एनआरएनएका महासचिव शर्मा भन्छन्– ‘विदेशमा बस्ने सबै नेपालीलाई समेट्ने छौं’

डिसी नेपाल
१३ माघ २०७६ १९:१२

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले आफूहरू सुध्रिने प्रण गरेका छन् । डिसी नेपालको साक्षात्कारमा उनले एनआरएनएको छवी सुधारको विकल्प नभएको भन्दै सुध्रिएर विदेशमा बस्ने आम नेपालीलाई एनआरएनए मेरो हो भन्ने अपनत्व महसुस गराउने बाचा गरेका हुन् ।

उनले अहिले एनआरएनएले केही परिवर्तन गर्नैपर्ने परिस्थिति आएकाले दुई वर्षे कार्यकालमा संघलाई नयाँ दिशातर्फ अघि लैजाने बताए । महासचिव पदमा रहेर काम गर्दा कस्तो हुँदो रहेछ भन्ने जिज्ञासामा डा. शर्माले भने– ‘म एनआरएनएमा महासचिव नै नभए पनि यसअघि एनआरएनएका विभिन्न अभियानमा सक्रिय थिएँ। अहिले महासचिव हुँदा जिम्मेवारी बढी महसुस भएको छ । मेरो ध्यान महासचिव हुनुमा भन्दा पनि यहाँबाट निस्केर जाँदा कसरी जाने भन्नेमा छ ।’ उनले थपे– अहिलेको टिममा सबै एनआरएनएमा केही गरौं भन्ने उद्देश्य बोकेका साथीहरू हुनुहुन्छ । सबै साथीहरुको साथ पाएमा संस्था नयाँ दिशातर्फ अघि बढ्छ।’

शर्माले आफ्नो दुई वर्षे कार्यकालमा कुनै परिवर्तन नआए अर्को पटक नेतृत्वको चुनावी मैदानमा आफू नउत्रने प्रतिबद्धतासमेत गरेका छन् । ‘यो दुईवर्षे कार्यकालमा केही न केही चेन्ज पक्का देखिन्छ, यदि परिवर्तन ल्याउन सकिएन भने अर्का पटक म चुनावी मैदानमा हुने छैन ।’ उनले भने ।

केही दिनअघि संघको पोखरामा बसेको प्रत्यक्ष बैठकले दुई वर्षे कार्यकालको टाइमलाइनसहित रोड म्याप तयार गरेको उनको भनाइ छ । ‘संस्था अहिले नयाँ संरचनामा गएको छ । अहिले हाम्रो विभागीय संरचनामा संघमा ५ विभाग रहेका छन् । जसमा ५ उपाध्यक्षलाई विभिन्न ५ विभागको जिम्मेवारी दिएको छ । ’ उनले भने ।

आउँदा दिनमा एनआरएनएको निर्वाचनलाई कम खर्चिलो बनाउन सामान्य तरिकाले अपनाउने, निर्वाचन र विश्व सम्मेलन एकै पटक नर्गने, संस्थालाई दीगो बनाउने, सबल, बहुआयामिक, स्मार्ट, परिणाममुखी, दीगो, उत्तरदायी, पारदर्शी र साझा एनआरएन बनाउन अहिलेको कार्यसमिति योजनाबद्ध ढंगले लागेको महासचिव डा. शर्माको भनाइ थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *