विदाइ (कथा)

Royalty-Free Stock Photography by Rubberball.com


सधैँ झै हतार हतार काम गर्ने ठाउँमा पुगेँ । काममा आज अलि १५ मिनेट ढिला पुगे म । मैंले हास्दै good morning, sorry I am late today भन्दै आफ्नो लञ्च रुममा पुगेँ अनि आफ्नो लञ्चलाई फ्रीजमा राखेर बाहिर आफ्नो कामको डेस्कमा आएँ । आजको पहिलो appointment रद्द भएको रहेछ । अर्को कति बजे ग्राहकको appointment छ भनेर हेर्दै थिएं अचानक मेरो आंखामा नियमित र पुरानो ग्राहक बारबरालाई वेइटिंग चियरमा देखे । ‘हाई बारबरा’ मैंले बोलाएं अनि उसको नजिकै पुगें ।

उनले उठेर पहिलेझै अंगालो मारिन् तर उनको अंगालोमा पहिलेझै त्यति कसिलोपना थिएन । सधैंको हसिलो अनुहारमा वादलले छोपेको जस्तो, त्यो निलो आंखा पानीविनाको सागर जस्तै रित्तो लाग्यो । शरीरमा शक्ति नभएको, फुङ्ग कपाल देखिएको । एकदम मलिनो स्वरमा उनले भनिन्, ‘हाई मम्ता’ । उनको आवाजसंगै हिजो, अस्तिजस्तो मिठो मुस्कान पाउन सकिनं । त्यो चम्किलो अनुहार आज हराएको छ । कता कता मलाई खल्लो महसुस भयो ।

उसको अनुहारमा हेर्दै मैले सोधे,के भयो तिमी ठिक त छौ ? आज तिम्रो appointment त छैन नि बारबार ? ‘हो मलाई थाहा छ, appointment बिना तिमी कहाँ आएं म आज’, उनले भनिन् । मेरो कपाल आज नबनाई भएन, त्यसैले आएको ममता, तिमीसंग समय त छ नि ? । आज मेरो कपाल नबनाई भएन,त्यसैले आएको मिल्छ, नि, अलि हतार पनि छ ? १ बजेसम्ममा सकिन्छ होला ममता ? मैंले सहज जवाफ दिएं—चिन्ता नगर म जसरी पनि तिम्रो कपाल बनाउंछु नि, तिमीलाई म कहाँ निराश गर्न सक्छु ? एकछिन पख ल भनेर appointment हरू हर्न थालें ।

आज कस्तो संजोक परेको रहेछ मेरो ग्राहक पुरानो ८२ बर्षकी जसलाई म मियो हजुर आमा भनेर सम्बोधन गर्थे उनको विहान साढे नौबजेको appointment रद्द गरिएको रहेछ । जहिले पनि उनको कामका लागि २ घण्टा लाग्थ्यो । हजुरआमा आएकी भए बारबराका लागि समय मिलाउन मलाई गाह्रो हुने रहेछ ।

मैंले बारबरालाई कुर्सीमा बस्न आग्रह गरें । उसको अनुहारमा सारै निराश, थाकेको ओइलिएको गुलाफजस्तै थियो । मैंले उसलाई सोधे—आज के के गर्ने हो ? उसले कुर्सीमा बस्दै निराशापूर्वक भनी,‘perm, blow dry गर्नु पर्ने हो ।’

ok, I will do for you मैंले भने र उसले भनेअनुसारको कामतिर लागें ।

आज मलाई पनि बारबरालाई देखेर मनमा खुल्दुली नचलेको होइन । प्रश्न माथि प्रश्न उठिरहेका छन् । सधै हाँसी ठट्टा कुरा गर्ने बारबराको संवाद मौनतामा छ । उसको कपालमा रड लगाउंदै सोधें, ‘बारबरा कफी, ग्रीन टी, पानी केही पिउने हो ?’ मधुरो स्वरमा ‘कफी हुन्छ’ भनिन् । मेरो साथीलाई बारबरालाई कफी दिन आग्रह गरें । केहीबेरमा कफी उसको अगाडि टेबलमा राखेर साथी पनि आफ्नो काममा लागी ।

न त एकपटक अनुहार ऐनामा हेरेको हो, चुपचाप,बन्द आंखा, हेर्दा निदाएकोजस्तै । त्यो सधैं हसिलो अनुहारमा औंसी लागेको भान बेला बेलामा भइरहेको छ । उसको अवस्था देखेर सोध्न पनि अप्ठ्यारो लागिरहेको छ । उसलाई देखेर मेरो मनमा ‘यो बिमारी त होइन नत्र किन कपाल बनाउन आउथी र ?’ भन्ने पनि लाग्यो ।

टेबलमा राखेको कफी हिउँजस्तै चिसो भइसकेको थियो । यसो आंखा सडकमा ओछ्याउंदा त हिउँ अलि अलि पर्न सुरू भइसकेको रहेछ । बोस्टनमा जाडो महिनाको पहिलो हिउँको सुरू भएको थियो आज । सायद क्रिसमस पनि नजिकदै छ, हिउँ पर्ने नै भयो । मेरो ध्यान कतैतिर लागेन । सबैजना आफ्नै काममा व्यस्त देखिन्थे । म पनि मनमा उठेका प्रश्नसंगै काम गरिरहे । किन र के भयो भनेर, सोध्न पनि उसको अनुहार देखेर हिम्मत गर्न सकेको छैन । झण्डै आधा घण्टा लाग्यो, perm रड राख्न, सधंै पन्ध्र मिनेटमा सकिन्थ्यो । आज दुबै जना चुपचाप छांै, अरू बेला गफ, हुन्थ्यो, काम पनि छिटै सकिएको भान हुन्थ्यो ।

सायद बारबराको मौनताले गरेर हुनुपर्छ वातावरण पनि अलि अंध्यारो, खल्लो महसुस गरी रहेको छु । सधै कुराहरु गर्दै काम गर्न बानी छ मेरो ।
हामीबीच रमाइलो, हास्य प्रसंगसंगै, कुराहरु साटासाट पनि हुन्थ्यो । भन्नु पर्दा हामी सेवा प्रदायक र सेवाग्राही मात्र नभएर लामो समयसम्मको सङ्गतले एक मिल्न साथी बनेका छांै । जति मन सफा भलादमी बाहिरी स्वरूपमा पनि त्यस्तै सुन्दर छिन बारबरा ।

फेरि मेरो आखा कफीमा पुग्यो । ‘बारबरा, तिम्रो कफी चिसो भयो’, भन्दै कफी उसको हातमा थमाइदिएं ।

‘थ्यांक्स ममता, आज म साच्चिकै थाकेकी छु । आंखा खोल्न पटक्कै मन परेको छैन । तर के गर्ने,आफूले चाहेको कुरा कहाँ हुन्छ र ?’ भन्दै कफीको घुटको हालिन् । त्यसपछि मैले बिस्तारै प्रश्न सोध्न थाले— बारबरा आज तिम्रो तिमीलाई हिजो, अस्ति जस्तो हसिलो अनुहार छैन । सन्चो त छ तिमी लाई? I can see you are very tired। उसले भनी,‘हो, त्यस्तै परेको छ ममता । अचानक आज मलाई एकदमै एक्लो महसुस भइराखेको छ । मेरो आंखामा बितेका रमाइला दिनहरु निकै याद आइरहेका छन् । ती मिठा मिठा पलहरु मेरो आंखामा एकोरिएमको माछाझै सलबलाउन थालेका छन् । भविष्यमा धेरै कुराहरु गर्नुपर्ने योजना बाँकी नै थियो तर आज मेरो जीवनमा आएको भुँइचालोले सपना भत्किएर आफूलाई नै पुरेको जस्तो भान भइरहेको छ ।’ एकै सासमा उसले यो जवाफ फर्काएकी थिई ।

‘तिमीलाई के भनूं ममता, मेरो स्वास बेलाबेलामा फेर्न गाह्रो हुन्छ ।दुईदिन भइसक्यो निदाउन पनि सकेको छैन, रातभर छटपटी हुन्छ’—ऊ भन्दै गई ।

मैल फेरि सोधे, ‘के भयो त्यस्तो तिमीलाई, प्लिज कुनै अप्ठ्यारो नमान्नु, हामी साथी हौं मैले पनि तिमीसंग कुराहरू बाँडेकी छु नि’— मैले भने । ‘हो थाहा छ ममता । मेरो जीवनमा सोच्दै नसोचेको कुरा भएको छ । यति छिटो हुन्छ भनेर सोचको पनि थिइनं । हामीले सोचेकोजस्तो कहाँ हुन्छ र भगवानलाई मात्र थाहा हुदो रहेछ’ यति भनेर उसले लामोलामो सास फेरिन् । उनका आंखा टलपल थिए । फेरि मैले डराई डराई भनें, ‘बारबरा, चिन्ता नगर तिमी ठीक हुनेछौ ।

‘होइन होइन ममता’ ऊ भन्दै गई— ‘म आफूलाई भन्दा बढी माया गरेको मान्छे, कहिले पनि ऊ मसंग रिसाउन नजानेको मान्छे , मसंग रिसाएको छ कहिले पनि फकाउन नसकिने गरी । मबाट टाढा भएको छ ममता । त्यही पीडामा परेको छु ।’

‘बारबरा !, के भनेको कुरा अलि बुझ्न सकिनं’— फेरि सोधे, ‘के भया े?’

‘मेरो लोग्ने वितेको दुई दिन भयो । एक हप्तामा हाम्रो ३० बर्षको एनिभर्सरी मनाउने दिन थियो । र हामी दुबै एकदम उत्साहित थियौ, त्यो दिनको प्रतिक्षामा ा अब त्यो दिन मेरा लागि शुन्य,नमिठो र पिडादायी भएको छ । ऊबिना कसरी बाँच्न सक्छुजस्तै हुन्छ । रित्तो जिन्दगी रक्सी बिनाको बोतलझै हुने भयो । ऊ एउटा असल व्यक्तित्व भएको मान्छे र आत्मीय साथी थियो । उसलाई पाएर म भाग्यमानी सम्झिने गर्थे । मेरा जीवन,सुन्दर रमाइलो थियो । अब संझनामा मात्र समिति रहने भयो, ऊ अब मेरो अतीत बनेको छ ।’

उसको अवस्था देखेर म अक्क न बक्क भएँ, भावविह्वल भएं निशब्द भएं मेरा आंखामा पानी छचल्कियो । अति माया लागेर आयो बारबरा देखेर, मेरो हातले काम गर्न छोड्लाजस्तो भयो, थुचुक्क बसांैजस्तो भयो मलाई । विश्वास गर्न गाह्रो भयो ।

साच्चै कस्तो अविस्वास लाग्ने १५ दिनअगाडि मात्र मैले भेटेको उनको श्रीमान जोन । शान्त स्वभावको सालिन व्यक्तित्व अनि मुसुमुसु हाँसी कुरा गर्ने मान्छे आज हामीबीच छैनभन्दा कसरी बिस्वास गर्नु । मेरो बोली बन्द भयो । ‘ओ माई गड मैंले यो कुरा विश्वास नै गर्न सकिनं’ भन्दै उसलाई अंगालो हालें । मसंग उसलाई सान्त्वना दिनुवाहेक के नै उपाय थियो र ? ‘आई एम सो सरी सारै दुःख लाग्यो ।’ अरू केही भन्नै सकिन । माया पनि लाग्यो ।

आफ्नो लोग्नेसंग साच्चै खुशी थिइन् बारवरा । फेरि उसको अनुहारमा हेर्दै मैले भनें उसको आत्माले शान्ति पाओस् । मैलें उसलाई धैर्यधारण गर्न अनुरोध गरें । ऊ चुपचाप सुनी रही । प्रायजसो मसंग आफ्नो वैवाहिक, धैर मिठा रोमान्टिक कुराहरु गरी रहन्थिन् । आफ्नो लोग्नेलाई बढी आत्मीय साथी स्वीकार गरेकी थिइन् । अब कहिल्यै भेट नहुने गरी टाढा भएको छ । मलाई पनि सारै दुःख लाग्यो ।

‘जीवन यस्तै रहेछ बारबरा, जे हुन्छ सहनै पर्ने रहेछ’ भन्दै उसको कपाल धुने कुर्सीतिर लागे ।

मलाई फेरि सोच्न बाध्य बनायो । आफू हुर्केर बढेको समाज र यो समाज कति फरक छ । सोचाइको परिधि वा सिमा कति फरक ?अहो, मान्छे त्यो पनि श्रीमान मर्दा पिडाको समयमा यसरी सुन्दर राम्री बन्न मेकअप गर्न कोही आएको मेरो पहिलो अनुभव थियो । त्यो पनि मेरो पुरानो सेवाग्राही भएको कारण आत्मियता साट्ने गरेकोले संवाद भयो । त्यसैले थाहा पाउन सकें, नत्र निजी कुरा हत्पति कसले पो अर्कोलाई भन्छन् र ? अचम्म लाग्यो । सौन्दर्यमा किन अति धेरै मान्यता । बुझ्नै सकिनं, मन मनै कुराहरु खेल्न थाले ।

कपाल दयिध मचथ गर्दै थिए, उसले भनी, ‘ममता के तिमीसंग मलाई मेकअप गरिदिने समय पनि छ ? आज मेरो पतिको अन्तिम संस्कार गर्ने दिन हो, आज धेरै मान्छे जम्मा हुन्छन्, परिवार, साथीभाइहरु । सबैजनाले कपाल, राम्रो लुगा लगाएर नै आउछन् यो हाम्रो परम्परा हो । बिशेषत मेरो श्रीमानलाई म सधैं कपाल बनाएको, मेकअप गरेको अति मन पथ्र्यो । उनको अन्तिम विदाइमा उनलाई मन पर्ने काम गर्नु छ । तिमीलाई थाहा छ नि प्रायजसो उसले नै मेरालागि मेकअप गर्ने समय तय गरिदिएको हुन्थ्यो । सधै सुन्दर भएर बस्ने आग्रह गरिरहन्थ्यो । त्यसैले पनि म राम्री हुन चाहेकी हुं । उसलाई गुड बाई गर्दा म राम्री भएर गरे भने ऊ खुशी हुन्छ होला, उसको आत्मालाई शान्ति मिल्छ भनेर हो, पहिलेकी जस्तै बन्न चाहेको ।’

म उसका कुराहरु सुनिरहें, कपाल बनाउने काम सकेर मेकअप गर्दै । मभित्र चलिरहेको द्वन्द्व पोख्न पनि सकिनेस्थिति थिएन त्यहां । तर, मनभित्र भने मेरो र उसको संस्कारका बीचमा भारी फरकका दृश्यहरु थिए । त्यतिखेर आफूले बाजे, बजै मरेको बेला कपाल नि कोरिएन, ऐना त परको कुरा, नुन,खान नहुने , झांक्रो फिजाएर सादा पोशाक लगाएर बस्नु पर्ने अनुभूति गरेकी मलाई बारबराको भनाइले हाम्रो र यहाँको समाजको भिन्नतालाई फेरि एकपटक सोच्न बाध्य बनाएको थियो । समाज आफ्नै, सोच आफ्नै, परिभाषा आफ्नै तर जे होस् आज एउटा नयाँ ज्ञान नयाँ संस्कार प्रत्यक्ष अनुभूति गर्न पाएं । पीडामा भएको बेला हाम्रो समाजको केही राम्रो हेर्न र गर्नु हुदैन । खानेकुरा नि जे पायो त्यही खान नहुने । हामीमा धैरै कुराहरू गर्नु नहुने बन्देज हुन्छन् । तर यहाँ कुनै कुराको रोकतोक छैन ।

देहवसान भएको श्रीमानको अन्त्येष्टिसमेत नभएको अवस्थामा अन्य सामान्य दैनिकीझै गरी हिडेको पाउदा साच्चै अचम्म हुनु स्वाभाविक थियो । एउटै कुरामात्र मिलेको महसुस भयो—दुःखर पिडा । बांकी धैर भिन्नता । मानवीय संवेदनशीलता , समबेदना व्यक्त गर्ने पनि समाजअनुसार फरक फरक हुंदो रहेछ ।

मेकअप पनि सकियो । बारबराले ऐना हेरिन अनि मलाई भनिन्, ‘ गुड जव, आज म अझ राम्री देखिएकी छु, ऊ पक्कै खुसी हुनेछ, तिमीलाई मेरो धेरै धन्यवाद छ प्यारी ममता ।’

उनको अनुहारमा हाँसोका रेखाहरू देखेर मेरो मन पनि कता कता हलुका भयो । म पनि अनुहारमा पिडादायी हाँसो दिलाउँदै उसलाई कसिलो अंगालो मारे । तर मैले उसले जस्तो आशु भने लुकाउन सकिनं । उसका आंखामा भने सुख्खापन अलि रातो देखिन्थ्यो । उनलाई आफूलाई सम्हाल, खुसी होऊ र भगवानले तिमीलाई आशीर्वाद दिउन भनें । मधुरो मुस्कानसंग I will mamata I am going to pay भन्दै बारबरा काउन्टरमा गइन् । म पनि रेष्टरुमतिर गए । फर्केर आउंदा कालो चस्मा आखाँमा राख्दै बाई ममता भन्दै ऊ निस्कीई ।

मानिसको जीवन कस्तो होला हिजो थियो आज छैन । त्यसैले भनेको होला भोलि कहिल्यै आउंदैन, आज छ भोलि छैन …

सधंै एउटा कुरा मेरो दिमागमा दौडिरहेको हुन्थ्यो ।

हामी जन्मदै रोएर यस धर्तीमा पाइला टेक्छौ । विस्तारै विस्तारै रूवाइमा पनि हाँसो छ भनेर सिक्दै जान्छौं । जन्मलाई उत्सव मनाउंछौं, जीवन हासेर बिताउनु पर्छ, मृत्युलाई उत्सव विदाइ दिनुपर्छ भन्ने मलाई लाग्छ । हुन पनि हो देहबसान अनिबार्य नियति हो र जीवनको यावत दुःख पिडा सङ्घर्ष दोषबाट मुक्त भएको दिन मृतकको लागी खुशी लाग्ने सबै कर्म गरिदिनु पर्छ । वाह कति उच्च मानवीय संवेदनशीलता …

आज साच्चै बारबरा आंशुभित्र पौडी खेल्दै गर्दा पनि सुन्दर देखिएकी छे । मैंले उनको कार अगाडि ओझेल नपरुन्जेल हेरिरहे । म फ्युनरलमा उपस्थित हुन नसक्ने बारबरालाई थाहा थियो । मनमनै भने हार्दिक श्रद्धान्जली जोन ।

(अमेरिकाको बोस्टनमा बसेर सिर्जनारत ममता कर्माचार्यका दुईवटा कविता कृति प्रकाशित छन्)

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position