अध्यक्ष भट्टराईले कोषमा १३ लाख जम्मा गरिदिएपछि एनआरएनए मलेसियाको विवाद टुंगियो

डिसी नेपाल
४ फागुन २०७६ १७:०७

क्लालालम्पुर ।  गैरआवासीय नेपाली संघ मलेसियाको विवाद टुंगिएको छ । फेब्रुअरी १५ तारिखमा बसेको बैठकले विवादहरूलाई टुंगो लगाउदै नयाँ कार्य योजना तय गरेको एनआरनए मलेसियाले जनाएको छ ।

अध्यक्ष भट्टराईले आफू अध्यक्षमा निर्वाचित भएपछि मलेसियामा समस्यामा परेका नेपालीलाई सहयोग गर्ने उद्देश्यले श्रमिक कल्याणकारी कोषको स्थापना गरी व्यक्तिगत रुपमा ५० हजार रिंगेट (करिव १३ लाख नेपाली रुपैयाँ) सहयोग गरेका थिए । तर, भट्टराईले सहयोग गरेको रकम खातामा जम्मा नभएपछि एनआरएनए मलेसियामा विवाद उत्पन्न भएको थियो ।

एनआरएनए मलेसियाको आधिकारिक खाता नभएकोले हाल सञ्चालनमा रहेको पेर्साटुअन केटुरुनन् नाम रहेको संस्थाको खातामा रकम जम्मा नगर्ने अध्यक्षलगायत समितिका केही पदाधिकारीको अडान थियो भने त्यसै खातामा जम्म गर्नुपर्ने अरु पदाधिकारीको माग थियो ।  रकम समयमा नै जम्मा हुन नसक्दा विवाद सतहमा आएको थियो । तर, शनिबार बसेको बैठकमा  अध्यक्ष भट्टराईले घोषणा गरेको रकम हाल  प्रयोग गरिएकै खातामा रकम जम्मा गरेपछि यो बिबाद टुंगिएको हो ।

‘कल्याणकारी कोषको लागि घोषणा गरेको रकम पचास हजार रिंगेट गैरआवासीय नेपाली संघ मलेसियाले प्रयोग गर्दै आएको खातामा जम्मा गरेको छु । यस विषयमा विवाद भएपनि खास ठुलो कुरो केही थिएन । बुझाईको मात्र फरक परेको हो,’ उनले भने ‘ कल्याणकारी कोषमा पैसा जम्मा भएको  छ । समस्यामा परेका नेपालीलाई सहयोग गर्न संघ तयार छ ।  यदि कोही नेपाली श्रमिकहरू समस्यामा परे सम्पर्क गर्नसक्नुहुनेछ ।’

उनले पदाधिकारीहरू सबैलाई एक जुट हुन र बैठकमा तथा ग्रुप च्याटमा भएका आन्तरिक कुराहरू बाहिर ल्याएर संघको बदनाम गराउने कार्य नगर्न भट्टराईले अनुरोध पनि गरेका छन् ।

बैठकले मलेसियामा संघको आफ्नै कार्यलय खोल्नेसमेत निर्णय गरेको छ ।  संघका अध्यक्ष हरि भट्टराईको अध्यक्षतामा बसेको बैठकमा एसिया प्यासिफिक डीआरसी खगेन्द्र न्यौपाने, आईसीसी टेक टमाटा र मानार्थ केन्द्रीय सदस्य शंकर पौड्यालको पनि उपस्थिति रहेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *