इरान र अमेरिकाबीच तनाव हुँदा नेकपा चिन्तित, तनाव बढाउने गतिविधि नगर्न आह्वान
काठमाडौं। इरान र अमेरिकाबीच तनाव बढेकोम सत्तारुढ दल नेकपाले चिन्ता प्रकट गरेको छ। आइतबार सम्पन्न नेकपा केन्द्रीय कमिटीको बैठकले पारित गरेको ११ बुँदे प्रस्तावमा मध्यपूर्वमा तनाव बढेकोमा चिन्ता व्यक्त गरिएको छ।
पारित प्रस्तावको ७ औं बुँदामा इरान र अमेरिकाबीच तनाव बढेकोमा चिन्ता प्रकट गरिएको छ। लेखिएको छ, ‘यो बैठक इरान, इराकलगायत पश्चिम एशिया उत्पन्न तनावप्रति गहिरो चिन्ता व्यक्त गदर्छ। कुनै पनि समस्याको वार्ताद्वारा शान्तिपूर्ण समाधान खोजिनुपर्ने तथा युद्ध या आक्रमणका कुनै पनि गतिविधिहरु तत्काल रोकिनुपर्ने नेपालको मान्यता रहेको स्पष्ट पार्दै यो बैठक सम्वद्ध पक्षलाई संयम हुन र तनाब बढाउने गतिविधि नगर्न आह्वान गर्दछ।’
हालै अमेरिकाले इरानी उच्च सैन्य कमाण्डर कासिम सुलेमानीको इराकमा हत्या गरेपछि इरान र अमेरिकाबीच तनाव बढेको छ। इरानले आफ्ना सैन्य कमाण्डर मारिएको जवाफमा इराकस्थित अमेरिकी सैन्य शिविर तथा दूतावासमा क्षेप्यास्त्र आक्रमण गरेको थियो । जसमा ५० भन्दा धेरै अमेरिकी सैनिक मानसिकरुपमा घाइते भएको अमेरिकाले स्वीकार गरेको छ।
तर, यो तनाव विस्तारै कम हुँदै गएको छ। पछिल्ला दिनहरुमा इरान र अमेरिका भड्काउ बयान दिनबाट जोगिँदै आएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको परमाणु सम्झौताबाट अमेरिकालाई अलग्याएपछि इरान र अमेरिकाबीच तनाव बढेको थियो। सोही तनावका बीच इरानी सैन्य कमाण्डरको हत्या भएपछि तनाव चरम स्तरमा पुगेको थियो।
तर, यूरोपेली यूनियन, बेलायत, रुस, चीन लगायतका शक्ति राष्ट्रहरुले इरान परमाणु सम्झौता जोगाउनुपर्ने बताएपछि अमेरिका दबाबमा पर्दै आएको छ। यही विषयमा नेपालाको सत्तारुढ दल नेपालकै नीति भन्दै बोलेको हो।
नेकपाले पश्चिम एशियामा ठूलो संख्यामा नेपालीहरु रहेको भन्दै ती नेपालीहरुको सुरक्षाका लागि सरकारले आवश्यक कमद चाल्नुपर्नेसमेत बताएको छ।


No ads found for this position

डिसी नेपाल
Facebook Comment