उखु किसानहरुको अझै एक अर्व रुपैयाँ बाँकी
फाइल फाेटाे।
काठमाडौं। सरकारले उखु किसानहरुलाई चिनी मिलबाट भुक्तानी दिलाउन पहल गरेपनि अझै एक अर्व रुपैयाँ भन्दा बढी लिन बाँकी रहेको देखिएको छ। उद्योगीले आंशिक रकम मात्र फिर्ता गरेको र केही सम्पर्कमा नआएपछि किसानको धेरै रकम बक्यौता देखिएको हो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार हालसम्म हिमालय सुगर मिल्स, इन्दुशंकर चिनी उद्योग, ईष्टन सुगर मिल्स, भागेश्वर सुगर इन्डस्ट्रीले मात्र किसानको सबै रकम फिर्ता गरेका छन्।
यसबाहेक रिलायन्स सुगर, एभरेष्ट सुगर मिल्सले बैंक खाता नभएका किसानहरुको मात्र भुक्तानी दिन बाँकी रहेको बताएका छन्। यसमध्ये एभरेष्टले मात्र ७ करोड ९३ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ।
यसैगरी महालक्ष्मी सुगर्सले २१ करोड ४० लाख भुक्तानी दिनुपर्नेमा ११ करोड ५० लाख रुपैयाँ मात्र भुक्तानी गरेको छ। अन्नपूर्ण सुगर्सले ४२ करोडमध्ये ३ करोड मात्र भुक्तानी गरेको छ।
श्रीराम सुगर मिल्सले २६ करोड ७७ लाख भुक्तानीका लागि किसानसँग सम्झौता मात्र गरेको छ। मन्त्रालयले भुक्तानी सुरु गरेका उद्योगलाई आवश्यक सहयोग गर्ने तर, हालसम्म भुक्तानी सुरु नगरेका र सम्पर्कमै नआएकालाई भने कारवाही प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।
मन्त्रालयले अन्नपूर्ण, इन्दिरा र लुम्बीनी सुगर मिल्सको खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्रचार गर्नुका साथै आर्थिक कारोबार अनुसन्धानका लागि आन्तरिक राजस्व विभागमा समेत पत्रचार गर्ने निर्णय गरेको छ। अब यी उद्योगीहरुले भुक्तानी दिने प्रयोजनका लागि मात्र कारोबार गर्न पाउँछन्।
चिनी उद्योगीबाट पैसा नपाएपछि गत पुसमा किसानहरुले राजधानी केन्द्रित आन्दोलन गरेका थिए। आन्दोलनकारी किसानसँग सरकारले माघ ७ गतेभित्र भुक्तानी गर्ने सम्झौता गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment