अमेरिकामा च्यारिटीमार्फत २२ लाख दाङको स्वास्थ्य संस्थालाई

डिसी नेपाल
६ माघ २०७६ १०:५५

बोस्टन । हेल्थ फाउन्डेशन नेपालद्वारा बस्टन शहरमा गत जनवरी महिनाको पहिलो साता आयोजित एक सांगितिक कार्यक्रममा झन्डै २२ लाख नेपाली रुपैयाँ (२०,००० अमेरिकी डलर) सहयोग जुटेको छ।

कार्यक्रमको शुरुमा हेल्थ फाउन्डेशन नेपाल संचालक समितिका अध्यक्ष डा. अशोक राज देवकोटाले सबै सहभागीहरुलाई स्वागत गरेका थिए। कार्यक्रममा बस्टनस्थित नेपाली व्याण्ड तेजस्विज़ तथा कनेक्टिकटमा बसोबास गर्ने गायिका पुस्तका खड्काले सांगीतिक प्रस्तुति गरेका थिए।

हेल्थ फाउन्डेशन नेपालका सहसंस्थापक डा. श्रीधर पौडेलले फाउन्डेशनले दाङ जिल्लामा मानसिक स्वास्थ्य सेवा संचालन गरिरहेको र च्यारिटी  कार्यक्रमबाट उठेको रकम दाङ जिल्लामा एउटा एकीकृत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न खर्च गरिने जनाए। उनले सबै सहयोगदाताहरुलाई धन्यवाद पनि दिए।

नेपाल अमेरिका मेडिकल फाउन्डेशनले पनि सो परियोजनाका लागि २० हजार डलर सहयोग प्रदान गरेको छ।  यसै वर्ष भित्र केन्द्र स्थापना गरिसक्ने योजना रहेको पनि उनले बताए। कार्यक्रममा १०० जना भन्दा बढीको सहभागिता थियो।

सन् २०१३  मा अमेरिकामा स्थापित हेल्थ फाउन्डेशन नेपालले नेपालको ग्रामीण समुदायमा समुदायमा आधारित शिशु पोषण, वयस्क प्राथमिक स्वास्थ्य स्याहार, मातृ तथा शिशु स्वास्थ्य सेवाका साथै कम्प्युटर तथा स्वास्थ्य साक्षरता कार्यक्रम पनि संचालन गर्दै आएको छ।

फाउन्डेशनले  सन् २०१५ मा गएको विध्वम्शकारी भूकम्प पछि मिशन रिविल्ड नेपाल संगको सहकार्यमा  ३७ ओटा आवासीय भवनहरुको पुनर्निर्माण गरेको थियो । त्यस्तै स्थानीय निकायहरुसंगको सहकार्यमा एउटा हेल्थ पोस्ट र २ ओटा विद्यालयहरुको पुनर्निर्माण गरेको थियो ।

फाउन्डेशनले  लक्ष्मी प्रतिस्ठानसंगको सहकार्यमा चितवनको कान्दामा स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । त्यस्तै अमेरिकामा पढी रहेका नेपाली किशोरकिशोरीहरुले इन्टरनेटको माध्यमबाट चितवनस्थित चेपांग समुदायका बालबालिकाहरुको पठनपाठन तथा व्यक्तित्व विकासमा पनि सघाएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *