शहीद स्मारक लिगः च्यासल युथ क्लब विजयी

डिसी नेपाल
२१ माघ २०७६ ७:०८

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगको सोमबार भएको दोस्रो खेलमा च्यासल युथ क्लब विजयी भएको छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मैदानमा भएको खेलमा च्यासलले मनाङमस्र्याङ्दी क्लबलाई २–० गोलले पराजित गरेको हो।

खेलको तेस्रो मिनेटमा च्यासलका अमिर श्रेष्ठले गोल गर्ने मौका पाएका थिए । उनले मौकाको फाइदा लिन सकेनन् । यस्तै खेलको १०औँ मिनेटमा च्यासलका सन्तोष साउखलको प्रहार गोलमा परिणत हुन सकेन।

खेलको २४औँ मिनेटमा टेइगी नाकामुराले च्यासलका लागि पहिलो गोल गरे । खेलको ३६औँ मिनेट र ४१औँ मिनेटमा मनाङका अञ्जन विष्टले गोल गर्ने मौका पाए पनि त्यसको फाइदा लिन सकेनन् ।

पहिलो हाफको प्रदर्शनमा सुधार गर्दै खेलको मनाङले दोस्रो हाफमा पनि गोल गर्न सकेन। यसैगरी खेलको ४९औँ मिनेटमा निशान लिम्बूले गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।

खेलको ६४औँ मिनेटमा मनाङमा विमल रानाले गोल गर्ने मौका पाए पनि विपक्षी खेलाडीले सफल हुन दिएनन्।

खेलमा रेफ्रीलाई दुव्र्यवहार गरेको भन्दै च्यासलका प्रशिक्षक बालगोपाल महर्जनले रातोकार्ड पाएका थिए ।

खेलको इन्जुरी समयमा नाकामुराको पासमा च्यासलका सन्तोष साउखलले उत्कृष्ट गोल गरे ।

जितपछि च्यासल १२ अङ्कका साथ लिगको नवौँ स्थानमा उक्लेको छ भने हारपछि मच्छिन्द्र २२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ।

मुख्य प्रशिक्षक पटवालको राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले नेपालमै आयोजना हुन लागेको त्रिकोणात्मक सिरिज अघि राजीनामा दिएका छन् ।

नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सकिएपछि लागू हुनेगरी पटवालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) समक्ष राजीनामा बुझाएका हुन् ।

उक्त सिरिज बुधबारदेखि कीर्तिपुरमा शुरु हुँदै छ। नेपालले पहिलोपटक आइसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न लागेको हो। पटवाल गत जेठमा एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमै रहेका बखत पटवाललाई राष्ट्रिय खेलकूद परिषद् (राखेप) को पहलमा आइसीसीले मासिक सात हजार अमेरिकी डलर पारिश्रमिक दिनेगरी मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।

उनले पोखरामा यसअघि भइरहेको बन्द प्रशिक्षणका क्रममा राजीनामा दिएको बताइएको छ । पटवालले पोखरामा बन्द प्रशिक्षणकै क्रममा आफूले मुख्य प्रशिक्षकबाट राजीनामा दिन लागेको बताउँदै आएका थिए ।

नेपालले ओमान र अमेरिकासित घरेलु मैदानमा चार खेल खेल्दैछ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले पटवालको राजीनामाबारे आधिकारिकरूपमा कुनै जानकारी प्राप्त नभएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *