अमेरिकाको मनाससमा नेपालीको आफ्नै भवनका लागि जमिन खरीद गर्ने सर्वसम्मत निर्णय

डिसी नेपाल
१ माघ २०७६ १३:५८

वासिंगटन डिसी। अमेरिका नेपाल सामुदायिक केन्द्र (NACC) को आइतबार स्थानीय लोटस मन्दिरमा बसेको विशेष साधारण सभाले मनाससस्थित चर्चको जमिन र भवन १७ लाख डलरमा खरिद गर्ने प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेको छ। अव फेब्रुअरी १५ तारिकमा आधिकारिक रुपमा पास भएपछि Balls Ford Road मा रहेको ३.१ एकर जमिन र दुई वटा भवनहरु पूर्ण रुपले अमेरिका नेपाल समुदायिक केन्द्रको स्वामित्वमा हुनेछ।

बैठकले जमिन खरिद तथा ईन्जिनियरिंग कमिटीको प्रतिवेदन, आर्थिक कमिटीको प्रतिवेदन, विधान संसोधन र जमिन खरिद गर्न अधिकार दिने सम्बन्धी प्रस्तावहरुलाई आवस्यक छलफलसहित सर्वसम्मत रुपमा पारित गरेको थियो । सीता काफ्लेको सभापतित्वमा भएको विशेष साधारण सभामा मोडरेटरहरु प्रदीप ढकाल, पुरु सुबेदी, र ददी ढुंगानाले कार्यक्रमलाई ब्यबस्थित तरिकाले संचालन गरेका थिए । प्रेम संगौलाले स्वागत मन्तव्य दिंदै जमिन खरिद गर्न हासिल गरेको सफलता अतुलनीय भएकोले अब एक पल्ट सबैले एकजुट भएर होस्टेमा हैसे गर्नु पर्ने विचार व्यक्त गरे।

अरुण रुपाखेतीले डिसी नेपाली समाजबाट सानो स्तरबाट शुरू गरेको यो अभियानले ठूलो रुप हासिल गरेकोमा खुशी व्यक्त गरे ।उनले एनएसीसीले डिसी मेट्रो क्षेत्रमा रहेका सवै संघसंस्थाहरुलाई समान ब्यवहार गर्नु पर्ने विचार ब्यक्त गर्नु भयो । अन्य सामाजिक संघ संस्थाहरुसंगको समन्वय र सहकार्यबारे प्रष्ट पार्दै गोपाल रेग्मीले अमेरिका नेपाल हेल्पिंग सोसाईटीको मन्दिर निर्माण गर्ने योजनालाई NACC को मन्दिर सहितको सामुदायिक भवन बनाउने परियोजनासंग एकीकृत गरी सामुदायिक स्रोतको प्रभावकारी उपयोग गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिए ।

उनले समझदारीमा २ लाख भन्दा बढी रकम एएनएचएसले लिएर आउने, मनाससमा उक्त संस्थाले संचालन गर्दै आएको स्कुल संचालनको लागि आवश्यकता र उपलब्धता हेरी NACC ले निःशुल्क नियमित कक्षा कोठा उपलब्ध गराउने लगायतका बूँदा सहितको समझदारी पत्रमा हस्ताक्षर भएको; अन्यसंघ संस्थाहरूसंग पनि सहकार्य, समन्वय, र साझेदारीका निम्ति समझदारी गरिने; भाषा, कला र संस्कृति सम्बन्धी कक्षा संचालन गर्न उपलब्धता र आवश्यकता हेरी अन्य संघ संस्थाहरूलाई पनि निःशुल्क कोठाहरू उपलब्ध गराउने नीति पारित गरिएको आदि जानकारी गराएका थिए ।

रेग्मीले अन्य सामुदायिक संस्थासंग समझदारी गरी सहकार्य, समन्वय, र साझेदारीमा समुदायको बृहत्तर हितका लागि सामुदायिक स्रोतको प्रभावकारी उपयोग र सामुदायिक एकता बलियो बनाउने दिशाको NACC को यो पहिलो ऐतिहासिक कदम भएको बताए। चन्द्र लामाले सवै स्वयंसेवक (Volunteer) हरुको प्रशंसा गर्दै खेलकूदको क्षेत्रमा पनि काम गर्न एनएसीसीलाई सुझाव दिए।।

विना खड्का लामाले सोही अवसरमा युवा तथा जुनियर मेम्बरशीप १५० भन्दा बढी रहेको र सय सम्बन्धीछुट्टै बैंक खाता खोली भैरहेको कामको प्रगति पेश गरेकी थिइन् ।

जमिन खरिद सम्बन्धी प्रकृया र कार्यसम्पादनको बारेमा प्रकाश पार्दै रियल्टर बासु सत्याल र राम मिश्रले आफूहरुले करीव चौँतीसवटा स्थानिय जग्गा जमिनहरुलाई सम्भावित लिष्टमा राखेर ईन्जिनियरिंग कमिटीको सहायतामा जमिनका विविध पक्षहरुको विश्लेषण गरी चारवटालाई शर्टलिष्टेट गरेको र त्यस मध्ये मनाससको जमिनलाई सवैभन्दा उपयुक्त ठहर्याएर निर्णयको लागि अन्तरिम कार्यसमिति र अन्तरिम बोर्ड अफ ट्रष्टीलाई सिफारिश गरेको जानकारी दिए ।उनीहरुले जमीन खरिद गर्दा रियलिटरलाई आउने लगभग ५१ हजार कमिसन एनएसीसीलाई नै सोझै हस्तान्तरण गरिने जानकारी पनि गराउनुभयो । उहॉहरुले फ्लोरबाट आएका प्रश्नहरुकोपनि उत्तर दिनु भएकोथियो ।

यस्तै जमिन खरिदको लागि छानिएका ३४ वटै जमिनहरूको ईन्जिनियरिंग पक्ष कस्तो छ, त्यसको नाप नक्सा र अन्य सामाजिक, भौगोलिक अवस्था कस्तो छ भनेर बुझ्नको लागि गठित ईन्जिनियरिंग समितिको तर्फबाट बोल्दै ठाकुर ढकालले आफूहरुले विविध जमिनहरु मध्ये विस्तृत अध्ययनको लागि छनोट भएका तीनवटा जग्गाहरुको तुलनात्मक विस्लेषण प्रस्तुत गरे ।

आर्थिक अवस्थाको बारेमा प्रतिवेदन मार्फत प्रष्ट पार्दै केशब बरालले अहिले सामुदायिक केन्द्रको बैंक खाताहरुमा १२ लाख भन्दाबढी नगद रकम मौज्दात रहेको तथा दाताहरुबाट प्रतिबद्धता जनाइएको झन्डै दश लाख डलर उठ्न बाँकी रहेको र उठ्ने क्रम पनि जारी रहेको जानकारी दिए ।

सभाको अन्तिममा सो समयसम्म बैठक कक्षमै संकलित गरिएको करीब ७०हजार डलरको विवरण पनि उनले प्रस्तुत गरेका थिए । विधान संसोधन समितिको तर्फबाट पुरू सुवेदी र टीका मैनालीले प्रस्तुत गरेका बुंदाहरुलाई उपस्थित समुदायले छलफल गर्नुका साथै आवश्यक सुझाव सहित सर्वसम्मत रुपमा पारित गरेकोथियो।

डा. मदन उप्रेतीले उक्त जमिन खरिद गर्दा हुन सक्ने सम्भावित उपलब्धिहरूको बारेमा प्रकाश पार्दै घरजग्गा खरिद गर्न बजेट पुगनपुगको अवस्था सम्बन्धी विवरण प्रस्तुत गर्नुकासाथै भोलि यसै गतिमा हामीले काम गर्दै जाने हो भने बाँकी रकम उठ्न पनि कुनै समस्या नहुने प्रतिवद्धता व्यक्त गरे ।

उनले ५० हजार डलर भवन खरिदको लागि धरौटी स्वरुप विक्रेतालाई दिइएको जानकारी गराउंदै भावी आर्थिक कार्यक्रमहरूको बारेमा पनि प्रकाश पारे । भवन खरीद पूरै रकम चुक्ता गरेर गरिने भएकोले संस्थालाई कुनैपनि थप ऋणभार नरहने र मर्मतसम्हार पछि संस्थाले भवनको सदुपयोग गरेर थप आय आर्जन समेत गर्न सक्ने जानकारी उनले दिएका थिए ।

प्रदीप ढकालले सदस्यहरुको संख्या, वर्गीकरण र उनीहरुबाट उठेको सहयोग रकम र उठ्न बॉकी रकमको बारेमा चार्ट सहित विवरण पेश गरेको सो कार्यक्रममा ददीराम ढुंगाना र पुरु सुवेदीले जमिन खरीद गर्ने वा नगर्ने विषयको मतदानको कार्यविधि सम्बन्धमा उपस्थित सदस्यहरुलाई जानकारी गराएका थिए । साथै उपस्थित सदस्यहरुको माग बमोजिम हलबाटै मतदान गर्ने वा नगर्ने मा मतदान भएको थियो र बहुमतले हलबाटै मतदान गर्ने निर्णय गरी सोही बमोजिम एजेण्डा फ्लोरमा प्रस्तुत हुंदा सर्वसम्मत रुपमा मनाससको जमीन खरिद गर्ने पक्षमा मतदान भएको थियो ।

गोविन्द मैनालीले धन्यवाद ज्ञापन गर्दै मनासस भवनले सबै नेपाली समुदायलाई एकजुट बनाएको र यसबाट सबैले लाभान्वित हुनुपर्ने विचार व्यक्त गरे । सभालाई तोकेको समयै शुरु गराउन र अन्त्य गराउन सुनिता सुवेदी र सुनिता खत्रीले हरियो, पहेलो र रातो कार्ड देखाउँदै  सफल रुपमा बक्ताहरुको समय ब्यवस्थापन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *