कुवेत अपडेटः ज्यान गुमाउने नेपालीको संख्या ६ पुग्यो

डिसी नेपाल
१ फागुन २०७६ १४:५१

काठमाडौँ । कुवेतको सीजीजीसी कम्पनीमा भएको दुर्घटनामा अहिलेसम्म ६ जना नेपालीले ज्यान गुमाएको कुवेतमा रहेको नेपाली राजदूतवासले जनाएको छ ।

कुवेतको ८० नम्बर रोड अल मुतल्लामा चिनियाँ कम्पनी सीजीजीसीका कामदारहरु बुधवार दुर्घटनामा परेका थिए ।

कुवेतस्थित नेपाली दूतावासकी द्वितीय सचिव जानकी ओझाले डिसी नेपालाई दिएको जानकारीअनुसार अहिलेसम्म ६ जना नेपालीको ज्यान गएको पुष्टि भएको तर, ज्यान गुमाउनेहरुको पहिचान भने हुन बाँकी छ ।

सीजीजीसी कम्पनीले सडक विस्तारको काम गर्छ । यही कम्पनीमा कार्यरत अर्घाखाँचीका एक युवाका अनुसार कम्पनीमा करिब ५ हजार कामदार कार्यरत छन् । जसमध्ये २ हजार बढी नेपाली कामदार कार्यरत छन् । नेपालीबाहेक बंगलादेशी, भारतीय र पाकिस्तानी कामदारहरु कम्पनीमा कार्यरत छन् ।

उनका अनुसार दुर्घटना हुने बेला १३ जना कामदारहरुले काम गरिरहेका थिए । काम चल्दै गर्दा अचानक माटो खस्न थालेको देखेपछि ३ जना कामदार चिच्याउँदै भागेका थिए । उनीहरु सकुशल छन् । २ जनालाई भने टाउको भाग सम्म पुरिएको अवस्थामा उद्धार गरिएको हो । उनीहरुलाई उपचारको लागि अस्पताल पुर्याइएको छ । घटनामा ८ नेपाली कामदार परेको आफूले थाहा पाएको उनले बताएका छन् ।

जानकारीअनुसार ढलको पाइप बिच्छ्याउने तेन्जर मेसिनले ४र५ मिटर नाला खनेको थियो त्यसैमा उनीहरुले काम गरिरहेका थिए । त्यसैको १ मिटरको ग्यापमा सोही किसिमका अर्को नाला खनेर भर्खरै पुरिएको थियो । फुकुवा माटोले भर्खरै पुरिएको नाला र अहिले खनिएको नालाबीच मात्रै १ मिटर जमिन थियो । यो साँघुरो जमिनले दबाब धान्न नसकेपछि पहिरो गएको थियो ।

‘हाम्रै कम्पनीमा हो दुर्घटना भएको । तर, अर्को ५ नम्बर ब्लकमा हो । घटना भएपछि कसैलाई त्यहाँ जान दिइएको छैन’ उनले भने ‘८ जना नेपाली परेको भन्ने सुनेका छौं । तर, को को परे भन्ने अहिले सम्म थाहा भएको छैन ।’ उनका अनुसार कम्तीमा ५ नेपालीको ज्यान गएको छ तर यसको आधिकारिक पुष्टि हुन सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *