सभामुखमा सापकोटा निर्वाचितबारे नेताहरु के भन्छन्?

डिसी नेपाल
१२ माघ २०७६ १८:४१

काठमाडौं । सभामुखमा अग्नि प्रसाद सापकोटा निर्विरोध निर्वाचित भएपछि विभिन्न राजनीतिक दलका नेताहरुले उनलाई सफल कार्यकालको शुभकामना दिएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले निष्पक्ष रुपमा सदन सञ्चालन गर्ने चुनौती उनीसामु रहेको बताए । सापकोटाले चाहेको खण्डमा निष्पक्ष रुपमा सदन सञ्चालन हुने उल्लेख गर्दै भट्टराईले लामो समय शिक्षण पेशमा रहेका सापकोटा बौद्धिक व्यक्तित्व भएको बताए ।

जनयुद्धमा समेत सँगै काम गरेको स्मरण गर्दै भट्टराईले लगनशिल भएर काम गर्ने सापकोटा क्षमता प्रति आफु जानकार रहेको बता । जनयुद्धमा परिवारले निकै त्याग र बलिदान गरेकाले पनि सभामुखका लागि सापकोटा उपयुक्त पात्र भएको भट्टराईको भनाई छ । ‘‘निष्पक्ष रुपमा सभालाई कसरी अगाडी बढाउनुहुन्छ भन्ने मुख्य चुनौती हो । उहाँले चाहानुभयो भने सक्नुहुन्छ । उहाँ बौद्धिक व्यक्तित्व नि हो । शिक्षकका रुपमा लामो समय काम गर्नुभयो । जनयुद्धमा लगनशिल भएर काम गर्नुभयो । उहाँको पार्टीले निकै त्याग र बलिदान पनि गरेको छ । त्यस अर्थमा उहाँ सभामुखका लागि उपयुक्त पात्र हुनुहुन्छ’’, भट्टराईले भने ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले सापकोटा सबैले आश र विश्वास गरेका व्यक्ति भएको बताउँदै कुशलतापूर्वक आफ्नो जिम्मेवारी बहन गर्नेमा विश्वस्त रहेको बताए । प्रतिपक्षी दलका केही आशंकाहरु रहेकामा पदमा रहँदा सापकोटाले ती आशंका र सामाजिक संजाल तथा अन्य क्षेत्रबाट भइरहेका आलोचनाहरुका विषयमा ध्यान दिएर संसद अगाडी बढाउनुपर्ने नेपालले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले नेताहरुमा आलोचना सहने बानी नरहेको बताउदै सापकोटालाई आफ्नो योग्यता र क्षमता पुष्टि गर्ने समय आएको र यसको सदुपयोग गर्न आग्रह गरे । ‘‘सबैले आश गरेका छन् । विश्वास गरेका छन् । यो जिम्मेवारी उहाँले कुशलताका साथ बहन गर्नुहुनेछ । प्रतिपक्षका केही आशंका छन् । तीन आशंका पनि उहाँले पदिय जिम्मेवारी सम्हाल्ने क्रममा नै ध्यानमा राख्नुहुनेछ । र समाजमा देखिएका सामाजिक सञ्जालमा देखिएका कुराहरुलाई उहाँले ध्यान दिनुहुनेछ । हाम्रो बानी आलोचना नसहने छ । त्यो कुरामा उहाँले ध्यान पु¥याउनुपर्छ । आफनो योग्यता, क्षमतालाई पुष्टि गर्ने काम गर्नुहुनेछ भन्ने विश्वास छ’’, नेता नेपालले भने ।

नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनालले सभामुख चयन भएपछि संसदमा नयाँ विधेयक पारित हुने र संविधान राम्ररी कार्यान्वयनको दिशातिर जाने बताए । तीन दशकसम्म शिक्षण पेशा अंगाल्नुभएका व्यक्ति सभामुखमा निर्वाचित भएको बताउदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता खनालले ३ पटक संसद, २ पटक मन्त्री बनिसकेको व्यक्तिले सभामुख राम्ररी चलाउन सक्ने बताए । ‘‘संविधान बमोजिम, ऐन कानुन बमोजिम उहाँ जसरी निर्वाचित भएर आउनुभयो । सांसद हुनुभयो । सांसद हुने योग्यता नै सभामुख हुने योग्यता हो । यसमाथि तीन दशक शिक्षक भएर आउनुभयो । तीन पटक निर्वाचित भएर आउनुभयो । २ पटक मन्त्री हुनुभएको छ । यति लामो अनुभव भएको मान्छेले पनि सभामुख चलाउन सकेन भने कसले चलाउँछ’’, नेता खनालले भने ।

प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संसदको नेता सर्वसम्मत हुनु राम्रो भएको बताए । संसद मात्रै नभएर सबैतिर यसरी नै सहमति जुट्दा राम्रो हुने उनको भनाई छ । सभामुख कुनै एक पार्टीको प्रतिनिधि नभएर संसदको प्रतिनिधि भएर काम गर्नुपर्ने सुझाव उनले दिए । ‘‘सभामुख भएपछि कुनै एक पार्टीको मात्रै प्रतिनिधि नभएर संसदकै प्रतिनिधिको रुपमा गाम्भिरयताको रुपमा निष्पक्षता साथ निर्भिकताका समथ भूमिका खेल्लुपर्छ भन्ने आश लिएका छौ’’, उनले भने । महतोले उपसभामुखका विषयमा सत्तारुद दलसँग कुनै सहमति अहिलेसम्म नभएको बताए । सत्तारुढ दलसँग अहिले कुनै सहमति र कुराकानी नै नभएको दावी गर्दै महतोले नेकपाको बहुमत रहेको र उसैले चाहेको पार्टीबाट उपसभामुख हुने बताए ।

प्रतिपक्षी दल कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले सभामुख चयन भएपछि ठीक ढंगले संसद सुचारु हुनेमा खुसी व्यक्त गरे । सभामुखको पद तठस्थ रहेको र सत्तापक्षको सरकार भएपनि संसद प्रतिपक्षी दलको हुन्छ भन्ने विषयलाई सापकोटाले बुझ्ने अपेक्षा आफ्नो रहेको बताए । बडुले प्रतिपक्षी दललाई जनताका समस्या राख्न दिने र सरकारलाई संसदप्रति उत्तरदायि बनाउने काममा सहयोग गर्ने अपेक्षा आफ्नो दलले दिएको बताएउ । ‘‘सभामुख पद तठस्थ रहेर अझ बढी सत्तापक्षको सरकार हुन्छ भने प्रतिपक्षको संसद हुन्छ भन्ने विषयलाई उहाँले बुझ्नुहुन्छ भन्ने अपेक्षा छ । प्रतिपक्ष दललाई जनताका समस्या राख्न दिने र सरकारलाई संसदप्रति उत्तरदायी बनाउने कामममा सहयोग हुने अपेक्षा लिएका छौँ’’, उनले भने ।

हिउँदे अधिवेशन सुरु भएको लामो समयपछि प्रतिनिधिसभाले सभामुख पाएको छ । सत्तारुढ दलबाट सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *