एनएनआइपीए स्पोर्ट्स अवार्ड फागुन पहिलो साता

डिसी नेपाल
१२ माघ २०७६ २०:५२

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपीए)ले आगामी फागुन पहिलो साता ‘एनएनआइपीए स्पोर्ट्स अवार्ड’ आयोजना गर्ने भएको छ । फागुन ६ गते उक्त अवार्ड कार्यक्रम गर्ने सङ्घले आईतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

कार्यक्रममा २८ खेलका उत्कृष्ट खेलाडीलाई ‘एनएनआइपीए वर्ष उत्कृष्ट खेलाडी’ सम्मान गर्ने सङ्घका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । सङ्घले गत वर्ष इन्डोनेशियामा सम्पन्न १८औँ एशियाली खेलकूदमा २८ खेलमा सहभागी नेपाली खेलाडीको खेल प्रदर्शनलाई आधार बनाएर खेलाडी छनोट गर्नेछ । “सङ्घले २८ खेलका एक÷एक उत्कृष्ट खेलाडीलाई सम्मान गर्नेछ”, अध्यक्ष श्रेष्ठले भने ।

भलिबल, फुटबल, बक्सिङ, सुटिङ, पौडी, कराँते, जुडो, उसु, कबड्डी, आर्चरी, एथलेटिक्स, भारोत्तोलन, टेबल टेनिस, प्याराग्लाइडिङ, लन टेनिस, फेन्सिङ, स्क्वास, सेपाताक्रो, बास्केटबल, तेक्वान्दो, ब्याडमिन्टन, ट्रायथलन, गल्फ, कुस्ती, साइक्लिङ, पोर्ट्स क्लाइम्बिङ, पेन्कक सिलात, कुराश र रोलर स्पोर्ट्सका एक/एक खेलाडीलाई पुरस्कृत गरिनेछ । उनिहरुले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

“यस वर्षदेखि महिला र पुरुष एक/क खेलाडीलाई उत्कृष्ट खेलाडीको पुरस्कार प्रदान गर्दैछौँ”, अध्यक्ष श्रेष्ठले भने । सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही रु एक लाख पुरस्कार प्रदान गरिनेछ । उक्त अवार्ड कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय नेपाली धावक गजराज जोशीको नाममा स्थापित ‘गजराज आदर्श खेलाडी’ पुरस्कारबाट एक खेलाडीलाई रु ३५ हजारबाट पुरस्कृत गरिने उनले बताए ।

“यस वर्ष पनि एक खेल पत्रकारलाई एनएनआईपीए पत्रकारिता पुरस्कारबाट सम्मानित गर्दैछौँ”, अध्यक्ष श्रेष्ठले भने । पुरस्कारको राशि रु २५ हजार रहेको छ । यसपटक पारा खेलकुदका एक उत्कृष्ट खेलाडीलाई समेत सम्मान गर्ने सङ्घले जनाएको छ । कार्यक्रममा सबै विधाका खेलाडीलाई समेट्ने प्रयास गरिएको श्रेष्ठको भनाइ छ । सो अवार्ड कार्यक्रमको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *