा रहेका छन्। हाम्रा कन्दमूल हरू पोटासियम को राम्रो श्रोत रहेका छन्। हाल बजारमा देखिने टाइप २ मधुमेह रोगीलाई समेत यिनीहरूले राम्रो फाइदा दिएको भेटिएको छ।

महिला पुरुष बिचको एकापसमा विकास हुने बफादारी उनीहरू बीच हुने प्रगाढ सम्बन्धको आधार हुने गर्छ। भित्री मनमा मेरो लागि परेको बेला साथ र  ढाडस दिने कोही छ भन्ने गहिरो प्रभाव परेका बेला मानिसले आफूलाई अत्यन्त सुरक्षित महसुस गर्छ। दैनिक भेटघाट हुने, कुराकानी गर्ने र मिठो नमिठो सबै भावनाहरू साटफेर भएको सम्बन्धमा भन्दा एकको अर्को प्रति मौन प्रदर्शन गरिने भावनात्मक र साङ्केतिक ख्याल र मायामा एक पक्षको अर्को पक्ष सँग धेरै बलिष्ट सुरक्षाको आभास विकास हुने बुझिन्छ।

औपचारिक डेटिङ, फोन तथा सोसियल मिडिया मार्फत हुने चाटिंङ आदिमा कामुकता तथा दैनिक गतिविधि, भविष्यको योजना तथा अन्य खुद्रा कुराकानी ले दिमाग लाई धेरैतिर विभक्त गरिरहेको देखिन्छ। मौन प्रेम, आँखा आँखा बिचको मौन वार्ता, भाव प्रकटमा इसाराको प्रयोग तथा ईक्षा अनुरूपको सुटुक्क हुने मौन शारीरिक स्पर्शमा उच्च कामुकता प्रकट हुने भेटिन्छ।

कामुकतामा दिमागले डोपामिन, सेरिटोनिंन, अक्सिटोक्सिन र इन्डोर्फिन जस्ता भित्रै बाट आनन्द महसुस गराउने ह्यापी केमिकलहरू बनाउँछ। जब तपाईँमा कुनै पनि सुरक्षित सकारात्मक भाव पैदा हुन्छ, तपाइको दिमागमा डोपामिन रिलिज हुन्छ। जब दिमागमा डोपामिन रिलिज हुन्छ तपाई “आहा” पलको वा आनन्दको महसुस गर्नु हुन्छ।

यसरी मूल्याङ्कन गर्दा परम्परागत रूपको पूजा, जात्रा र मन्दिरहरुमा वयस्क युवायुवतीहरूले लागि भिड-भाडमा टहलिएर लिने स्वस्थ मनोरञ्जन हालको औपचारिक डेटिङ, फोन तथा सोसियल मिडिया मार्फत हुने चाटिंङआदिको भन्दा उच्च सुरक्षाको प्रत्याभूति दिलाउन र प्रभावकारी खुसी र सन्तुष्ट दिन सफल हुने देखिन्छ।

तपाईँको शरीरमा तपाइको दैनिकी लाई सहज बनाउने करिब ४० ट्रिलियन ब्याक्टेरियाहरू हुन्छन्। जसमध्ये सबैभन्दा धेरै आन्द्रामा रहेर तपाइको पाचन प्राणीलाई सुचारु र प्रभावकारी बनाई रहेका हुन्छन।

तपाईँको आन्द्रामा सीमित ब्याक्टेरियाहरू धेरै रोगहरू विकास गर्न योगदान पुर्‍याउने खालका हुन्छन्। तर जब तपाईँमा हानिकारक ब्याक्टेरियाको गतिविधि बढ्छ तब तपाइको शरीर ले त्यसलाई बाहिर फाल्ने गर्छ।

आन्द्रामा रहेर तपाइलाई फाइदा दिने ब्याक्टेरियाहरू सामूहिक रूपमा  पेटको माइक्रोबायोटा भन्ने गरिन्छ। पछिल्लो समयमा तपाइको आफ्नो समग्र स्वस्थ तपाइको आन्द्राको पाचन क्षमताको तन्दुरुस्ती सँग धेरै हदसम्म जिम्बेबार रहने एकिन भएको छ।

तपाइँको आन्द्राको स्वस्थ भने तिनै माइक्रोबायोटाको स्वस्थमा धेरै हद सम्म निर्भर रहने प्रमाणित भएको छ। तपाईँले खाने तपाइको दैनिक खानामा तपाइको लागि मात्र हैन उक्त माइक्रोबायोटाको लागि समेत खानाको समावेश हुन अनिबार्य हुने भेटिएको छ। आजकाल उक्त माइक्रोबायोटाको खाना भएको खाना लाई प्रोबायोटिक भन्ने गरिन्छ।

सङ्क्रान्तिमा हामीले खाने सबै कन्दमूल जस्तै तरुल, सख्खर खण्ड, पिँडालु, गिठ्ठा, भ्याकुर र वन तरुलमा उच्च फाइबर हुने र त्यसले  माइक्रोबायोटाको खाना इनुलिन उपलब्ध गराउने निश्चित गर्छ। पौष र माघ दुई महिना जाडो समय हुँदा जाडोको बिच समयमा मनाइने यो सक्रन्तिमा खाइने कन्दमूलले हाम्रो आन्द्रामा रहेको माइक्रोबायोटामा नयाँ जीवन सञ्चार गर्न अत्यन्त प्रभावकारी भूमिका खेलिदिने गर्छ।

अरू खानाले भन्दा हाम्रा कन्दमूलले विभिन्न प्रकारका प्रोबियोटिक ब्याक्टेरियाहरू लाई पालन पोषण गर्ने क्षमता रहेको भेटिएको छ। त्यसमा पनि शरीरका दुई अति महत्त्वपूर्ण प्रोबियोटिक ब्याक्टेरिया जस्तै बिफिडो- ब्याक्टेरिया र ल्याक्टो- बेसिलसको खानाको धेरैहद सम्मको जरुरत पुरा गरिदिन्छन।

बिफिडो-बेटेरियाले हाम्रो आन्द्रामा रहेर हाम्रो शरीरलाई चाहिने भिटामिन आफै उत्पादन गरी शरीर लाई उपलब्ध गराउने, ई. कोलि जस्ता हानिकारक जीवाणुहरू लाई आन्द्राको म्युकोसामा सङ्गठित रहेर बस्नै नदिने, इष्टलाई उम्रन नदिने, बाहिर हुत्ताईदिने, पेटमा हुने सबै प्रकारको अवरोध विरुद्ध लड्ने र आन्तरिक रूपमा विष उत्पन्न हुन बाट रोक्ने आदि गर्छ।

आन्द्रामा विष उत्पन्न भएमा रगत हुँदै शरीर भित्र जान बाट रोक्ने र शरीर बाहिर हुत्ताईदिने जस्ता अत्यन्त ठूलो रक्षात्मक भूमिका खेल्दछ। हेलिकोब्याक्टर पाइलोरी नामक हानिकारक ब्याक्टेरियाहाम्रो शरीरमा प्रवेश गरी आन्द्रामा डेरा जमाउने र अन्तमा सानो आन्द्राको माथिल्लो भागमा अल्सर विकास गरी आन्द्राको घाऊ र प्वाल पारिदिने गर्छ।

ल्याक्टो- बेसिलसले  हाम्रो आन्द्रामा रहेर उक्त हानिकारक हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टेरियालाई आन्द्रामा बस्नै नदिने, उसको गतिविधिमा पूर्ण प्रतिरोध गरी निषेध गर्ने गर्छ। आन्द्रामा हुने निश्चित प्रजातिका ल्याक्टो- बेसिलसहरूले आन्द्रामा रहेर नियमित क्यान्सर र डायबेटिक प्रतिरोधी भूमिका खेल्ने गरेको देखिन्छ।

जसरी घरमा बिरालो पालेर मुसाको नियन्त्रण हुन्छ, त्यसरी नै हाम्रा कन्दमूलहरूले हाम्रो पेटको स्वस्थको लागि अत्यन्त जरुरतको प्रोबायोटिक ब्याक्टेरियाहरू पालेर शरीरलाई रोगी हुन बाट जोगाउने काम गर्ने गर्छ।

हाम्रा कन्दमूलहरू भिटामिन, खनिज, फाइटोकेमिकल्स र फाइबरको लागि उत्तम खानाको रूपमा रहेका छन्। हाम्रा कन्दमूल हरू पोटासियम को राम्रो श्रोत रहेका छन्। हाल बजारमा देखिने टाइप २ मधुमेह रोगीलाई समेत यिनीहरूले राम्रो फाइदा दिएको भेटिएको छ। उदाहरणका लागि हामीले खेती गरिने तथा जङ्गली गिठ्ठा, भ्याकुर हाल संसार भर पाइने आकाशमा फाल्ने आकाशे तरुल वा आकाशे आलुको नामले चिनिने एक प्रमुख स्थिर खाद्य बाली हो।

परम्परागत रूपमा आकाशे तरुलमा पाइने कार्बोहाइड्रेटको ग्लाइसेमिक इन्डेक्स न्यून भेटिएकाले यसको क्यान्सर प्रतिरोधी शक्ति हुने विश्वास गरिने तथा मोटोपना घटाउन र मधुमेह रोग विरुद्ध उपयोग गरिन्थ्यो।

आकाशे तरुलमा प्रोटिन ७.४७%, पानी १४. १०%, खरानी २.५६%, फाइबर ०.३५%, कार्बोहाइड्रेट ७३.६२%, फ्याट १.९% को हाराहारीमा पाइन्छ। यिनीहरूमा पाइने मुख्य खनिज पदार्थ क्याल्सियम. म्याग्नेसियम,  पोटास, फस्फोरस, र सोडियम मुख्य छ।फाईटोकेमिकल्सहरूमा सेपोनिन, टेनिन, फ्लाबोनोईड र अल्कोलोईडहरु आदि भेटिन्छन।

आवश्यक अमीनो एसिडमा ल्युसिन, थ्रियोनिन, फेनाईल-ऐलानिन र भेलिनको राम्रो स्रोत हो आकाशे तरुल।   आकाशे तरुलमा थोरै मात्रामा अक्सलेट, फाइटिक एसिड र हाइड्रोसाइनीक एसिड रहने गर्छ। जसका कारण यसलाई प्रशोधन गरी एन्टी-नीऊट्रीसनल फ्याक्टर वा यसमा प्राकृतिक रूपमै रहने मन्द विष हटाएर मात्र खानजरुरि हुन्छ।

आकाशे तरुलको पीठो बनाएर पिठो बाट बन्ने सबै खाना जस्तै पाउरोटी, कुकिज, केक, सुप, नुडल, क्र्याकर, चिप्स आदि सबै बनाउन सकिन्छ। तर यसको अधिक प्रशोधनले यसको सार तत्त्वको पौष्टिकता गुम्ने हुँदा यसलाई अनिबार्य प्रशोधन गर्नुपर्ने विधि अपनाएर सकेसम्म कम प्रशोधन गरी खानु राम्रो हुनेछ।

आकाशे तरुलको परम्परागत रूपमा खाना बाहेक विभिन्न घरेलु औषधिमा समेत प्रयोग हुँदै आएको छ।  परम्परागत चिनियाँ चिकित्सामा आकाशे तरुल घाटी दुख्दा, ग्यास्ट्रिक हुँदा, आमाशयको टिउमर र क्यान्सर उपचारमा प्रयोग  हुन्छ। यसको दुखेको कम गर्ने, यौन उत्तेजना बढाउने, यौन तागत दिने, धेरै पिसाब लगाउने गुण पनि औसधिय गुणको रूपमा लिइन्छ।

पखाला लाग्दा, आऊ पर्दा र आँखाको वरिपरि दुख्ने हुँदाका बखत  घरेलु उपचारमा समेत प्रयोग हुने गरेको भेटिन्छ।   गर्व निरोधक चक्कीमा औषधिको रूपमा हालिने मुख्य एक्टिब स्टोरोईड डायोस्जिनिन आकाशे तरुल बाटै बनाइन्छ।

तिलको दाना क्याल्सियम, तामा, र भिटामिन बी १ को धेरै राम्रो श्रोत हो। यसमा हुने पोली अनसेच्युरेट फ्याट र एन्टिऑक्सिडन्टहरूले रगतमा कोलेस्ट्रोल कम गर्ने, मधुमेहका बिरामीहरूमा मुटुको जोखिम पूर्ण रोग हुने समस्या बाट बचाउने क्षमता राख्दछ।

तपाईँले खाने खानाले तपाईँको शरीरलाई प्रत्यक्ष असर गर्छ। चिसो मौसममा जब तापक्रम घट्छ, तपाइको खानाबाट तपाइको शरीरलाई तताउन मद्दत गर्ने इन्धन दिन सक्दा तपाईँको शरीरको तापक्रम बढाउन र तपाईँलाई न्यानो महसुस गराउन मद्दत पुग्ने छ।

चिसो मौसममा महिला पुरुष दुवैको कामुकता उच्च रहने गर्छ। तपाइको कामुकता को लागि पनि पौष्टिकता जरुरी छ।   तपाइमा रहेको यौन शक्ति सक्रिय राख्ने खाना तपाइको लागि राम्रो आशीर्वाद बन्ने छ।

चाकु उखुको रसलाई उमालेर बाक्लो हुने गरी पाकेको वासनादार, रसिलो, आकर्षक, खनिजले भरिपूर्ण प्राकृतिक रुपमै बनाइएको धेरै गुलियो पदार्थ हो। यसमा उल्लेखनीय मात्रामा म्याग्नेसियम, म्याग्निज र भिटामिन बि ६ पाइन्छ। सेल रोटी, फुरौला, घिउ र खिचडी पोषण तत्वले भरपुर स्वादिष्ट नेपाली खाना हो।

माघे सङ्क्रान्तिका दिन खाइने माथिका परिकारले समग्रमा उल्लेख गरिएका चिसो मौसमका सबै जरुरत हरुको पूर्ति गर्न सक्ने क्षमता राख्दछ। पोषण र मानव स्वस्थको हिसाबले माघे सङ्क्रान्तिको हाम्रो परम्परागत चलन र खानपिन वास्तवमै वैज्ञानिक र सुझबुझ पूर्ण रहेको देखिन्छ।

(लेखक घिमिरे क्यानेडियन खाद्य तथा औषधि विज्ञ हुन्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *