कानून व्यवसायी परिषद्को ‘पार्षद निर्वाचन माघमा

डिसी नेपाल
८ माघ २०७६ २१:०२

काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद्को यही माघ २५ गते हुन लागेको ‘पार्षद निर्वाचन’ मा सात प्रदेशबाट दुई/दुई गरी १४ जनाले उम्मेदवारी दिएका छन् । प्रत्येक प्रदेशबाट एक/एक जनाका पार्षदका लागि प्रदेश नं १ बाट देवेन्द्र कोइराला र प्रेमप्रसाद पोखरेल, प्रदेश नं २ बाट उमेशकुमार यादव र श्यामकुमार मिश्र, वाग्मती प्रदेशबाट डा चन्द्रकान्त ज्ञवाली र प्रा गुणनिधि न्यौपानेले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी, गण्डकी प्रदेशबाट मुकुन्दराज अर्याल र नारायणप्रसाद आचार्य, प्रदेश नं ५ बाट बाबुराम पाण्डे र सीताराम अग्रवाल, कर्णाली प्रदेशबाट दमनराज बम र रामबाबु बिसी र सुदूरपश्चिम प्रदेशबाट प्रकाशबहादुर पाण्डेय र खगेन्द्रराज जोशीको उम्मेवारी परेको छ । सात जना परिषद् सदस्यका लागि सो निर्वाचन हुन लागेको हो । कानून व्यवसायमा निरन्तर १० वर्ष काम गरेका कानून व्यवसायीले मात्र उम्मेदवारी दिन पाउने कानूनी व्यवस्था छ । ती पार्षदको कार्यकाल पाँच वर्षको हुनेछ ।

परिषद्का सचिव रामहरि काफ्लेका अनुसार परिषद् सदस्यका लागि प्रत्येक प्रदेशमा निर्वाचन हुन्छ । त्यही प्रदेशका वरिष्ठ अधिवक्ता र अधिवक्ताले मात्र मतदान गर्न पाउने कानूनी व्यवस्था छ । हाल देशभर २५ निर्वाचन केन्द्रबाट करीब १० हजार वरिष्ठ अधिवक्ता र अधिवक्ताले मतदान गर्न पाउनेछन् ।

परिषद् १३ जनाको हुनेछ । महान्यायाधिवक्ता अध्यक्ष नेपाल बार एशोसिएशनका अध्यक्ष परिषद्को उपाध्यक्ष सर्वोच्च रजिष्ट्रार, त्रिविको कानून सङ्कायको डीन, सात प्रदेशबाट एक/एक जना पार्षद् सदस्य गरी ७ जना बारले मनोनित गरेको २ गरी जम्मा १३ जना परिषद् रहने कानूनी व्यवस्था छ । परिषद्ले कानून व्यवसायीका लागि आवश्यक आचारसंहिता बनाई लागू गर्ने र कानून व्यवसायीको हकहित र संरक्षण गर्ने काम गर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *