विश्वभर रहेका नेपालीलाई कोरोना भाइरसबाट सतर्क रहन एनआरएनएको आह्वान

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभर छरिएर रहेका नेपालीलाई कोरोना भाइरसको संक्रमणबाट सतर्क रहन आह्वान गरेको छ । संघका प्रवक्ता डिबी क्षेत्रीले बिहीवार विज्ञप्ति जारी गर्दे संसारभर रहेका नेपालीहरूलाई प्राण घातक भाइरस कोरोनाबाट सुरक्षित रहन आह्वान गरेका हुन् ।

केही समय यता चीनको वुहान क्षेत्रबाट फैलिएको नोभेल कोरोना भाइरसको संक्रमणले अहिले अन्तर्राष्ट्रिय स्वास्थ्य आपतको स्थिति खडा गरिसकेको छ ।  भाइरसको संक्रमणबाट चीन लगायतका विभिन्न मुलुकमा मृत्यु हुनेको संख्या झण्डै ६०० पुगिसकेको र ३० हजार भन्दा बढी व्यक्तिहरु संक्रमित भइसकेका छन् । यसले विश्वव्यापी महामारीको रुप लिनसक्ने शंका उत्पन्न भएको छ।

संघले यस भाइरसको संक्रमणको कारणले मृत्यु भएका व्यक्तिहरूको आत्माको चीरशान्तिको साथै संक्रमित व्यक्तिहरूको शिघ्र स्वास्थ्य लाभको लागि कामना गर्दै प्रकोपबाट प्रभावित सबैमा सहानुभूति प्रकट पनि गरेको छ।

विज्ञप्तिमा संघले यस प्रकोपका कारणले चीनको वुहान प्रान्तमा रहेका नेपालीहरूको उद्धारको चुनौति आएको बताएको छ । एनआरएनए चीन वुहानमा रहेका १ सय ४० भन्दा बढी नेपालीहरूसँग सम्पर्कमा रहेको र उनीहरूलाई नेपाली दूतावास बेइजिङसँगको समन्वयमा नेपाल फिर्ता गर्ने सम्बन्धमा सक्रिय रुपमा कार्य गरिरहेको पनि जनाइएको छ ।

संघको स्वास्थ्य सम्बन्धी समितिले  कोरोना भाइरसको बारेमा गैरआवासीय नेपालीहरू माझ जानकारी फैलाउन सक्रिय रहेको पनि विज्ञप्तिमा बताइएकाे छ  । यस्तो अन्तर्राष्ट्रिय विपतको स्थिति कुनै एक मुलुकले मात्र सामना गर्न नसक्ने र यसका लागि सबै राष्ट्र र सम्पूर्ण मानव जाति ऐकबद्ध भई लाग्नु पर्ने हाम्रो संघको भनाई छ । संघले अन्तर्राष्ट्रिय रुपमा समन्वयका साथ अघि बढ्न नेपाल सरकार र विश्व समुदायसँग हार्दिक अपिलसमेत गरेको छ ।

 

 

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position