क्यान्सर उपचारका औषधिको अभाव हट्दै, केही दिनमै सहज रूपमा उपलब्ध हुने
काठमाडौं। विगत दुई महिनादेखि बजारमा देखिएको क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधिको अभाव अब चाँडै नै हट्ने भएको छ।
औषधि व्यवस्था विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यका अनुसार क्यान्सरको किमोथेरापी उपचारमा अत्यावश्यक पर्ने औषधिको आयातलाई सहज बनाएर केही दिनमै देशैभर उपलब्ध गराइने छ।
अहिलेसम्म औषधिको अभावका कारण बिरामीको सहजताका लागि देशभरका निश्चित अस्पताल र फार्मेसीहरू तोकेर मात्र सीमित मात्रामा औषधि उपलब्ध गराउँदै आइएको थियो। सरकारले ती औषधिको मूल्य समायोजन गर्ने प्रतिबद्धता व्यक्त गरिसकेकाले अब यसको आपूर्ति नियमित र सहज हुने विश्वास विभागले लिएको छ।
विशेषगरी किमोथेरापीका लागि बढी प्रयोग हुने ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ जस्ता औषधिको अभाव विगत दुई महिनादेखि खड्किएको थियो।
औषधि व्यवस्था विभागले हाल औषधि अभावको अवस्थामा बिरामीलाई मर्का नपरोस् भनी जानकी अस्पताल नेपालगञ्ज, पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोड, विराट मेडिकल कलेज विराटनगर, वविना फर्मा पोखरा, पुनम फार्मेसी धरान, राजदूत प्रालि भरतपुर, मल्ल फर्मास्युटिकल्स पोखरासहित काठमाडौँका ताज नेपाल प्रालि, डिकेएम फर्मास्युटिकल्स प्रालि, सिजल फर्मा र अनमोल हेल्थ केयरलाई सम्पर्क निकायका रूपमा तोकेको छ।
हाल नेपालमा ‘कार्बोप्लाटिन’ दुई हजार भाइल र ‘सिस्प्लाटिन’ जम्मा ५० भाइल मात्र मौज्दात रहेको छ, जबकि यहाँका बिरामीका लागि मासिक रूपमा एक हजार भाइल ‘कार्बोप्लाटिन’ र ६०० भाइल ‘सिस्प्लाटिन’ आवश्यक पर्दछ। नेपाल औषधि आपूर्तिकर्ता संघका अध्यक्ष पवन आचार्यले बिरामीको उपचार नरोकियोस् भन्नका लागि महँगो मूल्य तिरेर भए पनि औषधि आयात गरिरहेको र एक महिनालाई पुग्ने ‘सिस्प्लाटिन’ औषधि भारतबाट नेपाल आउने क्रममा रहेको जानकारी दिएका छन्।
सरकारले मूल्य समायोजन गरेपछि यो समस्या पूर्ण रूपमा हल हुने व्यवसायीहरूको भनाइ छ। यसअघि भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका प्रमुख स्वास्थ्य संस्थाहरूमा यी औषधिको चरम अभाव देखिएको थियो।







डिसी नेपाल







Facebook Comment