कथाः कञ्चनजंघाको काखमा मैनासंग सम्वाद

‘हे, मिस्टर ह्यारी !,’

‘मिस्टर हुलियो ! तिमी ? छुट्टीमा थियौ ?’

‘हो मैंले योपटक मिठोसंग छुट्टी मनाएँ। म तिमीलाई आफ्नो अनुभव बाड्न चाहान्छु । टी ब्रेक सँगै पारौं न है ।’

तिमी पाकिस्तान कि इण्डियाको हैन ? तिमी बुझ्न सक्छौ मेरो अनुभव । तिमीलाई पनि मजा आउला ।’

‘त्यतैतिर हो ।’ ह्यारीले छोटो बोल्यो ।

‘म यसपटक कञ्चनजंघाको काखामा पुगें । नेपालको पूर्वी भाग हो यो । बडो रमणीय रहेछ । मेरा ऑखा, मेरो हृदय र मेरो मस्तिस्क पवित्र भयो । मैंले आफूलाई संसारको सबैभन्दा सुखी र उन्नत मानुष ठानेको छु—त्यहाँ पुगेर आएपछि ।’

‘अनि ?’—जवर्जस्ती सुन्नुपरेको कथाका कारण निधार खुम्च्याइरहेको ह्यारीले निघार फुकायो, आँखीभूँई तन्कायो, कञ्चनजंघाको कुरा सुन्ने वित्तिकै ।

‘एक मनले लाग्छ त्यो ठाउँको अनुभव एकपटक सबैले गर्नै पर्छ । अवश्य गरुन् र आनन्दित होऊन् । तर अर्को मनले भन्छ— मवाहेक अरु कसैले त्यहांको आनन्दभोग लिन नसकून । मिस्टर ह्यारी कस्तो लाग्यो मेरो सोच ?’

‘यी त आँखा र मनका कुरा भए, यसलाई निष्कर्ष भने पनि भो नि ! अव यात्रा र परिवेशको कुरा पनि होला नि !गाउँघरको कुरा पनि होला ! त्यो पनि सुनौं न !’

हरिले यतिञ्जेल त आफ्नै शिर ठाडो हुने र गौरव गर्ने कुरा सुन्यो । त्यसैले ऊ प्रफुल्ल थियो । सँगै कुनै अवाञ्छित, अप्रिय कुरा सुन्नुपर्छ कि भनेर ऊ भित्रभित्रै कातर पनि भयो, कतै हीनतावोध लिनुपर्ने प्रसंग कोट्याएर उदाङ्ग पो पार्ने हो कि ? भनेर ऊ अन्तर्मुखी भयो ।

‘मिस्टर ह्यारी, बस छोडेपछि म आफ्नो झोला बोकेर पैदल लागें । त्यस्तो बाटो मैंले जीवनमा हिडेको पनि थिइनँ। रमाइलै लाग्यो, उकाली ओराली, नागबेली बाटो । तर बाटो बाटोमा तरुनी हुन आँटेका छोरीहरु आएर भन्थे— सर म पुर्याइदिन्छु । म बोकिदिन्छु तपाईको झोला । म बाटो देखाइदिन्छु । सर, होटलतिर जाने हो ?’

‘हो, होटल जाने हो । होटल नपाए कहाँ जाने ? कुनै उपाय छ ?’

‘छ नि, सिधै पेइङ गेष्ट भएर पनि बस्न सकिन्छ यहाँ। तर पहिलो पटक आउनु भएको हो भने होटलमा पुग्नु बेस् भनी एउटी किशोरीले । राम्रै सल्लाह थियो उसको ।’

सानो छाप्रो, त्यो पनि फुसको । हावाले उडाउला भनेर ठाउँ ठाउँमा भाटा कसेर बाँधेको । मिनेट मिनेटमा बढ्ने चीसो । कफी, अण्डा, उसिनेको आलु, पीरो अचार—मुला, खोर्सानी, तामा र सिद्राको । जस्ट नास्ता पानी—तोङ्मा कोदोको । त्यो झुप्रोमा खाने बस्ने व्यबस्था होलाजस्तो थिएन । मन त्यसै भरङ्ग थियो । जीवन रहने हो कि होइन ।

सूर्य बिम्वले काला पहाडको थाप्लोमा टेक्नै लागेको थियो । लाग्दथ्यो— प्राण संकट पर्ने भो अव । समय यति चाँडो सर्थ्यो मानौं विकल्प सोच्ने स्थिति नै रहेन ।

झुप्रो होटलमा बत्ती बल्यो । अब त्यसैको भरमा मन थामियो । एउटी साहुनी हिंडी । त्यसको ठाउंमा अर्की आई । ठानें—स्टाफ फेरिने चलन रहेछ । उसले पाहुनाको मान—सम्मानमा देखाउनु पर्ने औपचारिकता पूरा गरेर मसँग संवाद गर्न फुर्सत निकाली—

‘सर एक्लै हुनुहुन्छ कि ?’

‘जी, ऐलेसम्म ।’

‘उतातिरको जस्तो होटेल—मोटेल यहां छैनन् । घरेलु पाराकै हुन्छ यहांको व्यबस्था । तर कुनै कुराको कमी हुंदैन । राम्रै अनुभव गर्नु होला ।’

एकछिन उसले मलाई प्रफुल्ल आँखाले हेरी र निकै बेरपछि फोन गरी । तीन—चारपटक गरी, शायद भिन्न भिन्न ठाउँमा । म उनीहरुको भाषा बुझ्दिन थे—खास खास शब्दहरु बाहेक । तर, साहुनीहरु मसंग अंग्रेजीमा बोल्ने कोसिस गर्थे ।

एउटी किशोरी आई । साहुनीले के निर्देशन दिई क्यार । उसले मेरो झोला टिपी । मलाई एउटा टर्च—लाइट दिई, उसले अर्को बाली ।

बाटो लागौं—उसले भनी ।’

ऊ अंग्रेजी राम्रे बोल्थी । कुनै कुनै कुरा भन्न र बुझ्न मलाई असजिलो भएन । हाम्रोबीच आत्मीय संबाद चल्यो । उसंग हिड्दा बाटो लामो हुंदै जाओस्, गन्तब्य टाढा हुंदै जाओस भन्ने लाग्थ्यो ।’

‘अनि ?’ हरिले अरु कुरा सुन्ने रहर गर्यो ।

हुलियाले भन्यो— ‘मलाई उसको आत्मविश्वास र दृढताले चकित पार्यो । नाम मैंले विर्सें अहिले, बेला—बेला राम्रै सम्झन्छु, फेरि विर्सन्छु।’

‘कि किराती होलान् कि शेर्पा होलान् । त्यो शीत प्रदेशमा कि तामाङ होलान् । हिजोआज त आफ्नो पहिचान छोप्न जनजाति भन्न मन पारउंछन् क्यार—आफ्नो मूल छोडेर । एक दुई पुस्तापछि त हिजो को थियौं भन्ने कुरा पनि विर्सेर जनजाति मात्र भन्लान् खै ।’ हरिले भित्रभित्रै हैरानी अनुभाव गर्यो । ऊ कसैलाई जनजाति भन्न चाहंदैनथ्यो ।

२०३० पछि जन्मेको नयाँ जाति ठान्थ्यो र आफ्नो सही स्वत्व(पहिचान)बाट टाढा हुंदै गएको मान्थ्यो ।

‘र म एउटा व्यबहार चाहिं म कहिले बिर्सन सक्तिन“ । त्यसका पनि भिन्नभिन्न तस्वीर छन् ।’

‘जस्तो ?’

बाजेले बनाएको तीनतले घरको तेस्रो तलामा मेरो कोठा निश्चित भयो । आधुनिक शैलीको वाथरुम—सुविधा सम्पन्न । सुखद ओछ्यान । मैनाले विस्तारै एकएक तस्वीर थप्दै —बनाउँदै गई—‘आगो ताप्ने भए तल जाऊँ ॔। मूढाको आगो छ । तातो पानीमा डुब्ने भए पनि त्यसको व्यबस्था छ । तपाईंलाई प्राकृतिकपनको न्यानो होस् ओच्छानमा भन्ने चाहना भए त्यसको पनि व्यबस्था हुनसक्छ । सरलाई के—कस्तो कम्फोर्ट लाग्छ सोहीअनुसार यहाँ व्यबस्था मिलाउनुपर्छ ।’

मैंले मुस्कुराएर सोधें—‘सबै कुरा अनुभव गर्न मिल्दैन ?’

‘मिल्छ तर एकै रातमा सबै कुराको परिभोग त्यति संगतिपूर्ण हुन सक्दैन । हेल्दी मानिंदैन’—उसले सम्झाउँदै भनी ।

‘तिम्रो के सल्लाह छ यसमा ? मलाई त त्यति अनुभव छैन ।’

ऊ भन्दै गई—‘घुम्न आउनु भएको हो, अनुभव गरेरै जानुहोस् । आगो सँगै ताप्न सक्छौं । तातोपानीको कुण्डमा पनि सँगै डुब्न सक्छौं । तर, ओछ्यानको न्यानोपनबारे चाहिं सोच्नैपर्छ किनभने समय र औचित्य हेर्नपर्छ ।

पहिले तातो पानीमा डुब्न जाऊँ, त्योभन्दा पहिले केही खाऊँ, मलाई पनि भोक लाग्या छ । आउनुहोस् ।’

हुलियोले दृश्य अघि सार्यो । उसले थप्यो,‘तङ्वा, मुलाको अचार, आम्लेट, पोलेको आलु र फापरको रोटी आज पनि सम्झन्छु ।’

‘के लाग्छ तिमीलाई मैना गलत थी ?’

‘हैन,मैले उसलाई समग्ररुपले हेरें । त्यस्ता छोरीहरु भएको राष्ट्रले किन उन्नति गर्न सकेन ? म जान्दिनँ । तर, ऊ विल्कुल सही थिई ।’

‘छोटो यात्रामा के बुझ्यौ, के पढ्यौ उसलाई तिमीले ? पढेरै नसकिने ग्रन्थ हो नारी । कसरी भन्न सक्छौ समग्ररुपले पढें भनेर ?’

‘हेर ह्यारी, ऊ बाख्रा पाल्थी, दुईटा गाई थिए । दुई चारवटा कुखुरा पनि थिए । स्याल र चीलबाट पनि जोगाउनै पर्थ्यो। घर कम्पाउण्ड र कोठेवारी पनि पर्याप्त थियो । शायद कतै खेती पनि हुंदो हो । भाइहरुलाई फर्पिङको बोर्डिङ स्कूलमा पढाएर आफूचाहिं स्थानीय स्कूलमा पढ्दी रहिछ । प्लस टु गरेर फुर्सतमा थिई म त्यहाँ पुग्दा । भनौं त्याग र भावनामा ऊ धेरै माथि छ ।’

‘मौसम कस्तो थियो त्यसबेला ?’

‘नसोध, म बडो भाग्यमानी थिएँ। जाडो भएर पनि सफा आकाश । तेस्रो तलाबाट झ्याल खोलेर स्वच्छ कञ्चन्जंघा हेर्थे सधैं उज्यालो घाममा । जीवन सफल ठानेको छु । बारीमा बनाएका स—साना फुसका छाप्रामा पनि रात विताएको छु । त्यहाँको सुख या आनन्द भन्नु नै स्वतन्त्रता र निर्भय हो । किन्तु आततायी युगले जुन डर त्यहाँ भरेर गयो, दुनियाँमा कतै नहोला ।

मैनाका बाबु आमा, दाजु भाउजुलाई एकै चिहान पारेछन् । दिदीलाई चाहिं वेपत्ता पारेछन् । शैतान होइन र कुमार्गी ।’

‘कुनै विशेष टिप्पणी ?’

‘ त्यहांको भूगोल अनमोल, ऊर्वर र अत्यन्त सुन्दर छ, अकृतृम—मनोहर । त्यस देशको प्राकृतिक सौन्दर्यका अगाडि दुनियाँका मुलुक पराजित छन् । मानव निर्मित कुराले उछिनेका होलान् सहजताले होइन । भौगोलिक स्वरुपको विविधता नै त्यहांको सम्पदा र आकर्षण हो । भन्दछन् भू—गर्भमा पनि त्यो मुलुक धनी छ , किन्तु त्यहाँको राजनीति खराव जीवका हातमा परेकोले आज त्यहाँको जीवन दुर्दशा भोग्न विवश भएको हो । जब अर्काको आँगनमा तालिम लिएर आततायी तत्व त्यो देशमा पस्यो—वस त्यहाँ विप्लव शुरु भयो । जनता मारे, राजा मारे, राजसंस्था पल्टाए, उद्योग र त्यसले चर्चेको भूमि बेचे । संविधान फेरेर राष्ट्रको पूँजी लुटे । सरकार । राज्यका प्रमुख शक्ति केन्द्रलाई कुल्चे । यहाँसम्म कि देशको भूगोलमा अर्काले अधिकार जमाउँदा पनि हेरेर बसे । जनताको आवाज दवाए । चर्को बोल्नेलाई कुटे, मारे, थुने ।’

‘अनि ?’

‘बस् अर्को देशको झण्डा गाडिन बाँकी छ ।’

‘यी सबै कुरा कसले पढायो तिमीलाई ?’

‘खुल्ला कितावजस्तै छ यो कुरा । अझ भनौं युवा जनशक्ति विदेश पठाउने र विदेशीलाई भित्र्याउने त नेताहरुको योजना नै हो रे । त्यस्तो गरेमात्र सत्तामा पुग्ने र अडिने शक्ति मिल्छ रे ।’

‘कहीं यो कुरा होटलवालीले त तिमीलाई भनेकी होइन ?’

‘उसले पनि हो । मैंले कति कुरा त टिपेको पनि छु । जति धेरै मान्छे मार्यो, उति हाईहाई हुने रे । अपराध गर्ने र छोप्ने राज्यशक्ति र व्यक्ति नै महान् रे, गजब होइन ? मलाई त सुन्दा पनि घृणा लाग्छ छि । कस्तो गन्हाएका छन् त्यहाँका नेता । विदेशीको भत्ता खाएर आफ्नो देश विगार्छन् ।’

फेरि थप्यो, ‘मिस्टर ह्यारी तिमी त त्यहाँको हैनौं नि हकि ?’

यसपटक हरि नराम्रोसँग झस्कियो ।

ब्रेक सकियो ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position