सफाइकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’ लाई सम्मान
काठमाडौं। काठमाडौंको बुढानीलकण्ठ क्षेत्रमा कार्यरत सफाइकर्मीको योगदानको कदर गर्दै ३० जना सफाइका ‘अदृश्य नायक’ लाई सम्मान गरिएको छ।
रोटर्याक्ट क्लब अफ बुढानीलकण्ठ र समाजसेवी एवं पर्यटनविद् श्याम मोहन श्रेष्ठको सहकार्यमा आज आयोजित कार्यक्रममा बुढानिकण्ठ क्षेत्रमा कार्यरत ३० सफाइकर्मीलाई सम्मान गरिएको हो। विश्व वातावरण दिवस–२०२६ को अवसर पारेर ‘सफाइकर्मीलाई सम्मान, सबैको मान’ भन्ने नाराका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो।
सो अवसरमा पूर्वराजदूत बलबहादुर कुँवरले सामाजिक उपेक्षा र अदृश्यताको सामना गरिरहेका सफाइकर्मीलाई राज्यले सम्मान गर्नुपर्ने बताए। समाज, वातावरण र जनस्वास्थ्यलाई दैनिक रूपमा स्वच्छ र सुरक्षित राख्न सफाइकर्मीको योगदान महत्त्वपूर्ण रहेको उनले बताए।
बुढानिलकण्ठ नगरपालिका–३ का वडाध्यक्ष आकाश धितालले स्थानीय सङ्घ संस्थासँग मिलेर बुढानिलकण्ठ नगरपालिकाले फोहर व्यवस्थापन गरिरहेको उल्लेख गरे। उनले बुढानिलकण्ठलाई सुन्दरता बनाउनका लागि इसिआई नेपालले खेलेको भूमिका सराहनीय रहेको उल्लेख गरे।
वातावरणविद् डा जयकुमार गुरुङले स्वच्छ वातावरण निर्माणमा सफाइकर्मीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे। घर–टोलबाट उत्पादित फोहरमैला केही दिन मात्र सङ्कलन नहुँदा जनजीवन अस्तव्यस्त बन्ने र त्यही फोहर व्यवस्थापन गर्ने श्रमिकलाई भने समाजले अझै तल्लो दृष्टिले हेर्ने गरेको पाइन्छ।
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक कृष्ण अधिकारी, इसिआई नेपालका अध्यक्ष सवीन वाग्ले, रोटर्याक्ट क्लब अफ बुढानीलकण्ठकी अध्यक्ष सुजना गुरुङलगायतले पर्याप्त सुरक्षा सामग्री र तालिमको अभावमा जोखिमपूर्ण ढङ्गले काम गर्नुपर्ने बाध्यताका बीच सफाइकर्मीले समाजलाई स्वस्थ राखिरहेको भन्दै उनीहरुको कामको उच्च प्रशंसा गरे।







डिसी नेपाल







Facebook Comment