रेखा थापा ‘सुपरस्टार’ जस्तो लाग्छ: नव–अभिनेत्री अस्मिता

डिसी नेपाल
२ माघ २०७६ १२:४२

काठमाडौं। ‘दशैं आउँदाको भाइब्स आईरहेको छ। मुटुको चाल बढिरहेको छ’ –अस्मिता लामिछाने आफ्नो शीर्ष भूमिका रहेको पहिलो चलचित्र प्रदर्शनमा आउने दिन नजिकिँदाको अनुभव सुनाउँछिन्। उनले केही चलचित्रमा सानोतिनो भूमिका निर्वाह गरेकी छिन्। तर, शीर्ष भूमिकामा अभिनय गरेको पहिलो चलचित्र ‘१२ सत्ताइस’ भोलि अर्थात शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ।

केही दिनअघि डिसी नेपालको स्टुडियोमा आएकी अस्मिता यस चलचित्रलाई लिएर आशावादी देखिइन्। ‘एउटा कलाकारले हरेक चलचित्रबाट अपेक्षा राखेको हुन्छ। मैले नराख्ने कुरै भएन्’–उनले भनिन्। यद्यपी चलचित्र सफल/असफललाई उनी परीक्षासँग जोड्छिन्। भन्छिन् –‘आफूले राम्रो गर्ने हो। त्यसमा कि पास भइन्छ कि फेल।’ यस चलचित्रमा आफू लगायत सम्पूर्ण टिमले निकै मेहनत गरेको अस्मिताले बताइन्।

चलचित्रले गलत बाटोमा लागेका बेरोजगार युवाहरुको कथालाई उठान गरेको छ। ‘देशमा बेरोजगार युवाहरुको जमात छ। उहाँहरुमध्ये कतिपयले राम्रो काम गर्नुभएको छ, कतिपय नराम्रो काम गर्नुभएको छ। नराम्रो काम गर्ने युवाहरुको कथालाई ‘१२ सत्ताइस’मा राख्न खोजिएको छ’–चलचित्रबारे बताइन्।

जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा अस्मिताका अलावा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, सम्रान्त थापा, एभोन राज उप्रेती, भिष्म जोशी, अस्मिता खनाल, बिना कार्की लगायतका कलाकारहरुको अभिनय छ।

रेखा थापालाई हेरेर हुर्केकी हुँ

सानैदेखि पर्दामा देखिने सपना बोकेकी थिइन्,अस्मिता। कला क्षेत्रमा चिनेजानेको कोही थिएन। तर, आफै अभिनय यात्राको बाटो कोरिन्। उनले भनिन् –‘अहिलेसम्म जति गरेँ। आफ्नै क्षमताले गरेँ।’ म्युजिक भिडियोबाट करिअर सुरु गरेकी अस्मिताले अभिनेत्रीको रुपमा चलचित्र ‘रंगेली’मा अभिनय गरिन्। यद्यपि आन्तरिक कारणले यो चलचित्र प्रदर्शनमा आएन।

अस्मिता एउटा कलाकारले अवसर खोज्ने नभई सिर्जना गर्नुपर्ने बताउँछिन्। त्यसका लागि आवश्यक सीप सिक्नुपर्ने उनको बुझाइ छ। उनी आत्मविश्वासका साथ भन्छिन्, –‘म एउटा कलाकारले जे कुरा सिक्नुपर्छ। ती कुराहरु सिकेर आफू पूरा तयार भएर मात्र चलचित्रमा आएकी हुँ। कसैले अनुहार राम्रो छ भनेर आएको होइन।’

अस्मितालाई अभिनेतामा विपिन कार्की मनपर्छ, अभिनेत्रीमा रेखा थापा। भन्छिन्, ‘रेखा थापालाई हेरेर हुर्केकी हुँ। बच्चा हुँदा पछि गएर उहाँजस्तै बन्छु भन्ने सपना देख्थेँ। उहाँ एउटा ‘सुपरस्टार’ जस्तो लाग्छ।’ यद्यपि चलचित्रमा हरेक कलाकारहरुसँग काम गर्ने इच्छा रहेको अस्मिता सुनाउँछिन्।

तस्वीरः रमण मानन्धर/डिसी नेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *