तालिकाको शीर्षमा रहँदै मेलबर्न प्लेअफमा, सन्दिप लामिछानेले भने प्लेअफका खेल नखेल्ने

डिसी नेपाल
१२ माघ २०७६ ११:०३

काठमाडौं। बिग बाश लिगमा नेपाली खेलाडी आबद्ध टिम मेलबर्न स्टार्स अंक तालिकाको शीर्षमा रहँदै प्लेअफमा पुगेको छ । तर, स्टार्सले प्लेअफका खेल नेपाली लेगस्पिनर सन्दिप लामिछाने बिना नै खेल्नुपर्नेछ । साथमा पाकिस्तानी बलर हरिश रउफ पनि उपलब्ध हुने छैनन् । रउफ आफ्नो देशको राष्ट्रिय टिमबाट खेल्नको लागि स्वदेश फर्किसकेका छन् भने लामिछाने पनि बाँकी खेल छाडेर राष्ट्रिय टिमका लागि खेल्न स्वदेश फर्कने इएसपिएनक्रिकइन्फोले लेखेको छ

बीबीएल सुरु हुनुभन्दा अघि लामिछाने पूरै प्रतियोगिताभर उपलब्ध हुने अपेक्षा गरिएको थियो तर गत हप्ता मात्र उनले मेलबर्न स्टार्सलाई आफू प्लेअफका खेलमा उपलब्ध हुन नसक्ने सूचना दिएका थिए । उनी काठमाडौंको किर्तिपुर मैदानमा हुने नेपाल, ओमन र अमेरिकाबीचको त्रिदेशीय एकदिवसीय सिरिज खेल्नका लागि नेपाल फर्कदैछन् । यो सिरिज २०२३ को विश्वकपसम्म पुग्ने बाटो हो ।

मेलबर्न स्टार्सको बलिङका लागि लामिछानेलाई गुमाउनु ठूलो धक्का हो । हिजो भएको ब्रिस्बेन हीटविरुद्धको खेलमा मात्र उनले ४ ओभरमा मात्रै १६ रन दिएर १ विकेट लिएका थिए र स्टार्सले बीबीएलमा अन्य कुनै पनि टिमले भन्दा धेरै स्पिन बलिङ प्रयोग गरिरहेको छ । अहिलेसम्म स्टार्सले स्पिन बलिङ प्रयोग गर्नेमा दोस्रो स्थानमा रहेको मेलबर्न रेनेगेड्सले भन्दा २५ ओभर बढी स्पिन बलिङ गरेको छ र स्टार्सका स्पिनरहरुले रेनेगेड्सका स्पिनरले भन्दा २० विकेट बढी लिएका छन् । तर, लामिछानेको अनुपस्थितिले स्टार्सले बलिङमा पुनर्विचार गर्नुपर्ने स्थिति आएको छ ।

‘यो प्रतियोगितामा स्पिन बलिङ हाम्रो राम्रो साथी बन्नेछ भन्ने मलाई पहिलेदेखि नै विश्वास थियो’ स्टार्सका प्रशिक्षक डेभिड हस्सीले भनेका छन् ‘यो धेरै राम्रो रणनीति हो र अब हामीले यसमा केही पुनर्विचार गर्नुपर्नेछ । मैले स्वीकार गर्नुपर्छ कि उनले (लामिछानेले) जाँदैछु भन्दा मैले यसलाई राम्रोसँग व्यवस्थापन गर्न सकिन । उनी राम्रो व्यक्ति, राम्रो खेलाडी र यो प्रतियोगितामा हाम्रो योजनाको ठूलो हिस्सा हुन् ।’

हस्सीले अगाडि भने ‘तर, जब तपाइँलाई अन्तर्राष्ट्रिय खेलको लागि बोलाइन्छ, तपाइँले खुसी मान्नुपर्छ । यो भनेको आफ्नो राम्रो खेलाडीलाई गुमाउनुपर्दा केही दिनको गुनासो मात्र हो । म उनको लागि धेरै खुसी छु ।’ स्टार्सले हिजो पाकिस्तानी पेसर दिलबर हुसैनलाई प्लेइङ ११ मा राखेर उत्रिएको थियो तर यसले टिमलाई नै ब्याकफायर गर्यो । उनले आफ्नो ४ ओभरमा ५६ रन दिए । यद्यपि हस्सी उनलाई रउफ फर्किएमा पनि लामिछानेको विकल्पको रुपमा टिममा राख्ने मनस्थितिमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *