विदेश जाने नेपालीले अब भारतीय विमानस्थल प्रयोग गर्न नपाउने

डिसी नेपाल
५ फागुन २०७६ १२:०३

काठमाडौं । विदेश जाने नेपालीले अब भारतीय विमानस्थल प्रयोग गर्न नपाउने भएका छन् । नेपालबाट स्थलमार्ग हुँदै भारत गएर त्यहाँको विमानस्थलबाट तेस्रो मुलुक उड्ने नेपालीहरुले अब भारतीय विमानस्थलबाट उडान अनुमति नपाउने दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

भारतीय अध्यागमनले नेपालबाट स्थलमार्ग हुँदै भारतको विमानस्थलबाट विदेश जाने नेपालीलाई रोक लगाउने निर्णय गरेको दूतावासद्वारा जारी सूचनामा जनाइएको छ । दूतावासले नेपालको स्थलमार्ग भएर भारतीय विमानस्थलमार्फत् विदेश जाने नेपालीलाई विमानस्थलमै रोक लगाइने भएका कारण नेपालकै विमानस्थल प्रयोग गर्न सुझाव समेत दिएको छ ।

भारत हुँदै तेस्रो मुलुक जानका लागि अब अनिवार्य रुपमा पासपोर्टमा नेपालको अध्यागमन विभागले छाप लगाएको हुनुपर्नेछ । तर, स्थलमार्गबाट भारत गएका नेपालीलाई पासपोर्टमा छाप लगाउने व्यवस्था अध्यागमन विभागले नगरेको भन्दै दूतावासले नेपाली विमानस्थलमार्फत नै गन्तव्य मुलुकमा जान सुझाव दिएको छ ।

नेपालको अध्यागमन विभागको छाप भएको राहदानी नभइ भारतीय विमानस्थल प्रयोग गरी तेस्रो मुलुक जान नपाउने व्यवस्था रहेको भन्दै समस्याबाट बच्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै प्रयोग गर्न दूतावासले अनुरोध गरेको छ ।

१ वर्ष अघिसम्म नेपालीलाई भारतीय विमानस्थल प्रयोग गर्न कुनै रोकटोक थिएन । गन्तव्य मुलुकको भिसा प्राप्त गरेको जुनसुकै नेपालीले सहजै भारतीय विमानस्थलको प्रयोग गर्न पाउँथे । तर, दलालहरुले भारतीय बाटो हुँदै अवैध रुपमा खाडी लगायतका मध्यपूर्वी देशहरुमा मानव तस्करी गर्ने प्रवृत्ति बढेपछि एक वर्षअघिदेखि भारत हुँदै रोजगारीका लागि मध्यपूर्वी ९ वटा मुलुक जाने नेपालीलाई दिल्लीस्थित नेपाली राजदूतावासको नो अब्जेक्सन लेटर (एनओसी) चाहिने नियम ल्याइएको थियो ।

नेपाली नागरिकले साउदी अरेबिया, कतार, कुवेत, युएई, इराक, लिबिया, लेबनान, ओमन र बहराइन जाँदा भारतीय अध्यागमनमा दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको एनओसी बुझाउनु पर्दथ्यो ।

भारतीय अध्यागमन पार गर्दै तेस्रो मुलुक जाने नेपालीहरूले राजदूतावासबाट एनओसी बनाउनका लागि तेस्रो मुलुक जानुपर्ने कारणसहित निवेदन दिनु पर्दथ्यो । एनओसीको लागि यात्रा गर्ने व्यक्तिको राहदानी र सोको प्रतिलिपि, यात्रा गर्ने देशको भिसा, हवाई टिकटको प्रतिलिपि र रोजगार भिसामा विदेश जाने व्यक्तिले वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्विकृतिको प्रतिलिपि पनि दूतावासमा बुझाउनु पर्दथ्यो ।

यसरी एनओसी प्राप्त गरेपछि नेपालीले भारतका जुनसुकै विमानस्थल प्रयोग गर्न पाउँथे । तर, अहिले ल्याइएको नयाँ नियमअनुसार भारतीय अध्यागमन पार गर्नलाई अनिवार्य रुपमा काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन विभागको छाप चाहिने भएको छ ।

नेपालीले भारतीय विमानस्थल प्रयोग गर्नुको प्रमुख कारण सस्तो हवाइ शुल्क हो । नेपालका विमानस्थल भन्दा भारतीय विमानस्थल प्रयोग गर्दा नेपालीलाई धेरै सस्तो पर्दछ । कतिपय नेपाली विदेशबाट आवतजावत गर्दा भारतीय विमानस्थल नै प्रयोग गर्छन् । भारतसम्म जहाजको प्रयोग गरेर त्यहाँबाट नेपाल आउनजान स्थलमार्गको प्रयोग गर्छन् । अब यिनीहरुलाई यसको असर पर्नेछ । त्यसका अलावा दलालहरुले नेपालीलाई विदेश पठाउन पनि भारतीय विमानस्थलको प्रयोग गर्छन् ।

उनीहरुलाई अवैध रुपमा विदेश पठाउन नेपालको विमानस्थलमा सेटिङ गर्न भन्दा भारतको विमानस्थलमा सेटिङ मिलाउन सहज हुन्छ । त्यसैले दलालहरुले भारतीय विमानस्थल प्रयोग गर्न रुचाउँछन् । नयाँ नियमले दलालहरुले गर्ने मानव तस्करी रोकथामको लागि फाइदा पुग्ने देखिए पनि सस्तोको लागि भारतीय विमानस्थल प्रयोग गर्न चाहने नेपालीहरु भने प्रभावित हुनेछन् ।

यसबाहेक अहिले भारतमै कार्यरत रहेका र त्यहीँबाट तेस्रो मुलुक जान चाहने नेपाली भारतबाटै उड्न पाउने छैनन् । भारतबाट घुम्नका लागि तेस्रो मुलुक जान पनि पाइने छैन । जान चाहने नेपाली भारतबाट नेपाल आइ नेपालको विमानस्थलबाट उड्नुपर्नेछ ।

 




प्रतिक्रिया

One thought on “विदेश जाने नेपालीले अब भारतीय विमानस्थल प्रयोग गर्न नपाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *