चीनमा रहेका आफ्ना छोराछोरीलाई चाँडो ल्याउन आग्रह

डिसी नेपाल
२३ माघ २०७६ २२:१७

काठमाडौं । चीनको वुहान प्रान्तमा रहेका विद्यार्थीका अभिभावकले आफ्ना छोराछोरीलाई नेपाल छिटो ल्याउन माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा धर्ना दिएका छन् । बिहीबार दिउँसो उनीहरुले चाँडोभन्दा चाँडो आफ्ना छोराछोरीलाई नेपाल ल्याउन माग गर्दै धर्ना दिएका हुन् ।

अभिभावक विमला श्रेष्ठले चीनबाट छोराछोरीको उद्धार गर्न सरकारले ढिलाइ गरेकाले ध्यानाकर्षण गराउन धर्ना दिएको बताइन्। उनले अहिले त्यहाँ रहेका विद्यार्थीलाई खानाका लागि समस्या भएकाले सरकारले चाँडोभन्दा चाँडो नेपाल ल्याई उद्धार गर्नुपर्ने बताइन् ।

चीनमा अहिले कोरोना भाइरस फैलिएर त्रास रहेको छ । सरकारले चाँडै नै चीनमा रहेका विद्यार्थी र नागरिक ल्याई उपत्यकाका चार ठाउँमा राख्ने निर्णय गरेको हो । चीनबाट नेपाल आउनका लागि १८० विद्यार्थी र नागरिकले चीनस्थित नेपाली राजदूतावासमा निवेदन दिएका छन् ।

चीनमा हजारौँ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएपछि नेपालबाट अध्ययनका लागि गएका विद्यार्थीका अविभावकहरुलाई चिन्तित गराएको हो । बिहीबारसम्म ५६३ व्यक्तिको मृत्यु भइसेकेको छ । त्यसैगरी बिहीबार प्राप्त समाचारअनुसार यस भाइरसबाट चीनभर २८ हजार व्यक्ति सङ्क्रमित भएका छन् ।

गत वर्षको अन्तमा जनावरहरु बेच्ने बजारबाट उत्पत्ति भएको भनिएको कोरोनाभाइरस चीनको करिब २४ ओटा प्रान्तमा फैलिएको पुष्टि भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *