नेपाल पर्यटकका लागि अति सुरक्षित देश हो : मन्त्री भट्टराई

डिसी नेपाल
६ माघ २०७६ १७:४०

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताएका छन् । उनले पर्यटकलाई कुनै आपतविपत् परे सरकारले जुनसुकै बेला पनि उद्धार गर्ने उल्लेख गरे ।
नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो पत्रकार समूहले फोटो पुस्तक ‘नेपाल दर्शन २०२०’ सार्वजनिक गरेको छ । फोटो पत्रकार समूहले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी पुस्तक सार्वजनिक गरेको हो ।

“दश वर्ष जनयुद्धका बेलामा पनि कुनै पर्यटकलाई केही भएन, त्यसले पनि नेपाल पर्यटकका लागि सुरक्षित भन्ने देखाउँछ”, उनले भने, “नेपाल भ्रमण वर्षमा पनि कोही पर्यटक सङ्कित हुनुपर्दैन ।” उनले पर्यटकलाई आपतविपत्मा चाँडो सुरक्षा गर्न व्यवस्था मिलाइएको जानकारी गराए। उनले अन्नपूर्ण पदमार्गमा करीब दुई सय पर्यटकलाई सुरक्षित ठाउँमा स्थान्तरण गरिएको बताए ।

उनले नेपाल भ्रमण वर्षलाई केहीले असफल बनाउने प्रयास गरेको उल्लेख गर्दै भौतिक पूर्वाधारको काम गुणात्मक रुपले अगाडि बढेको बताए। उनले भ्रमण वर्षले सबै लक्ष्य पूरा गर्न नसक्ने भन्दै भ्रमण वर्षलाई आधार वर्षका रूपमा मानेर एक दशक नेपाल भ्रमण वर्ष मनाउने सरकारको तयारी रहेको धारणा राखे।

मन्त्री भट्टराईले पर्यटकहरुलाई नेपालको कुन ठाउँ घुम्न जाने भन्ने निर्णय लिन समेत पुस्तकले सहयोग पु¥याउने बताए । उनले भने ‘पुस्तकमा भएका फोटोहरुको सन्दरताबाट यसको व्यापकताबाट उहाँहरुले आफ्नो भ्रमणको क्षेत्रहरु छनौट गर्न सक्नुहुन्छ त्यसैले नेपाल भ्रमण वर्षलाई सफल बनाउन यो पुस्तकले महत्वप्रर्ण भूमिका खेल्छ ।’

मन्त्री भट्टराईले २०२० लाई आधार वर्ष मान्दै २०३० नेपाल भ्रमण वर्षको एक दशकको अभियान सञ्चालन गर्न लागिएकोले यो पुस्तकको महत्व झन बढी हुने बताए । उनले भने ‘हामी आउने वर्षको नीति, कार्यक्रम र बजेटमा एक दशकको नेपाल भ्रमण वर्षको अभियान घोषणा गर्न जाँदै छौं त्यस अभियानमा हाम्रा यी प्रकाशनहरुले पुस्तकहरुले नेपाललाई विश्व मानचित्रमा चिनाउनको निम्ति महत्वपूर्ण भूमिका खेल्नेछन् ।’

फोटो पुस्तक ‘नेपाल दर्शन २०२०’ मा सातै प्रदेशका फोटोपत्रकार तथा फोटोग्राफरहरुमार्फत लिइएका उत्कृष्ट फोटोहरु समावेस छन् । कार्यक्रममा उत्कृष्ट भएका फोटोपत्रकार तथा फोटोग्राफरहरुलाई पुरस्कृत समेत गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *