गर्भवती महिलालाई अमेरिका प्रवेशमा कडाइ

डिसी नेपाल
१० माघ २०७६ १०:१८

वासिङ्टन । ट्रम्प प्रशासनले गर्भवती महिलालाई अमेरिका प्रवेशमा कडाइ गरेको छ । बच्चा जन्माउने बेलामा मात्र अमेरिका जाने र त्यहाँको अस्पतालमा बच्चा जन्माएर त्यही जन्म प्रमाणको आधारमा सन्तानलाई अमेरिकी नागरिकता दिलाउने प्रवृत्ति बढेपछि अमेरिकाले गर्भवतीलाई भिसा दिन कडाइ गरेको हो । अमेरिकाले बिहीबार नयाँ भिसा नियम सार्वजनिक गरेको छ ।

अब गर्भवतीलाई भिसा दिने वा नदिने निर्णय कन्सुलरको स्वविवेकका आधारमा हुनेछ । यदि कन्सुलरलाई भिसा आवेदन दिने गर्भवती महिला बच्चा जन्माउनकै लागि अमेरिका जान लागेको भन्ने लागेमा उनले भिसा आवेदन खारेज गर्न सक्नेछन् ।

अब बच्चा जन्माउनका लागि नभइ मेडिकल आवश्यकताले अमेरिका जान भन्दै आवेदन दिनेलाई उनीहरुले त्यसका लागि पैसा खर्च गर्न सक्छन् वा सक्दैनन् भनेर हेरिनेछ । त्यसमा उनीहरुको यातायात र अमेरिका बस्दाको खर्च गर्न सक्ने क्षमतालाई पनि हेरिनेछ । खर्च गर्न नसक्ने देखिएमा भिसा आवेदन अस्वीकृत हुनेछ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘जन्म पर्यटन’ प्रतिबन्ध गर्ने उद्देश्यलाई साकार बनाउने उद्देश्यसहित नयाँ भिसा नियम आएको हो । बच्चा जन्माउनकै लागि गर्भवती महिला अमेरिका प्रवेश गर्ने र जन्मका आधारमा पासपोर्ट माग्ने गरेको भन्दै ट्रम्पले उनीहरुको भिसालाई कडाइ गर्ने यसअघि नै बताउँदै आएका थिए ।

‘बर्थ टुरिजम’ अर्थात् ‘जन्म पर्यटन’ एजेन्सी सञ्चालकलाई किर्ते गरेको र कर छलेको आधारमा पक्राउ गरिएको केही घटना भए पनि अमेरिकामा बच्चा जन्माउन जानुलाई मौलिक रूपमा कानुनी अभ्यास मानिन्छ । र, भिसाका लागि आवेदन दिँदा महिलाहरुले सत्य नै बोल्ने गरेका छन् । उनीहरुले कन्सुलर समक्ष चिकित्सक र अस्पतालसाग गरिएका हस्ताक्षरयुक्त करार पनि देखाउने गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालयले बच्चालाई नागरिकता पाउने वातावरण बनाउनका लागि मात्रै अमेरिका प्रवेश गर्नु भनेको ‘बर्थ टुरिजम’ भएको आरोप लगाउँदै यो कार्य अवैधानिक भएको जिकिर गरेको छ । उसका अनुसार बिहीबार सार्वजनिक नयाँ नियम शुक्रबारबाटै कार्यान्वयनमा आउनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *