पुलवामा आक्रमणपछि के भयो परिवर्तन ?

डिसी नेपाल
२ फागुन २०७६ १३:५२

नयाँदिल्ली (एजेन्सी)। भारतप्रशासित जम्मू कश्मीरका पुलवामा जिल्लामा भारतीय सेन्ट्रल रिर्जभ प्यारा मिलिट्रि फोर्स (सीआरपीएफ)को लावलस्करमाथि आतंकवादी आक्रमण भएको शुक्रबार ठिक एक वर्ष पुगेको छ।

९० को दशकदेखि जम्मू कश्मीरमा शुरु भएको हिंसात्मक घटना मध्ये यो आक्रमण सबैभन्दा घातक थियो। जसमा आत्मघाति आक्रमणकारी र कम्तिमा ४० जना सीआरपीएफका जवानहरु मारिएका थिए।

पुलवामा घटनापछि भारतको राजनीतिक परिदृश्य त परिवर्तन भयो नै, यस यो घटनाले दक्षिण एशियामै प्रभाव पार्यो। र भारत र पाकिस्तानबीचको परम्परागत ‘दुश्मनी’ झण्डै युद्धको अवस्थामा पुग्यो । भारतमा चुनावको वर्ष थियो। सर्वेक्षणहरुले तत्काली सत्तारुढ दल भारतीय जनता पार्टीले चुनाव हार्ने अनुमान गरिरहेका थिए।

जनताको मागअनुसार भारतीय काँग्रेसले सोनिया गान्धीकी छोरी प्रियंका गान्धीलाई चुनावी मैदानमा उतारेको थियो। उनले गएको वर्ष फेब्रअरी १४ मै लखनऊबाट राजनीतिक यात्रा शुरु गर्दैथिइन् ।

२०१९ फेब्रअरी १४ को दिउँसो पुलवामामा भएको आतंकवादी आक्रमणपछि उनले आफ्नो त्यो दिनको राजनीतिक कार्यक्रम स्थगित गरिन् । सबै दलहरुले एकमतका साथ पुलवामा घटनाको विरोधमा सरकारले गर्ने हरेक कमदप्रति समर्थन रहने बताए ।

यो आक्रमणपछि सत्तारुढ दल भाजापा रक्षात्मकबाट आक्रामक बन्यो, विपक्षी दलहरु सत्तारुढ दलप्रति नरम बन्न पुगे । जसको फाइदा भाजपालाई भयो । गएको मे महिनामा भएको निर्वाचनमा भाजपाले प्रचण्ड बहुमत ल्यायो । भारतीय राजनीतिमा यो घटना अघिका सर्वेक्षणहरु गलत भए । भाजपा सत्तामा निन्तर रह्यो ।

प्रचण्ड बहुमतका साथ सत्तामा निरन्ता पाएको मोदी सरकारले गएको अगस्ट ५ मा जम्मू कश्मीरलाई दिइएको विशेष दर्जाको मान्यता खारेज गरिदियो । भारतीय संविधानको धारा ३७० खारेज र जम्मू कश्मीरलाई दुई केन्द्र शासित राज्यमा विभक्त गरियो । हालसम्म पनि जम्मू कश्मीरमा ठूलो संख्यामा सेना परिचालन गरिएको छ । जम्मू कश्मीरका नेताहरु नजरबन्दमा छन् । सायद यो राजनीतिक परिवर्तन हुनुमा पुलवमा आक्रमण एक मुख्य कारण हो ।

पुलवामा आक्रमणका कारण भारत र पाकिस्तानबीच झण्डै युद्धकै अवस्था बनेको थियो । परमाणु शक्ति सम्पन्न दुई दक्षिण एशियाली मुलुकबीच बढेको तनावले समग्र दक्षिण एशियामै नकरात्मक प्रभाव पर्यो । गएको फेब्रुअरी २६ मा भारतीय वायु सेनाले १९७१ पछि पहिलो पटक पाकिस्तानको मुख्य भूमिमा प्रवेश गरेर बम खसाल्यो ।

पाकिस्तानको बालाकोटमा भारतीय वायु सेनाले गरेको सैन्य कारबाहीको जवाफमा पाकिस्तानले २७ फेब्रअुरीमा भारत प्रशासित जम्मू कश्मीरमा हवाई आक्रमण गर्यो । योबीचमा भारता दुईवटा लडाकु विमान खसालिए, एक भारतीय वायु सेनाका कमाण्डर पाकिस्तानको कब्जामा परे । पाकिस्तान र भारतबीच आकाशमा प्रतिबन्ध लगाइयो ।

सीमा क्षेत्रमा दुबै मुलुकले ठूलो संख्यामा सेना परिचालन गरे । पाकिस्तानको कब्जामा रहेका भारतीय सैन्य कमाण्डर पाकिस्तानले मुक्त गरेर वातावरणलाई शान्त बनाउने प्रयास पनि गर्यो । तर, हालसम्म पनि भारत र पाकिस्तानबीच सम्बन्धमा सुधार नहुँदा पाकिस्तानमा हुने भनिएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलन हुन सकेको छैन । यो क्षेत्रीय संगठनको अस्तित्वमाथि नै संकट उत्पन्न भएको छ ।

यति ठूलो दुरगामी असर पारेको यो आक्रमणपछि भारतीय सुरक्षाकर्मीले के सुधार गरे भन्ने भारतीय सञ्चार माध्यहरुले शुक्रबार विश्लेषण गरेका छन् । बीबीसी हिन्दीले पुलवामा आक्रमणपछि पनि खासै सुधार नभएको विश्लेषणसहितको सामाग्री प्रकाशन गरेको छ ।

पुलवामा आक्रमणपछि कसैलाई पनि कारबाही नगरिएकोसमेत बीबीसीले उल्लेख गरेको छ । र सीआरपीएफले सुधारका लागि कुनै कार्ययोजना नबनाएको बीबीसीको दावी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *