कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
तानसेन (पाल्पा)। कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ। बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्डकी नदीमा डुबेर शिखरडाँडाका १४ वर्षीय शिशिर गाहा र २४ वर्षीय पुजन गाहाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए।
उनका अनुसार पौडी खेल्ने क्रममा दुवै जना डुबेर बेपत्ता हुनुभएको थियो। प्रहरी, सशस्त्र प्रहरीका साथै स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा कालीगण्डकीकै तल्लो भागमा आज शव फेला परेको हो। शिशिरको सोही स्थानमा र पुजनको टिपुवाघाटमा शव फेला परेको प्रहरी नायक उपरीक्षक भट्टराईले बताए। नदीमा पानी धमिलो भएका कारण खोजीमा समस्या भएको थियो।
उक्त खोलामा आन्तरिक तथा बाह्य पर्यटकहरू बढी जाने र उनीहरूले नै अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले सो स्थानमा सुरक्षाका उपायहरू अपनाउन जिल्ला प्रहरी कार्यालयले स्थानीय सरकारलाई आग्रह गरेको छ।







डिसी नेपाल







Facebook Comment