एनआरएनए पोर्चुगलमा कुटाकुट

डिसी नेपाल
२९ माघ २०७६ १७:१४

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले एक पत्रकारमाथि कुटपिट गरेका छन् । एनआएनए पोर्चुगलका कार्यवाहक अध्यक्षसमेत रहेका थापाले पोर्चुगलमा क्रियाशील पत्रकार सविन धिताल (प्रवीण) लाई कुटेका हुन् ।

उपाध्यक्ष थापाको कुटाईबाट आफ्‍नो टाउको र काँधमा घाउचोट लागेको पत्रकार सविनले बताएका छन् । उनी पोर्चुगलबाट सञ्चालन हुने ‘भ्वाइस अफ नेपाल टिभी’ र पोर्चुगलमा रहेका पत्रकारको संस्था नेप्लिज जर्नालिस्ट क्लबमा आवद्ध छन् । घाइते सविन एनआरएनए पोर्चुगलका कार्यसमिति सदस्यसमेत हुन् ।

धितालका अनुसार थापाले ९ फेब्रुअरीका दिन लिस्बनमा आयोजित ‘राजेश पायल राई म्युजिकल कन्सर्ट’ स्थलमा आफूमाथि हातपात गरेका हुन् । घटना बाहिर ल्याए हात नै काटेर अपांग बनाइदिने थापाले आफूलाई धम्की दिएको उनले डिसी नेपालसँगको फोन सम्पर्कमा  बताएका छन् ।

‘आक्रमण गर्दा घटनाबारे समाचारमा बाहिर ल्याए हात नै काटेर अपाङ्ग बनाईदिने र ज्यान मारेर बरु जेल बस्नेसम्मको धम्कि समेत दिएका थिए,’ धितालले भने, ‘घटना घटेको २४ घण्टासम्म मैले कुरेर बसे, तर पनि सरोकारवाला निकायबाट खासै चासो भएन । स्वयं संघका साथीहरू मौन छन् । घटना बारेमा जानकारी भएर पनि अध्यक्ष मौन छन् ।’

धितालले घटनाबारे फेसबुकमा स्ट्याटसमा पनि लेखेका छन्, ‘नेपालीहरुको सामुहिक संस्था भनिएको एनआरएनएका पदाधिकारीबाटै नेपाली कुटिन्छन् ? यहाँ संघसंस्थाहरु मौन भईदिन्छन् । कुनै दिन यस्तै घटनामा कसैको मृत्यु भयो भने यहाँका संघसंस्थाहरु र तिनका प्रतिनिधिहरूले श्रद्धाञ्जली दिन आउँदा त्यसको औचित्य के होला ? अलिकति लज्जा बोध होला कि नहोला ? के एनआरएनए यस्तै गुण्डागर्दी गर्ने संस्था हो ? पोर्चुगलका नेपालीहरूले एनआरएनएबाट आशा गर्ने यस्तै कार्य हो ? हामी कस्तो संस्कार विकास गर्दैछौ पोर्चुगलमा रु हाम्रा भावी सन्ततिले सिक्ने होलान् ?’

धितालले आफूमाथि भएको कुटपिटबारे एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष एवं पर्यटन प्रतिनिधि रमेशकुमार गुरुङलाई जानकारी दिएको उल्लेख गरेका छन् । गुरुङले के गरे भन्नेबारे स्ट्याटसमा केही उल्लेख गरेका छैनन् । धितालले यस्तो किसिमको घृणित र उद्दण्ड कार्य गर्ने छुट कसैलाई पनि नभएको र हुनेनहुने उल्लेख गर्दै अवैतनिक वाणिज्यदूत, गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद र पोर्चुगलमा रहेका सम्पूर्ण संघसंस्थाहरुलाई गम्भीर भएर कारबाहीका लागि अनुरोधसमेत गरेका छन् ।

विरोधमा तात्यो सामाजिक सञ्जाल

घटनालाई लिएर अहिले सामाजिक सञ्जालमा विरोध सुरु भएको छ । लिस्बनमा बस्दै आएका पेम्बागेलु शेर्पाले आक्रमणको निन्दा गरेका छन् । उनले धितालले लेखेको स्ट्याटसमा पोर्तुगल एनआरएनएको हैसियत नै यस्तो रहेको उल्लेख गर्दै कमेण्ट गरेका छन् । असामाजिक चेतना बोकेका व्यक्तिहरु सामाजिक संस्थाको पदमा आसिन हुनुको पराकाष्ठा भएको उनले टिप्पणी गरेका छन् । ‘संस्थाको गरिमा र पदको जिम्मेवारीपन थाहा नहुनेहरु आफै सत्कर्म गर्न सक्दैनन् अनि दुईदिने पाखुराको बल देखाएर सबैलाई थर्काउने धम्क्याउने चेतको स्तरमा गिरेर आफूलाई स्वघोषित महानताको शिखर चढाउँछन् । आजको एनआरएनए पोर्चुगल दलाली तस्करी र गुन्डागर्दीको हब बन्ने दिशातर्फ उन्मुख छ भन्दा अत्युक्ति नहोला । जुनसुकै प्रकार र अवस्थाको भौतिक आक्रमण खेदजनक र निन्दनीय छ ।’

अर्का युवक छवी पौड्यालले पनि घटना अत्यन्तै घृणित र लाजमर्दो हर्कत भएको उल्लेख गरेका छन् । ‘संस्था र नेपाली समाजलाई आतंक मच्चाउने काम बारम्बार भैरहन्छन् अनि उनैलाई माथिल्लो तहमा किन पुर्‍याउछन् मान्छेले खोइ ?’

घटनालाई लिएर पोचुर्गलबाट विभिन्न सञ्चारमाध्यममा काम गर्ने पत्रकारले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले घटना अत्यन्तै दुःखद भएको भन्दै आगामी दिनमा पनि दलाल प्रवृत्तिका मानिसबाट पत्रकार सुरक्षित नभएको भन्दै एनआरएनए आईसीसीको ध्यानआकर्षण गराएका छन् ।

पत्रकार महासंघ युरोप शाखाको विरोध

कुटपिटको घटनालाई लिएर नेपाल पत्रकार महासंघ युरोप शाखाले प्रेस विज्ञप्ति जारी गरेको छ । अध्यक्ष केजिन राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘बेथिति र विसंगतिविरुद्ध कलम चलाउनु पत्रकारहरूको नैसर्गिक अधिकार हो । पोर्चुगलमा क्रियाशील पत्रकार सविन धितालमाथि गैरआवासीय नेपाली संघ पोर्चुगलकै कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले गरेको सांघातिक हमलाप्रति खेद प्रकट गर्दै कडा शब्दमा भर्त्सना गर्दछ । गैरआवासीय नेपालीहरूको साझा सामाजिक संस्था हो भनेर दाबी गर्ने उक्त संस्थाको नेतृत्व तहमै रहेको व्यक्तिबाट नै यो प्रकारका कायरतापूर्ण व्यवहार प्रकट हुनु वास्तावमै संस्थाको लागि शुभ संकेत होइन ।’

कुटेको होइन धक्काधक्की मात्र भएको हो : वरिष्ठ उपाध्यक्ष थापा

धितालले आफूमाथि कुटपिट गरेको आरोप लगाउँदै गर्दा संघका वरिष्ठउपाध्यक्ष थापाले भने आफूले उनलाई कुटपिट नै नगरेको दावी गरेका छन् । डिसी नेपालसँगको फोन सम्पर्कमा उनले धितालाई हातै नहालेको बताए । ‘ यो घटना त्यति ठुलो होइन । उहाँले मिडिया बाजी धेरै गर्नु भयो । कार्यसमितिका निणर्यहरु उहाँले सबै बाहिर आउट गर्नुहुँदो रहेछ,’ उनले भने ‘मैले बैठकका सबै निणर्यहरु बाहिर भन्दै हिंड्न हुँदैन भनेर सम्झाउँथे सधैं । कार्यक्रममा उहाँले कार्यसमिति भित्रको छलफलको कुरा उठाएर अतिथि बसिरहेको बेला सार्वजनिक गाली बेइजेती गर्ने काम भयो । त्यसै विषयमा लिएर उहाँले झगडा गर्न खोज्दा दुबै पक्षबाट धक्काधक्की मात्रै भएको हो ।’

उनले कार्यसमिति उपाध्यक्ष र सदस्यबीच भएको सामान्य विवादलाई पत्रकारितासँग जोडिएको भन्दै आपति पनि जनाए । कार्यसमिति भित्रै भएको सामान्य विवाद पत्रकारीतासँग जोडेर एनआरएनएकै छवीमा दाग लगाउन खोजीएको उनले बताए ।

‘एनआरएनए पोर्चुगल, पोर्चुगल र युरोपभरका सबै पत्रकारसँग ऐक्यवद्ध भएर सहकार्यका साथ अगाडि बढ्न चाहन्छ र वास्तविक पत्रकारिता गर्ने साथीहरूलाई हामी एनआरएनए पोर्चुगल सधैं सम्मान गर्दछौँ । समाजमा सधैं झैँझगडा लगाउने, एकअर्कालाई उत्तेजित बनाउने काम जो कसैले गर्न हुँदैन भन्ने मेरो कुरा हो । सामान्य कुरालाई ठुलो बनाएर संस्थामाथि नै दाग आउने काम गर्नु जायज होइन,’ उनले भने ।

उनले घटनाबारेमा प्रेस विज्ञप्ति पनि जारी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *