मुख्यमन्त्री कप प्रदेशस्तरीय फुटबल: त्रिवेणी, भीमाद र गैँडाकोट विजयी

डिसी नेपाल
१० माघ २०७६ २१:०६

कास्की । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको शुक्रबारको खेलमा लमजुङको त्रिवेणी युवा क्लब, तनहुँको भीमाद युवा क्लब र नवलपुरको गैँडाकोट खेलकूद विकास समिति विजयी भएका छन् ।

प्रदेश लिग कमिटीको आयोजनामा पोखरा–२७ भण्डारढीकमा रहेको फुटबल रङ्गशालामा चौथो दिनको पहिलो खेलमा लमजुङको त्रिवेणी क्लबले बौद्ध हिमालय क्लब गोरखालाई ७–१ को फराकिलो अन्तरले पाखा लगाएको छ । त्रिवेणीका नवराज गुरुङ तथा आशिक गुरुङले समान दुई÷दुई तथा उज्वल शाही, हरि गुरुङ र अष्मिन गुरुङले एक/एक गोल गरे । बौद्धका बिनु गुरुङले ५७ औँ मिनेटमा एक गोल फर्काए ।

त्यसैगरी भीमादले म्याग्दी जिल्ला खेलकूद विकास समितिलाई २–१ को नतिजामा पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । भीमादको जीतमा दुवै गोल विनोद घिमिरेले गरे । खेलको ४१ औँ र ७४ मिनेटमा उनले गोल गर्दै टोलीको जीत सुनिश्चित गरेका थिए । म्याग्दीका लागि दिवस छन्त्यालले गोल गरेका थिए

तेस्रो तथा अन्तिम खेलमा गँैडाकोटले बागलुङ जिल्ला फुटबल सङ्घलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । आशिष महतोले पहिलो हाफको ७ र ३१ औँ मिनेटमा गोल गर्दै अग्रता बनाए भने प्रविन गुरुङले ७३ औँ मिनेटमा अर्को गोल थपे। खेलको १८ औँ मिनेटमा गैँडाकोटले आत्मघाती गोल खाएको थियो । बाग्लुङका लागि प्रमेश थापाले ७६ औँ मिनेटमा सान्त्वना गोल गरे ।

प्रतियोगितामा गण्डकी प्रदेशका नौ जिल्लाका लिग च्याम्पियन क्लबको सहभागिता छ । सहभागी क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा समूहका विजेता तथा उपविजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनल १३ तथा प्रतियोगिताको फाइनल खेल १४ गते सञ्चालन हुने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा विजेतालाई रु पाँच लाख तथा उपविजेतालाई रु तीन लाख पुरस्कार प्रदान गरिने अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *